काठमाडौं– नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
भारतको मुम्बइमा रहेको बहुराष्ट्रिय कम्पनी युएसभी फर्मास्युटिकल्सका प्रतिनिधि र चिकित्सक संघका प्रतिनिधिबीच सहयोगका विषयमा सम्झौता भएको छ। बिहीबार चिकित्सक संघको कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा बद्री रिजाल र युएसभीका चिफ बिजनेस अफिसर महिध्वज एस सिसोडियाबीच सम्झौता पत्र आदनप्रदान भएको छ।
बाढीबाट गम्भीर रूपमा प्रभावित तथा आर्थिक रूपमा विपन्न परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम संघको नेतृत्वमा सञ्चालित राहत अभियानलाई उपलब्ध गराइएको युएसभी फर्मास्युटिकल्सका चिफ बिजनेस अफिसर सिसोडियाले जानकारी दिए।
युएसभी फार्माको सहयोगबाट नेपालका विभिन्न बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १ हजार ५०० जना प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ।
हालै रसुवा, नुवाकोट र धादिङमा आएको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण धेरै परिवारले घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका छन्। कतिपय परिवार अस्थायी आश्रयमा बस्न बाध्य भएका छन् भने खानेपानी, सरसफाइ, विद्युत् तथा स्वास्थ्य सेवामा समेत कठिनाइ उत्पन्न भएको छ।
चिकित्सक संघको नेतृत्वमा सञ्चालन भइरहेको राहत अभियानले प्रभावित क्षेत्रको स्थलगत आवश्यकता पहिचान गरेर प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउनेछ। अभियानमार्फत प्रभावित परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्नुका साथै ओछ्यान, ब्ल्याङ्केटलगायत आधारभूत सामग्री उपलब्ध गराइने संघका अध्यक्ष डा बद्री रिजालले जानकारी दिए।
'प्रभावित क्षेत्रमा रहेका संघका प्रतिनिधिहरुले पहिचान गरेका आवश्यकता र स्थानीयले तत्काल सहयोग आवश्यक भनेका सामग्रीहरु हामीले उपलब्ध गराउने छौं,' उनले भने 'प्रभावित क्षेत्रमा ३०० सय अस्थायी आवास, ओछ्यान, ओढ्नेदेखि त्यसैगरी विद्युत् सुविधा प्रभावित भएका क्षेत्रमा सौर्य बत्ती तथा मोबाइल फोन चार्ज गर्न आवश्यक सुविधा उपलब्ध गराउने योजना छ। स्वच्छ खानेपानी तथा सरसफाइका सामग्री, अत्यावश्यक घरायसी सामग्री र औषधिलगायत स्वास्थ्य तथा दैनिक जीवनमा आवश्यक सामग्रीसमेत प्रभावित परिवारलाई उपलब्ध गराइने छ।'
युएसभी फर्मास्युटिकल्सले स्वास्थ्य क्षेत्रमा कार्यरत जिम्मेवार संस्थाका रूपमा मानिसको स्वास्थ्य र जीवनस्तर सुधारमा योगदान पुर्याउनु आफ्नो दायित्व भएको जनाएको छ। स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यसँगै प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा प्रभावित समुदायको साथमा उभिनु पनि आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको कम्पनीको भनाइ छ।
‘विपद्को घडीमा हाम्रो जिम्मेवारी स्वास्थ्य सेवा प्रवाहमा मात्र सीमित रहँदैन। प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरूलाई कठिन परिस्थितिबाट बाहिर निस्कन तथा पुनर्लाभ र पुनर्निर्माणतर्फ अघि बढ्न सहयोग पुर्याउनु पनि हाम्रो दायित्व हो,’ सिसोडियाले जनाएको छ।
उनले बाढीका कारण घर तथा आधारभूत आवश्यकता गुमाएका परिवारलाई राहत उपलब्ध गराउन चिकित्सक संघले सञ्चालन गरेको अभियान प्रभावकारी माध्यम हुने विश्वाससमेत युएसभी फार्माले लिएको बताए। चिकित्सक तथा स्वास्थ्यकर्मीको नेतृत्वमा सञ्चालन हुने अभियानले वास्तविक रूपमा प्रभावित परिवारको आवश्यकता पहिचान गरी सहयोग सही ठाउँमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीको विश्वास छ।
प्राकृतिक विपत्तिका समयमा प्रभावित समुदायलाई सहयोग गर्न सरकारी निकाय, निजी क्षेत्र, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा पनि युएसभी फार्माले जोड दिएको छ। विपद्को प्रभाव ठूलो हुने अवस्थामा कुनै एक संस्था वा निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै सामूहिक प्रयासबाट प्रभावित समुदायलाई थप प्रभावकारी सहयोग पुर्याउन सकिने कम्पनीले जनाएको छ।
युएसभी फार्माका अनुसार बाढीपीडितका लागि उपलब्ध गराइएको सहयोग कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण पहल हो। स्वास्थ्य तथा औषधि क्षेत्रमा आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै आएको कम्पनीले संकटका समयमा समुदायको आवश्यकताअनुसार सहयोग गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कम्पनीले उक्त सहयोगबाट तत्काल राहतको आवश्यकता रहेका परिवारको आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्ने तथा प्रभावित समुदायलाई सामान्य जनजीवनमा फर्किन र दीर्घकालीन पुनर्लाभ तथा पुनर्निर्माणको प्रक्रियामा अघि बढ्न केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरेको छ।
युएसभी फर्मास्युटिकल्सले बाढीबाट प्रभावित सबै परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै कठिन परिस्थितिमा उनीहरूको साथमा रहेको जनाएको छ। प्रभावित समुदायको पुनर्लाभ र पुनर्निर्माणका लागि सम्बन्धित निकाय तथा संस्थाहरूले गरिरहेको प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत कम्पनीले व्यक्त गरेको छ।
कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अन्जनीकुमार झा, डा मुक्तिराम श्रेष्ठ, डा लोचन कार्की, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति डा भुपेन्द्र बस्नेत, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा ढुण्डी पौडेल, संघका महासचिव डा विश्वराज दवाडी, कोषाध्यक्ष डा संयुक्त आचार्यसहित पदाधिकारीहरु र युएसभीका तर्फबाट सिसोडियासहित रोहित शर्मा लगायतको उपस्थिति रहेको थियो।