बालबालिकासँग यात्रा गर्नु सधैं रमाइलो र उत्साहपूर्ण हुन्छ। तर यससँगै अलिकति अतिरिक्त सावधानी पनि उत्तिकै आवश्यक हुन्छ। अचानक मौसम परिवर्तन, बाहिरको खाना, थकान वा लामो यात्राले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। यस्तो अवस्थामा यदि अचानक ज्वरो, वान्ता, पखाला वा एलर्जी देखा पर्यो र नजिकै डाक्टर वा मेडिकल स्टोर उपलब्ध भएन भने समस्या झन् बढ्न सक्छ। त्यसैले यात्रा अघि निस्कँदा केही आवश्यक औषधि साथमा राख्नु अत्यन्तै जरुरी हुन्छ। यति तयारीका साथ यात्रा गर्दा आपतकालीन अवस्थालाई सजिलै सामना गर्न सकिन्छ।
अब जानौं—बालबालिकासँग यात्रा गर्दा कुन–कुन औषधि अनिवार्य रूपमा साथमा राख्नुपर्छ।
ज्वरो र दुखाइको औषधि
यात्राको क्रममा बालबालिकालाई ज्वरो आउनु वा शरीर दुख्नु सामान्य कुरा हो। यस्तो अवस्थामा प्यारासिटामोल सिरप वा ट्याब्लेट साथमा हुनु आवश्यक छ। यो औषधि ज्वरो र हल्का दुखाइमा उपयोगी मानिन्छ।
वान्ताबाट जोगिन तयारी
यात्राको क्रममा मोसन सिकनेस, बाहिरको खाना वा अत्यधिक थकानका कारण बालबालिकामा वान्ता हुन सक्छ। यस्तो अवस्थामा डोम्पेरिडोन (Domperidone) वा ओन्डान्सेट्रोन (Ondansetron) जस्ता औषधि धेरै उपयोगी हुन्छन्। यी औषधिले वान्ता नियन्त्रण गर्न मद्दत गर्छन् र बालबालिकालाई आराम दिन्छन्।
पखालाको लागि आवश्यक औषधि
यात्राका बेला ORS र जिंक सिरप अनिवार्य रूपमा साथमा राख्नुपर्छ। ORS ले शरीरमा पानी र नुनको कमी पूरा गर्छ भने जिंकले पखालाको अवधि कम गर्न सहयोग पुर्याउँछ। यदि बालबालिकालाई पखाला लागेमा थोरै–थोरै गरी ORS खुवाइरहनुपर्छ, जसले कमजोरी हुन दिँदैन।
रुघा, खोकी र एलर्जीका औषधि
मौसम परिवर्तन वा धुलो–धुँवाका कारण बालबालिकालाई रुघा, खोकी वा एलर्जी हुन सक्छ। यस्तो अवस्थामा सेटिरिजिन (Cetrizine) वा लेभोसेटिरिजिन (Levocetirizine) जस्ता एन्टिहिस्टामिन औषधि साथमा राख्नु उपयुक्त हुन्छ। यी औषधिले हाछ्युँ आउनु, नाकबाट पानी बग्नु र एलर्जीका लक्षण कम गर्छन्।
नाक, आँखा र कानको हेरचाह
यात्राको क्रममा नाक बन्द हुनु, आँखामा जलन हुनु वा कानमा हल्का समस्या देखिन सक्छ। त्यसैले नेजल ड्रप, आइ ड्रप र इयर ड्रप साथमा राख्नुपर्छ। यी साना तर उपयोगी सामग्रीले बच्चालाई तुरुन्तै राहत दिन सक्छन्।
अन्य आवश्यक मेडिकल सामग्री
औषधिसँगै थर्मोमिटर र ब्यान्डेज पनि यात्रा ब्यागमा राख्नुपर्छ। थर्मोमिटरले समयमै ज्वरो जाँच्न मद्दत गर्छ भने ब्यान्डेज साना चोटपटकमा तुरुन्त काम लाग्छ। यति सानो तयारीले यात्रा धेरै सहज र सुरक्षित बनाउँछ।