फिचर

अन्तिम चरणको क्यान्सरसँग संघर्षरत डा विष्णुमाया भन्छिन्– लाइफ इज ब्युटिफुल

 विमर्श कँडेल

ससुरा कृष्णप्रसाद लामिछाने गतवर्षको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका थिए। अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरकी प्रबन्ध निर्देशक डा विष्णुमाया(बिएम) खरेल पनि उत्साहित थिइन्। २०७४ बैसाख २८, चुनाव प्रचारप्रसार गर्न नपाइने समय अर्थात् ‘शून्य समय’ को पहिलो दिन थियो त्यो। त्यही दिन नै उनले आफ्नो जीवन शुन्यतामा जानसक्ने अनुभूति गर्नुपर्‍यो। अर्थात् उनले आफूलाई क्यान्सर भएको छ भन्ने कुरा त्यही दिन थाहा पाइन्।

डा खरेलको त्यही अनुभूति सुन्न छिरेको थिएँ म उनको क्याबिनमा। उनीसँग सोधिने थुप्रै प्रश्न रिँगिरहेका थिए मथिंगलमा। क्याबिनमा छिरेपछि सुरुवात कहाँबाट गरौँ भन्ने दुविधाको भुमरीमा केहीबेर परें। त्यसपछि रेकर्डर अन गरेँ र नजिकैको टेबलमा राखेँ। 

आफ्नो मौनता तोड्दै २०३९ पछिको स्वयम्भू र उनको बाल्यकाल बुझ्ने सजिलो बाटो रोजेँ, जहाँ उनले जिन्दगीका सुरुवाती २८ वर्ष बिताएकी थिइन्। 

साना घर, वरपर देखिने खुल्ला मैदान, बाँदरहरुको चकचक, सधैं कानमा स्पर्श दिएर बहिरहने स्वच्छ हावा। स्वयम्भुका यस्तै–यस्तै कुराले उनलाई अझै पनि घच्घच्याइरहन्छन्।

अध्ययनमा अब्बल

२०५४ सालमा महामन्जुश्री स्कुलबाट डा खरेलले विशिष्ट श्रेणीमा एसएलसी पास गरिन्। त्यो समय सामुदायिक विद्यालयबाट ८० प्रतिशत अंक ल्याउनु सामान्य कुरा थिएन। माध्यमिक तह पूर्णरुपमा छात्रवृतिमा पढेकी उनले प्लस टु मा पनि छात्रवृत्ति पाइन्। २ दाजुकी बहिनी खरेलले परिवारमै पहिलोपटक विज्ञान पढ्ने निधो गरिन् र भर्ना भइन् पिनाकल एकेडमी पाटनमा। 

अथक मिहिनेत र परिवारको साथले उनले सहजै प्लस टु उतीर्ण गरिन् र पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, नयाँबजारमा ब्याचलर अफ डेन्टल सर्जरी(बिडिएस) पढ्न थालिन्। अन्ततः नामको अगाडि डाक्टर जोड्ने समय पनि आयो। त्यतिबेला परिवारमा छाएको खुसी सम्झिँदा अझै पनि भावुक हुन्छिन् उनी। ‘बुवाआमा पहिलेदेखि नै छोरी डाक्टर बनोस् भन्ने चाहनुहुन्थ्यो। उहाँहरुको चाहना मैले पुरा त गर्न सकेँ। तर, जुन दिन मेरो नामको अघि डाक्टर थपियो, त्यसअघि नै बुवा पक्षघात भएर ओछ्यानमा लडिरहनु भएको थियो’, आफू डाक्टर बनेर घर पुग्दाको क्षण स्मरण गर्दै डा खरेलले भनिन्, ‘यस्तो लाग्यो कि मसँग चक्कु त छ तर धार छैन। म डाक्टर त बनेँ तर म बुवाको उपचार गर्न सक्दिनथेँ।’

