काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा तथा स्वास्थ्य आपत्कालीन प्रतिकार्यलाई सघाउन दक्षिणपूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोष मार्फत १ लाख ५० हजार अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराएको छ।
हालैको यो विपद् नेपालले पछिल्ला वर्षहरूमा भोगेका सबैभन्दा दुःखद् घटनामध्ये एक हो।
“यस आपत्कालीन कोषले तत्काल आवश्यक प्रतिकार्यका प्राथमिकताहरूमा सहयोग पुर्याउनेछ। विश्व स्वास्थ्य संगठन नेपालमा आपत्कालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासमा निरन्तर सहयोग गर्न प्रतिबद्ध छ,” विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले भने।
विश्व स्वास्थ्य संगठनले भदौ १० गते बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रका लागि अत्यावश्यक आपत्कालीन स्वास्थ्य सामग्री पठाएको थियो। यसअन्तर्गत करिब १० हजार जनालाई तीन महिनासम्म आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने आपत्कालीन स्वास्थ्य सामग्री तथा टेन्ट उपलब्ध गराइएको थियो।
यसैगरी, थप आवश्यकताका आधारमा विश्व स्वास्थ्य संगठनले सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजर लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पनि प्रभावित क्षेत्रमा पठाएको छ।
हालसम्म प्राप्त विवरणअनुसार बाढीमा ७३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब २,५०० जना अझै बेपत्ता छन्। २०० भन्दा बढी घाइते भएका छन् भने ७४ जना उपचाररत छन्।
बागमती र गण्डकी प्रदेशका ६ जिल्लामा करिब १० हजार घरपरिवारलाई तत्काल राहतको आवश्यकता छ। बाढीका कारण ठूलो जनधनको क्षति, विस्थापन तथा स्वास्थ्य संस्थासहितका महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ।
सबैभन्दा बढी प्रभावित रसुवा जिल्लामा चारवटा स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने धादिङका दुई स्वास्थ्य संस्था आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। धादिङ अस्पताल र त्रिशूली अस्पताल जाने सडक अवरुद्ध भएकाले ती अस्पतालसम्म पुग्नसमेत कठिनाइ भइरहेको छ।
सडक सञ्जालमा आएको क्षतिका कारण विस्थापित तथा दुर्गम क्षेत्रमा रहेका प्रभावित समुदायसम्म स्वास्थ्य सेवा र राहत सामग्री पुर्याउन चुनौती थपिएको छ।
विश्व स्वास्थ्य संगठनले नेपाल सरकार र साझेदार संस्थाहरूसँग मिलेर स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउन, रोगको निगरानी सुदृढ गर्न, अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्न तथा सम्भावित स्वास्थ्य जोखिमहरूको समयमै पहिचान र सम्बोधन गर्न सहकार्य गरिरहेको छ।
बाढीपछिको अवस्थामा डुबान र डुबेर हुने मृत्यु, विभिन्न प्रकारका चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग र वाहकजन्य रोगको जोखिम बढ्नेलगायतका स्वास्थ्य जोखिम रहन्छन्।
यसका साथै आफन्त गुमाउनु, घरबार विनाश हुनु, जीविकोपार्जनमा असर पर्नु तथा विस्थापनको अवस्थाले प्रभावित समुदायको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थामा समेत गम्भीर असर पार्न सक्छ।
दक्षिणपूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोष विश्व स्वास्थ्य संगठनको एक प्रमुख क्षेत्रीय वित्तीय संयन्त्र हो, जसले दक्षिणपूर्वी एशिया क्षेत्रमा आपत्कालीन अवस्थाका समयमा तत्काल आर्थिक सहायता उपलब्ध गराई समयमै प्रतिकार्य गर्न तथा आपत्कालीन पूर्वतयारीलाई सुदृढ बनाउन सहयोग गर्दछ।
नेपालका लागि गरिएको यो कोष विनियोजन सन् २००८ मा कोष स्थापना भएयता स्वास्थ्यसम्बन्धी आपत्कालीन प्रतिकार्यका लागि यस कोषमार्फत गरिएको ५४औँ विनियोजन हो।