काठमाडौं- भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको संख्या बढ्दै जाँदा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। अस्पतालको शवगृहमा शवको संख्या थपिँदै गएपछि क्षमता घटेर सीमित बनेको हो।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार शवगृहको कुल क्षमता १५० वटा शव राख्ने हो। तर, शनिबार अपराह्नसम्म १४० वटा शव राखिसकिएको छ। अब बढीमा १० वटा शव मात्रै राख्न सकिने अवस्था रहेको उनले बताए।
'हाम्रो शवगृहको क्षमता १५० हो, अब १० वटा शव मात्रै राख्न सकिन्छ,' डा. चौधरीले भने।
उनका अनुसार शिक्षण अस्पतालको शवगृहमा यसअघि नै पहिचान खुल्न नसकेका ८० वटा शव राखिएका थिए। पछिल्लो समय भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको शव पनि अस्पतालमा ल्याउन थालिएको छ।
शनिबार अपराह्नसम्म मात्रै भोटेकोशी बाढीमा ज्यान गुमाएका ६० जनाको शव शिक्षण अस्पतालमा ल्याइएको डा. चौधरीले जानकारी दिए।
पहिचान नखुलेका पुराना शव र बाढीमा मृत्यु भएकाहरूको शव गरी अहिले शिक्षण अस्पतालको शवगृहमा १४० वटा पुगेका हुन्।
बाढीमा ज्यान गुमाउनेहरूको संख्या थपिँदै गएकाले शव व्यवस्थापनका लागि तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था देखिएको छ।