परिवारमा संकटको अवस्था आए पनि पढाइमा सानैदेखि अब्बल खरेल यत्तिकैमा रोकिन चाहिनन्। उनले सिक्किम मनिपाल विश्वविद्यालय, भारतले उपलब्ध गराएको अनलाइन कोर्सबाट ‘हस्पिटल म्यानेजम्यान्ट’मा स्नातकोत्तर गरिन्। डेनमार्कमा ३ महिना इन्टर्न गर्ने अवसर जुट्यो र अनुभवका लागि डेनमार्क पनि पुगिन्। उक्त यात्राबाट फर्केपछि उनले काठमाडौंका विभिन्न अस्पताल र क्लिनिकमा काम गर्न थालिन्। 

उनी लामो समयसम्म बोल्न सक्छिन् भन्ने बोध मलाई कुराकानीको पहिलो चरणमा नै भईसकेको थियो। उनी बोल्दै गइन्, हामी सुन्दै गयौँ।

त्याे समय स्वयम्भूमा काम तथा बसाइका हिसाबले पनि उनको चिनजान बढी थियो। काठमाडौँभित्रकै क्षेत्र भएपनि तत्कालिन अवस्थामा स्वयम्भूमा अस्पताल तथा मेडिकल हल त्यति थिएनन्। त्यसमाथि डेन्टल क्लिनिकहरुको संख्या त नगन्य नै थियो। धेरै जनाबाट याे ठाउँमा अस्पताल आवश्यक छ, तपाईंले खोल्नुस् भन्ने सल्लाह उनले पाइन्। जसको प्रतिफलस्वरुप खुल्यो ‘कल्याण डेन्टल क्लिनिक’। 

‘कल्याण डेन्टल क्लिनिक’ मा बिताएको करिब ३ वर्षको अवधिमा उनले सयौं बिरामीको उपचार गरिन् र निको पनि बनाइन्। तर उनको उपलब्धि त्यतिमात्र थिएन। त्यो बेला डा खरेलले यस्ता अनुभव हासिल गर्न पाइन्, जसले उनलाई बिरामीको फरक–फरक मनोदशा र ‘क्राइसिस म्यानेजमेन्ट’का विविध आयामनजिक पुग्न कुनै कक्षा लिनु परेन।

जिन्दगीकाे दाेस्राे अध्याय चितवनमा 

‘स्थान र परिवेश हाम्रो जीवनका छायाँजस्तै लाग्छन्। मेरा लागि स्वयम्भु पनि त्योभन्दा कम थिएन र छैन पनि। जहाँको माटोसँग मैले २८ वर्ष संगत गरेकी थिएँ। तर छाया सँधै कहाँ आफूसँगै रहिरहँदो रहेछ र?’, केही गम्भीरजस्तो देखिएकी डा खरेलले थपिन्, ‘२०६७ मा डा प्रमोदसँग विवाह बन्धनमा बाँधिएर चितवन आएपछि दैनिक रुपमा मैले स्वयम्भूका आँखासँग आँखा जुधाउने शृंखला रोकिएको छ।’

चितवन आएको समयमा पति एवम् वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रमोद लामिछानेको लगानीमा अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरको भौतिक निर्माण कार्य चलिरहेको थियो। अस्पताल सञ्चालनमा नआउन्जेल उनले माघदेखि असारसम्म चौबिसकोठीस्थित चितवन अस्पतालबाट सेवा दिइन्। 

अर्को वर्ष अस्पताल निर्माण पूरा भयो। सुरुमा अस्पताल निर्देशक हुँदै प्रबन्ध निर्देशकको भूमिका पनि आफ्नै काँधमा लिइन्। यसका अलावा बिरामीको उपचार त छँदै थियो। तर अस्पताल व्यवस्थापनमा व्यस्त हुनु परेकाले पनि आजकाल पहिलेजस्तो डेन्ट्रिस्ट्रीलाई भने समय दिन नसकेको स्विकार्छिन् उनी। ‘कम्तिमा आफ्नो क्षेत्रमा कत्तिको भिज्न सक्छु त्यो त यसै भन्न सक्दिन। तर करिअरको एक तहको सिँढी भने चढेको छु भन्ने लाग्छ।’, भविष्यका सोचका बारेमा सोध्दा डा खरेलले खुलाइन्, ‘यही अस्पताललाई बलियो र पूर्वाधारयुक्त बनाउँदै बिरामीलाई सहज स्वास्थ्य सेवा दिन तल्लीन हुनेछु।’

