काठमाडौं– नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्यु बढ्दै गएपछि सरकारले जोखिमयुक्त क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ।
पहिलो चरणमा झापा जिल्लाका सबै स्थानीय तह तथा कैलालीका तीन स्थानीय तहमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति र स्वास्थ्यकर्मीलाई जेईविरुद्धको खोप दिइने स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ।
कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन हुनेछ। लक्षित समूहमा पर्ने व्यक्तिले तोकिएका खोप केन्द्र वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन सरकारले आग्रह गरेको छ।
३६ जिल्लाका ८४ स्थानीय तहमा संक्रमण
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म १२१ जनामा जेई संक्रमण पुष्टि भएको छ। संक्रमण देशका ३६ जिल्लाका ८४ स्थानीय तहमा देखिएको छ।
पुष्टि भएका संक्रमितमध्ये ८५ प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ। हालसम्म जेईका कारण २६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मृत्यु भएका सबै व्यक्तिले जेईविरुद्धको खोप नलगाएको पाइएको छ। जेईका कारण भएको मृत्युमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका व्यक्ति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लामखुट्टेको टोकाइबाट सर्छ
जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। धानखेत, पानी जम्ने स्थान तथा सुँगुर र हाँस पालिने क्षेत्रमा यसको जोखिम बढी हुन सक्छ।
जेई गम्भीर प्रकृतिको रोग हो। संक्रमण भएका केही व्यक्तिमा मस्तिष्कमा गम्भीर असर पर्न सक्छ। यसले मृत्यु हुनुका साथै दीर्घकालीन स्नायुसम्बन्धी समस्या निम्त्याउन सक्छ।
स्वास्थ्य मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने लक्षित समूहका व्यक्तिलाई अभियानअन्तर्गत खोप लगाई जेईबाट सुरक्षित रहन आग्रह गरेको छ।