काठमाडौं- भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रबाट काठमाडौं ल्याइएका ३ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक (इमर्जेन्सी) कक्षमा उपचार भइरहेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार विपद् प्रभावित नुवाकोट क्षेत्रमा प्राथमिक उपचारपछि थप र गहन उपचारका लागि उनीहरूलाई काठमाडौं ल्याइएको हो। आकस्मिक कक्षमा भर्ना गरिएका घाइतेहरूको स्थिति हेरी विशेषज्ञ चिकित्सकहरूको टोलीले आवश्यक शल्यक्रिया तथा थप उपचार प्रक्रिया अगाडि बढाएको छ।
ट्रमामा उपचारका लागि ल्याइएका तीन जना मध्ये दुई जनामा मध्यम चोट छ भने एक जना गम्भीर छन्। उपचारका लागि ल्याइएका तीनै जना नुवाकोटका हुन्। उनीहरुमध्ये एक जना २४ वर्षीय पुरुषको भित्रि पेटमा चोट लागेको छ। उनी अलि गम्भीर रहेका छन्। अर्का एक जना ४२ वर्षीय पुरुषको कम्मरमा र ४१ वर्षीय महिलाको हातमा चोट लागेको छ। उनीहरुमा मध्यम खालको चोट रहेको छ।
बाढीका कारण हुनसक्ने ठूलो मानवीय क्षति र घाइतेहरूको चापलाई ध्यानमा राख्दै राष्ट्रिय ट्रमा सेन्टरले पहिले नै विशेषज्ञ चिकित्सक, सघन उपचार कक्ष र शल्यक्रिया कक्षलाई ‘हाइ अलर्ट’ मा राखेको थियो। अस्पतालले प्रभावित क्षेत्रबाट आउने अन्य घाइतेहरूको उपचारका लागि समेत सम्पूर्ण व्यवस्था चुस्त र दुरुस्त राखिएको जनाएको छ।