क्यान्सरकाे गर्वकथा

कुराकानीका क्रममा निकै उत्साहित देखिन्थिन् उनी। त्यसमाथि सरासर बोल्नसक्ने क्षमता भएकाले पनि कुराकानीका लागि अप्ठेरो परेन। म उनलाई क्यान्सर भएको बताउने अवस्थासम्म पुर्‍याउने उपायको खोजीमा थिए। तर उनको ढुक्कको व्यवहारले मलाई झन् सजिलो बनाइदियो। 

अनि सोधेँ– दुःखाईको त्यो पहिलो अनुभव सम्झिनुहुन्छ?

‘खासमा २०७३ को फागुनबाटै शरीरको तौल घट्ने, खाना अरुची हुनेलगायतका लक्षण देखिएका थिए। तर त्यसलाई त्यति गम्भीर रुपले नै लिइनँ’, डा खरेलले बताइन्। बैसाख २८, २०७४ मा छोराले खेल्दाखेल्दै दोडिँदै आएर हामफाल्दै काखमा बस्न खोज्दा पेटमा जोडसँग लाग्यो। त्यो रात दुःखाईले गर्दा उनी सुत्न नै सकिनन्। कारण त्यही नै होला भन्ने उनले अड्कल काटिन् र घरमै बसिन्। तर भोलिपल्टसम्म पनि दुःखाई निको भएन।

चुनावमा भोट हाल्न गाउँ जाने तयारीमा रहेका डा दम्पतीलाई खादाँखादैँको गासमा ढुंगा लागेजस्तो भयो। दुवैजना पहिले चेकअप गर्ने र ३० गते गाउँ जाने सल्लाहमा पुगे। अल्ट्रासाउन्ड गर्न भरतपुर सामुदायिक अस्पतालस्थित डा केशव पौडेलकोमा पुगे। ‘अल्ट्रासाउन्ड गर्दैगर्दा उहाँले असजिलो महसुस गर्नुभयो। एकाएक नर्भस हुनुभयो। तत्कालै भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ सुनीलमणि पोखरेलसँग भेट्न भन्नुभयो,’ खरेलले सुनाइन्, 'डा पोखरेलको सल्लाहमा रोगको निदानका लागि रगतको नमूना जाँचका लागि पठाउने काम भयो। कलेज अफ मेडिकल साइन्सेसमा गएर एमआरआई तथा अन्य परीक्षण पनि गरियो। आखिर ती सबको एउटै निचोड निस्कियो, ‘डिम्बासयको क्यान्सर।’

त्याे दिन, त्याे अनुभूति

‘एकैदिनमा यी सबै प्रक्रिया पूरा हुनु मेरा लागि महत्वपूर्ण उपलब्धि थियो, तर जे सुनियो यो उमेरमा कसैले यस्तो होला भनेर सोचेको भन्दा कोषौँकोष परको कुरा थियो,’ डा खरेल आडमै बसेकी आफ्नी एसिसटेन्टतर्फ एकपटक मोडिइन् र फेरि त्यो गर्‍हौं क्षण सुनाउन थालिन्, ‘एकदमै स्वस्थ मान्छेले अचानक यस्तो खबर सुन्दा ह्वाट इज नेक्स्ट? भन्ने भयो। डा प्रमोदले त सुरुमै हार खाइसक्नुभएको थियो। केहीसमय विचलित त म पनि भएँ तर उहाँको यस्तो अवस्था देखेपछि मैले डा प्रमोद, छोरा अनि परिवारको बारेमा सोच्नुपर्छ भन्ने लाग्यो र आफ्नो बारेमा सोच्न नै छोडिदिएँ। अझै यसो भनौ आफूले आफैंलाई कन्भिन्स गराएँ।'

