ललितपुर — जेनजी सहिद दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि पाटन अस्पतालले मंगलबार नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार (भदौ २३ गते) जेनजी सहिद दिवसका अवसरमा स्मृति सभा आयोजना गर्ने भए पनि अस्पतालका सम्पूर्ण सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको हो।
प्रतिष्ठानका रजिष्ट्रार डा. अरुण शाहीले जारी गरेको सूचनामा अस्पतालमा बुधबार पनि नियमित साप्ताहिक बिदा पर्ने भएकाले मंगलबार र बुधबार लगातार दुई दिन सेवा बन्द हुँदा बिरामी तथा सेवाग्राहीलाई असुविधा हुने भन्दै मंगलबार नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ।
अस्पतालजस्तो अत्यावश्यक तथा संवेदनशील क्षेत्रमा लगातार दुई दिन बिदा हुँदा स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भएकाले मंगलबार सेवा नियमित राखिएको प्रतिष्ठानले जनाएको छ।
यसैबीच, जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते बिहान ८ः१५ देखि ९ बजेसम्म प्रतिष्ठानको अडिटोरियम हलमा स्मृति सभा आयोजना गरिने भएको छ।