काठमाडौं– धनगढीका उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्ति अचेत अवस्थामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।
धनगढी नगर प्रमुखसँग छलफल गर्न भनी घरबाट उपमहानगरपालिका पुगेका व्यक्ति गणेश रानालाई अचेत अवस्थामा अस्पताल भर्ना गरिएको हो।
रानालाई छलफलका लागि बोलाउन नगर प्रहरी सादा पोसाकमा घरमा गएका थिए। उपमहानगर पुग्दासम्म स्वस्थ रहेका उनी उपमहानगरकै नगर प्रहरीले अस्पताल भर्ना गराए।
रानाका बुबा रामलालले भने घरबाट निस्कँदा केही समस्या नरहेको तर उपमहानगरमा लगिएपछि केही मिसावटका वस्तु सेवन गराइएको आरोप लगाएका छन्। रानाले विष सेवन गरेको अस्पतालको भनाइ छ। उनको अहिले उपचार भइरहेको छ।
आइतबार राति ह्वाट्सएपमा कल गर्दै रानाले नगर प्रमुख हमाललाई खबरदारी गर्दै धम्क्याएका थिए। राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत् सुरक्षा व्यवस्था गर्न निवेदन दिएका थिए।
प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले दिएको निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताए। प्रहरी प्रवक्ता कुलदीप चन्दले धम्की दिने व्यक्तिलाई छलफलका आज बोलाइएको बताए। तर, नगर प्रहरीले छलफलका लागि बोलाएर मार्ने प्रयास गरेको रानाका बुबा रामलालको आरोप छ। प्रहरीले भने यो विषयमा अहिले छलफल अघि बढाएको छैन।