त्यो समय डा प्रमोदले उनलाई तत्कालै थप उपचारका लागि भारत जाउँ नभनेका होइनन्। तर मुखमै आएको चुनाव। बुवा उम्मेदवार। त्यसमाथि चुनावमा १ भोटको पनि कति महत्व हुन्छ भन्ने उनलाई राम्रोसँग हेक्का थियो। त्यसकारण उनीहरु लमजुङको तार्कुघाट जाने निधो गरे। बैसाख ३१ मा बुवालाई भोट हालेर मतदान स्थलबाट सोझै उनीहरु एम्बुलेन्समा काठमाडौंका लागि हानिए। डिम्बासय क्यान्सरको ‘सर्भाइभल रेट’ राम्रो भएकाले आशावादी रहँदै उनीहरु भारत लागे। बिएल कपुर अस्पताल, नयाँदिल्लीमा करिब ४ दिनको जाँच र अनुसन्धानको प्रक्रियापछि राहतको सट्टा उनीहरुलाई थप सकस दिने नतिजा बाहिर आयो। क्यान्सर त पेटबाट डिम्बासयतर्फ सरेको पुष्टि भयो। त्यो पनि अन्तिम स्टेजमा।

‘शल्यक्रियाको बारेमा सोच बनाएर गएका हामीले भारतीय चिकित्सकबाट पाएको प्रेस्किप्सन पेपरमा लेखिएको थियो । लास्ट स्टेजमा छ, वेट एन्ड वाच।’ 

अाशाका बीचमा अर्काे पहिराे

डाक्टर भएकाले उनीहरु दुवैलाई यो भने थाहा थियो कि डाक्टरहरु थप उपचार गर्न किन प्रोत्साहन गरिरहेका छैनन्। किनकि पेटको क्यान्सरको विश्वभर नै कम मात्र अनुसन्धान भएको र हालसम्मको अध्ययनले यसको सर्भाइभल रेटमा पनि आशा गर्ने ठाउँ थिएन।

आशा यस्तो चिज हो जसले मानिसको सोच्ने, सम्झिने, हेर्ने र कसरी कार्य सम्पादन गर्ने भन्ने दृष्टिकोणलाई फराकिलो बनाउँछ। यसमा डाक्टर हुनुको नाताले उनीहरु झन् बढी सचेत थिए। उनीहरुले आशा मारेनन्। कहिलेकाँही रोग पहिचानमा गल्ती पनि हुनसक्छ भनेर नेपाल फर्केर पुन ३/४ पटक दोहोर्‍याएर परीक्षण गरे। तर गल्ती एक ठाउँमा, एक पटक हुनसक्थ्यो। डा दम्पतीकाे आशामा उज्यालोको किरण देखिएन।

‘हामीलाई यसको उपचार छैन भन्ने थाहा थियो तर डाक्टरहरुले भने कम्तिमा केमो त सुरु गर्नुस् भनेर सल्लाह दिनुभयो। सबैको सल्लाह त्यस्तै पाएपछि सायद त्यहाँ पनि आशाको केही झिल्को त होला भन्ने लाग्यो। र केमो चढाउन सुरु गर्‍यौँ,’ उनले भनिन्।

तर केमो चढाउनुअघि डा. दम्पतीले फेरि अर्को सपना गुमाउनु जरुरी थियो । सुरुवातमा डा पौडेलले युएसजी गर्दाखेरि नै उनको कोखमा करिब १०/११ हप्ताको अर्को जीवन बढिरहेको थियो। केमो चढाउने भएपछि गर्भपतन जरुरी थियो। डा खरेलले सुनाइन्, ‘त्यसबेला मलाई यस्तो लाग्यो कि म पहिरोमा ठिंग उभिएको रुख हुँ र ममाथि ढुंगा, माटो बर्सिरहेको छ।’

‘भारतबाट फर्किएपछिको अवस्था निकै अप्ठेरो स्थितिमा थियो। एकातर्फ गर्भपतन जरुरी थियो। अर्कोतर्फ फोक्सो र कलेजोमा पानी जमेको थियो। डाक्टर हुनुको नाताले यी सब कुरामा जानकार त थिएँ नै तर यसपटक आफैँले महशुस गर्नु पनि परिरहेको थियो। डाक्टर नै बिरामी बन्नु परेको यथार्थ जो अगाडि थियो,’ उनले आफ्नो तत्कालीन अवस्था सुनाइन्।

