काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले भर्ना नलिएपछि एक महिलाले सडकमा बच्चा जन्माएको घटना संसदमा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा बोल्दै सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी महिलालाई पैसा अभावका कारण भर्ना नगरिएको बताएका हुन्।
उनका अनुसार ती महिलासँग २ हजार ५ सय रुपैयाँ मात्रै थियो। अस्पतालले भर्नाका लागि आवश्यक रकम नपुगेको भन्दै भर्ना नगरेपछि उनले सडक पेटीमै बच्चा जन्माउनुपरेको सांसद कर्णले बताए।
उनले यस्तो घटना सार्वजनिक स्वास्थ्य सेवा र अस्पतालको उपचार व्यवस्थामाथि गम्भीर प्रश्न उठाउने विषय भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।