काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनाको जिवित उद्धार गरिएको छ। उद्धार गरिएका दुवैजनाको आपतकालीन स्वास्थ्य उपचार समेत थालिएको छ।
जीवित उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन्।
सञ्जय नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र कविर प्राधिकरणकै सुपरभाइजर हुन्।
भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको हो।
स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तत्काल उपचारका लागि आवश्यक सबै तयारी पहिले नै गरिएको थियो।
नेपाली सेनाको मेडिकल टोली उद्धार स्थलमै तयारी अवस्थामा रहेको छ । घाइतेहरूलाई तत्काल उपचार उपलब्ध गराउन र आवश्यक परेमा सुरक्षित स्थानमा सार्न सेनाको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण र आपतकालीन सेवा उपलब्ध गराउने तयारी गरेको हो । साथै, आवश्यक परेमा हेलिकोप्टरमार्फत द्रुत उद्धार तथा स्थानान्तरण गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यसैगरी, उद्धार स्थलदेखि अस्पतालसम्मको यात्राका लागि ग्राउन्ड एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिएको छ । नजिकैका र काठमाडौं उपत्यकासहितका विभिन्न अस्पतालहरूलाई समेत आपतकालीन अवस्थामा बिरामी भर्ना गर्न सक्ने गरी तयार रहन निर्देशन दिइएको छ ।
उद्धार गरिएका सञ्जय साहले सुरुङभित्र अरु पनि रहेको र उनीहरु सकुशल रहेको जानकारी दिएका छन्।