काठमाडौं- रसुवाको भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीबाट अति प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ।
सरकारले रसुवाका चार, नुवाकोटका चार, धादिङका चार, तनहुँका दुई र गोरखाको एक गरी १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको हो।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त घोषणा गरेको जनाएको छ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनेमा रसुवाका उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका छन्।
त्यस्तै, नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन्।
धादिङका गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका छन्।
यसैगरी तनहुँका देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका उक्त सूचीमा परेका छन्।
नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण ती जिल्लाका स्थानीय तहहरूमा ठूलो क्षति पुगेकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको राजपत्रमा उल्लेख छ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि ती क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी रूपमा सहज हुनेछ।
