नुवाकोट- बाढी प्रभावित क्षेत्र नजिक रहेको विदुरस्थित चक्रदेव हस्पिटलले बाढी तथा अन्य घटनामा घाइते भएका बिरामीको उपचारलाई २४ सै घण्टा निरन्तरता दिएको छ। अस्पतालबाट गम्भीर अवस्थामा रहेका ७ जना घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि रिफर गरिएको अस्पतालले जनाएको छ।
चक्रदेव हस्पिटलमा कार्यरत चिकित्सक डा. राकेश परियारका अनुसार गम्भीर अवस्थाका ७ जना बिरामीलाई हेलिकप्टरमार्फत अन्य अस्पतालमा पठाइएको हो। सामान्य प्रकृतिका बिरामीलाई आवश्यक उपचारपछि डिस्चार्ज गरिएको छ भने केही बिरामी अझै अस्पतालमै उपचाररत छन्।
बाढी प्रभावित क्षेत्र नजिकै रहेको अस्पतालले नेपाली सेना र नेपाल प्रहरीसँगको समन्वयमा उद्धार तथा उपचार सेवा सञ्चालन गरिरहेको डा. परियारले बताए। विपद्को अवस्थामा अस्पतालले आपत्कालीन सेवा चौबिसै घण्टा सञ्चालनमा राखेको उनको भनाइ छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले घाइते तथा बिरामीको उपचारका लागि अस्पतालले आवश्यक तयारीसहित सेवा निरन्तरता दिएको जनाएको छ। गम्भीर बिरामीलाई तत्काल थप उपचार आवश्यक परे हेलिकप्टरलगायतका माध्यमबाट अन्य स्वास्थ्य संस्थामा रिफर गर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।