काठमाडौं- नेपालको क्यान्सर उपचारको क्षेत्रमा एक ऐतिहासिक फड्को मार्दै भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले विश्वव्यापी रूपमा प्रभावकारी मानिएको अत्याधुनिक 'कार टी सेल' (केमिरिक एन्टिजिन रिसेप्टर-टी सेल) थेरापी सेवा प्रारम्भ गरेको छ। सेन्टरले शनिबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरी केही दिनमै रक्तजन्य क्यान्सर (ल्युकेमिया र लिम्फोमा) बिरामीमा यो थेरापी प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।
यो प्रविधि भित्रिएसँगै नेपाल कार टी सेल उत्पादन गर्ने संसारका सातवटा मुलुकहरू र यो सेवा उपलब्ध गराउने करिब ३५ वटा देशहरूको सूचीमा पर्न सफल भएको छ ।
सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार 'सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सीआरएम) नेपाल' नामक कम्पनीले नेपालमै उत्पादन गरेको कार टी सेललाई बिरामीमा प्रत्यारोपण गर्न लागिएको हो। यो विशेष र जटिल प्रविधि भएको हुनाले यसको शुभारम्भ र विकासका लागि भारत तथा जर्मनीका प्राविधिक टोलीहरूसँग सहकार्य गरिएको छ।
नेपालमै यो सेवा सुरु भएपछि क्यान्सर उपचारका लागि विदेश धाउनुपर्ने नेपाली बिरामीहरूको बाध्यता हट्ने र ठूलो राहत मिल्ने विश्वास लिइएको उनले जानकारी दिए।
'कार-टी सेल थेरापी सुरु गर्ने काठमाडौं क्यान्सर सेन्टर नेपालकै पहिलो संस्था हो,' उनले भने, 'हामीले क्यान्सर उत्पादनमा नेपालमै यो सहित अन्य थुप्रै नयाँ र आधुनिक उपचार पद्धति भित्र्याएका छौं।'
नेपालमा यस उपचारका लागि बिरामीले ४५ लाख रुपैयाँ तिर्नुपर्ने सेन्टरले जनाएको छ, जुन छिमेकी मुलुक भारतको तुलनामा निकै कम हो। भारतमा यो सेवाका लागि ५० लाख भारतीय रुपैयाँदेखि एक करोड भारतीय रुपैयाँसम्म खर्च लाग्ने बताइएको छ।
'हामीले विगत २ वर्षदेखि कार-टी सेल थेरापी सेवा सुरु गर्नका लागि आवश्यक तयारी अगाडि बढाएका थियौं,' डा झाले भने, 'अस्पतालमा यो सेवा सुरु गर्नका लागि आवश्यक पूर्वाधारदेखि प्रविधिको तयारी र जनशक्तिलाई तालिमदिने देखि आवश्यक सबै तयारी गरेका थियौं। सबै तयारी पूरा भएपछि हामी सेवा सुरु गर्न सक्षम भएका हौं।'
के हो कार टी सेल थेरापी र कसरी गरिन्छ उपचार?
