काठमाडौं- रसुवामा आएको बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा, स्याफ्रुबेँसीमा कार्यरत स्वास्थ्यकर्मी खम्बु बोहरासहित एउटै परिवारका तीन जना सम्पर्कविहीन भएका छन्।
परिवारजनका अनुसार खम्बु बोहरा, उनकी श्रीमती कोपिला केसी र उनीहरूकी नाबालिग छोरी बाढीपछि सम्पर्कविहीन भएका हुन्। उनीहरू हाल रसुवामै बस्दै आएका थिए।
खम्बु बोहराको स्थायी घर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ मा रहेको छ भने उनकी श्रीमती कोपिला केसीको माइतीघर मुसिकोट नगरपालिका–१४, रुकुम पश्चिममा रहेको परिवारले जनाएको छ।
परिवारका अनुसार उनीहरूसँग हिजो बेलुकासम्म कुराकानी भएको थियो। तर आज बिहानदेखि तीनै जनासँग सम्पर्क हुन सकेको छैन।
रसुवामा बाढीका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको र सम्पर्क तथा आवागमनसमेत प्रभावित भएकाले उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको परिवारजनले बताएका छन्।
बेपत्ता परिवारको खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई तत्काल पहल गरिदिन परिवारजनले आग्रह गरेका छन्।
साथै, उनीहरूलाई सम्भावित स्थानमा खोजी गर्न तथा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकाय वा परिवारजनलाई खबर गरिदिन सबैमा अपिल गरिएको छ। उनीहरूको खोजीमा सहयोग पुगोस् भन्दै सूचना बढीभन्दा बढी शेयर गरिदिनसमेत परिवारले अनुरोध गरेको छ।