धनगढी- सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेयको सरुवा भएको छ। केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले डा पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवमा गर्ने निर्णय गरेको हो।
सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले मेसु डा पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। उनले भने –‘कर्मचारी सरुवासम्बन्धी निर्णय गर्न मन्त्रिपरिषदको बैठक बसेको हो। त्यसमा सेतीका मेसुलाई महाकालीमा सरुवा गर्ने निर्णय भएको हो।’
मेसु डा पाण्डेयको सरुवा भएपछि अस्पतालमा निमित्त मेसुका रुपमा डा शेरबहादुर कमरले सम्हालेका छन्।
सेतीमा मेसु कसलाई बनाउने भन्नेबारे सामाजिक विकास मन्त्रालयले निर्णय दिन सकेको छैन।
सामाजिक विकासमन्त्री झपटबहादुर साउदले मेसु डा पाण्डेयको सरुवा भएको र उनको ठाउँमा नयाँ मेसु नियूक्त गर्ने तयारी भइरहेको बताए। उनले भने –‘सेतीमा कार्यरत सात जना चिकित्सक छन्। सोही मध्येबाट ज्येष्ठताका आधारमा मेसु नियूक्त गरिने छ। अहिलेनै यो हुने वा नहुने भन्न सकिदैन।’ उनले अस्पतालको मेसु जुन डाक्टरलाई बनाएपनि सबैको सहमति रहने बताए।
यता, सरुवा भएका मेसु पाण्डेय पुनः सेतीमै बस्ने गरि आन्तरिक तयारी गरिरहेको बुझीएको छ। उनी भन्छन् –‘म विदामा छु। निमित्त मेसु शेरबहादुर कमरलाई दिइएकोले अस्पतालबारे केही जानकारी चाहे उहाँलाई सम्पर्क गर्नुहोस।’