काठमाडौँ क्यान्सर सेन्टरका प्रमुख डा. सिमित सापकोटाका अनुसार कार टी सेल थेरापी शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई प्रयोग गरेर क्यान्सरसँग लड्ने एक अत्याधुनिक इम्युनोथेरापी हो।
अझ सहज रुपमा भन्नुपर्दा बिरामीकै शरीरमा रहेको टी-सेललाई अत्याधुनिक प्रयोगशालामा थप परिमार्जन गरेर क्यान्सरको शिकार गर्ने विशेष रिसेप्टर (CAR) जोडिने भएकोले यसलाई कार टी-सेल भनिएको हो।
सामान्यतया शरीरमा हुने 'टी सेल' नामक श्वेत रक्तकोषहरूले रोगजन्य कोशिका पहिचान गरी नष्ट गर्छन्। तर, क्यान्सर लागेको अवस्थामा क्यान्सरका कोशिकाहरू यी टी सेलबाट लुक्न सफल हुन्छन्। यस थेरापी अन्तर्गत आवश्यक परीक्षणपछि उपयुक्त देखिएका बिरामीको शरीरबाट टी सेल निकालिन्छ। उक्त टी सेललाई सीआरएम नेपालको ल्याबमा लगेर 'किमेरिक एन्टिजेन रिसेप्टर' जीन राखी आनुवंशिक रूपमा परिवर्तन गरिन्छ। यसले गर्दा टी सेलमा क्यान्सरको सतहमा रहेको विशेष प्रोटिनलाई स्पष्ट रूपमा चिन्ने क्षमता विकसित हुन्छ।
प्रयोगशालामा यसरी परिवर्तित टी सेलहरूलाई लाखौँको सङ्ख्यामा बढाएर पुनः बिरामीको शरीरमा पठाइन्छ, जसले क्यान्सर कोशिकामाथि आक्रमण गरी तिनलाई नष्ट गर्छन्। टी सेल राखेपछि बिरामीलाई दुईदेखि तीन हप्तासम्म अस्पतालमै कडा निगरानीमा राखेर डिस्चार्ज गरिने केन्द्रका चिकित्सक डा सुवास पण्डितले जानकारी दिए।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञ चिकित्सकहरूको पहलमा काठमाडौं क्यान्सर सेन्टरको स्थापना भएको हो। अस्पतालले प्रत्येक जटिल क्यान्सर बिरामीको उपचार योजना रेडियसन अन्कोलोजी, मेडिकल अन्कोलोजिस्ट, सर्जिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट र प्याथोलोजिस्ट सम्मिलित 'ट्युमर बोर्ड' मार्फत तय गर्ने डा झाले जानकारी दिए।
सेन्टरले क्यान्सरको प्रारम्भिक पहिचानदेखि उपचार, पुनःस्थापना र प्यालिएटिभ केयरसम्मका सम्पूर्ण सेवाहरू एकै स्थानबाट प्रदान गर्दै आएको छ। यहाँ रेडियसन, केमोथेरापी, टार्गेटेड थेरापी, इम्युनोथेरापी सहित स्तन, स्त्रीरोग, हेड एण्ड नेक, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी, मोलिकुलर डायग्नोस्टिक्स र सीटी स्क्यान जस्ता आधुनिक सेवाहरू उपलब्ध छन्।
यसैगरी, सेन्टरले अबको ६ महिनापछि बोनम्यारो ट्रान्सप्लान्ट सेवा पनि सुरु गर्न लागेको छ। 'काठमाडौं क्यान्सर सेन्टरले नेपालमै अत्याधुनिक बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने प्रक्रिया अगाडि बढाएको छ,' डा सापकोटाले भने, 'यो सेवा सञ्चालनसँगै बोनम्यारो तथा रक्तसम्बन्धी जटिल रोगका बिरामीहरूले उपचारका लागि विदेश जानुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। यस सेवाले बिरामी तथा परिवारमा पर्ने आर्थिक तथा मानसिक भार कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।'
यस्तै सेन्टरमा अत्याधुनिक स्टेरियोट्याटिक लिनियर एक्सिलेरेटर (लिन्याक) प्रविधिको स्थापना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। यस प्रविधिबाट उच्च सटीकता, सुरक्षित तथा गुणस्तरीय रेडियोथेरापी सेवा उपलब्ध गराउन सकिनेछ। यसले बिरामीको उपचार परिणाम सुधार गर्न तथा उपचार समय व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको सेन्टरदा्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सेन्टरले क्यान्सर बिरामीको जीवन सहज र गुणस्तरीय बनाउन, प्रभावकारी दुखाइ व्यवस्थापन तथा सहायक उपचार सेवाको सुदृढीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सहकार्यमा दुखाइ तथा प्यालियटिभ केयर अनुसन्धान कार्यक्रम पनि सुरु गरेको जनाएको छ। यो कार्यक्रम बेलायतको किङ्स कलेज र जापानका विश्वविद्यालयहरुसँगको सहकार्यमा सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ।