काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थाहरूले अब आफूले प्रदान गर्ने सम्पूर्ण स्वास्थ्य सेवामा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्ने भएको छ।
स्वास्थ्य बीमा बोर्डले २०८३ भदौ १७ गते सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्र पठाउँदै ईएमआर प्रणाली लागू गरी सोही प्रणालीमार्फत स्वास्थ्य बीमाको दाबी पेश गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अधिकांश सेवा प्रदायक संस्थाले हालसम्म म्यानुअल रूपमा दाबी पेश गर्दै आएका छन्। म्यानुअल माध्यमबाट दाबी प्राप्त हुँदा दाबी रुजु तथा मूल्याङ्कन प्रक्रियामा बढी समय लाग्ने र सेवा प्रदायक संस्थालाई दाबी भुक्तानी गर्नसमेत ढिलाइ हुने गरेको बोर्डले जनाएको छ।
दाबी भुक्तानीमा हुने ढिलाइले स्वास्थ्य सेवा प्रवाहमै कठिनाइ उत्पन्न हुने अवस्था रहेकाले स्वास्थ्य बीमा प्रणालीलाई समयसापेक्ष रूपान्तरण गर्दै दाबी व्यवस्थापन प्रक्रियालाई छिटो, पारदर्शी र डिजिटल बनाउन ईएमआर कार्यान्वयन गर्न लागिएको बोर्डले जनाएको छ।
बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई आफ्नो संस्थामा हाल सञ्चालनमा रहेको अस्पताल सफ्टवेयर, प्रयोग भइरहेका मोड्युल तथा आगामी दिनमा ईएमआर प्रणाली विस्तार र कार्यान्वयनका लागि तय गरिएको योजनासमेत उपलब्ध गराउन भनेको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेण्ट तथा प्रवक्ता डा. पवनकुमार साहद्वारा जारी पत्रमा ईएमआर प्रणालीमार्फत दाबी पेश गर्ने व्यवस्था मिलाउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ।