होली बालबालिकाका लागि सबैभन्दा रमाइलो चाडहरूमध्ये एक हो। यो दिन बिहानैदेखि साना–ठूला सबै रंगीन पिचकारी, अबिर, र पानीका फोहराहरू लिएर खेल्न निस्कन्छन्। होलीको रौनकले सबैको मन उत्साह र उमंगले भरिन्छ।
तर, कहिलेकाहीँ अभिभावकको सानो लापरवाहीले बालबालिकाको स्वास्थ्यमा समस्या आउन सक्छ। रासायनिक रंगहरू, अनुचित खेल्ने तरिका, र असावधानीका कारण यो खुसीको पर्व दुर्घटनामा परिणत हुनसक्छ। त्यसैले बालबालिकाका लागि होलीलाई सुरक्षित र रमाइलो बनाउन यी आवश्यक सावधानीहरू अपनाउनु जरूरी छ। बालबालिकाका लागि होली सुरक्षित बनाउन अपनाउनु पर्ने सावधानीहरूः
१) प्राकृतिक रंगको प्रयोग गर्नुहोस्
आजकाल बजारमा पाइने रासायनिक रंगहरूमा हानिकारक केमिकलहरू मिसाइएको हुन्छ, जसले बालबालिकाको कोमल छालामा एलर्जी, खुजली, वा जलन हुनसक्छ। यस्तो समस्या हुन नदिन प्राकृतिक रंगहरूको प्रयोग गर्नु उचित हुन्छ। घरमै फूल, हल्दी, पालुंगो, वा चुकन्दरको रसबाट बनाइएका प्राकृतिक रंगहरू छालाका लागि सुरक्षित हुन्छन्।
२) छाला र कपालमा तेल लगाउनुहोस्
बच्चाहरूलाई बाहिर होली खेल्न पठाउनु अघि छाला र कपालमा तेल लगाउनु महत्त्वपूर्ण हुन्छ। नरिवल वा सरसोंको तेल लगाइदिएमा रंगहरू छालामा टासिन पाउँदैनन् र नुहाउँदा सजिलै छुट्छन्। यसले रासायनिक रंगबाट हुने असरलाई कम गर्न मद्दत गर्छ।
३) बालबालिकालाई एक्लै नछोड्नुहोस्
बालबालिकालाई होली खेल्न दिँदा उनीहरूलाई एक्लै छोड्नु हुँदैन। अभिभावकहरूले उनीहरूलाई नजरमा राख्नुपर्छ, किनकि केही बच्चाहरूले अनावश्यक रूपमा पानीमा फोहरा हान्ने, जबरजस्ती रंग दल्ने, वा आँखामा रंग हाल्ने जस्ता हानिकारक क्रियाकलाप गर्नसक्छन्। बच्चाहरूको सुरक्षाका लागि उनीहरूसँगै अभिभावक वा कुनै जिम्मेवार व्यक्ति हुनु आवश्यक छ।
४) लामो बाहुला भएको कपडा लगाइदिनुहोस्
बालबालिकाको छाला जोगाउनका लागि होली खेल्ने बेला उनीहरूलाई लामो बाहुला भएको कपडा लगाइदिनुपर्छ। कटनको फुल–स्लीभ टी–शर्ट वा कुर्ता तथा प्यान्ट लगाउँदा शरीरमा रंगहरू कम लाग्छन्, जसले गर्दा छाला सुरक्षित रहन्छ।
५) आँखाको सुरक्षा गर्नुहोस्
रंग खेल्ने क्रममा आँखामा रंग जान सक्ने सम्भावना रहन्छ। त्यसैले बच्चाहरूलाई रंगहरूबाट सुरक्षित राख्न सनग्लास वा फंकी गगल्स लगाइदिनुपर्छ। यदि आँखामा रंग पसिहाल्यो भने तुरुन्तै सफा पानीले राम्ररी धोइदिनुपर्छ।
निष्कर्ष
होली रमाइलो पर्व हो, तर यो रमाइलो सुरक्षित तरिकाले मनाउनु सबैभन्दा महत्त्वपूर्ण छ। बालबालिकाका लागि प्राकृतिक रंग प्रयोग गर्ने, छाला र कपालमा तेल लगाउने, सुरक्षाका लागि उचित कपडा लगाउने, आँखाको सुरक्षा गर्ने, र बच्चाहरूलाई एक्लै नछोड्ने जस्ता सावधानीहरू अपनाएमा यो पर्व झनै रमाइलो र सुरक्षित हुनेछ। सबैजनाले खुसीपूर्वक होली खेल्न सकून्, सुरक्षित रहून्, र स्वस्थ रहून् ! रंगहरूको यस पर्वलाई सचेत भएर मनाऔं, होलीको शुभकामना !
(डा अरुण कुमार सिंह, बालरोग विशेषज्ञ, एसोसिएट प्रोफेसर, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, (बालबालिकाको डाक्टर साथी पुस्तकका लेखक हुन्)।)