त्यसरी शरीरका कुनै पनि अंगमा पानी जम्ने अवस्थालाई मेडिकल भाषामा ‘असाइटिस’ भनिन्छ। डा खरेलको फोक्सोबाट करिब ३/४ सय मिलिलिटर पानी निकालियो। तर डाक्टरहरु अझै यो प्रक्रिया ५/७ पटक अगाडि बढाउनुपर्छ भनिरहेका थिए। संयोगवश कलेजो र फोक्सोमा जमेको पानी आँफै सुक्दै गएपछि उनले दोस्रोपटक यो प्रक्रियामा सामेल हुनु परेन।

जापान पुगेर खुल्याे क्यान्सरकाे पुरा भेद

२०७४ जेठबाट केमो चढाउन सुरु भयो। केमोका कारण शारीरिक रुपमा असहजता आएपनि रोगको हकमा केही सकारात्मक परिवर्तन देखा पर्न थाले। त्यसपछि डाक्टरहरुले शल्यक्रिया गर्न सुझाए र यसका लागि विश्वकै उत्कृष्ट मानिने जापान जाने सल्लाह दिए।

पेटको क्यान्सरको उपचार र यससम्बन्धि अध्ययनका लागि जापान निकै सुरक्षित र उत्कृष्ट गन्तव्य हो भन्नेमा डा दम्पती पनि जानकार थिए। 

भदौ महिनामा जापान पुगेर गरिएको उपचार र अनुसन्धानपछि डा खरेलकाे क्यान्सर ‘एडिनो कासिनो अफ स्टोमक पोलिडिफरेन्सियट’ भन्ने पत्ता लाग्यो। ‘वेल डिफरेन्ससियट’को हकमा सुधार आउनसक्ने सम्भावना रहन्छ। तर उनको क्यान्सरको प्रकृति ठीक उल्टो थियो। हिरोसिमा युनिभर्सिटी हस्पिटलका चिकित्सकले पेटको क्यान्सरको अध्ययन र ‘प्रोगेस रेट’ दुवै निकै कम भएको बताए। उनीहरुले पहिलो चरणमै निदान भएको हकमा करिब १ देखि डेढ वर्षसम्म मात्र बाँचेको इतिहास सुनाए। तर त्यो समयमा डा खेरलेको क्यान्सर अन्तिम स्टेजमा रहेको र त्यो पत्ता लागेको पनि ४ महिना पूरा हुन लागिसकेको थियो।

शल्यक्रियाबाट केही राहत मिल्छ कि भनेर चिकित्सकहरुलाई आफ्नो जिज्ञासा नराखेका होइनन् डा दम्पतीले। तर शल्यक्रिया गर्दा महत्वपूर्ण अंगहरु फाल्नुपर्ने भएकोले शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली(इम्युन सिस्टम) मा नै असर पर्ने र झन् समस्या थपिनसक्ने भन्दै जापानी चिकित्सकहरुले शल्यक्रियामा जोड दिएनन्। केमोले सुधार आइरहेको निष्कर्ष निकाल्दै उनीहरुले पनि उही सुझाव दिए, ‘वेट एन्ड वाच’।

केमाेकाे कष्टपछिकाे दैनिकी

भरतपुर सेन्ट्रल हस्पिटलमा डा गुरुमार्फत डा खरेलले हालसम्म ६ वटा केमोको साइकल पूरा गरिसकेकी छन्। एउटा साइकलमा ५ डोज हुन्छ र त्यसलाई २४ घण्टाको अन्तरमा दिनुपर्छ। त्यस हिसाबले एउटा साइकल पूरा हुन ६ दिन लाग्छ। २१ दिनको फरकमा अर्को साइकल सुरु गर्नुपर्नेहुन्छ।

केमोका कारण हाल उनको डिम्बाशयको क्यान्सरमा ७५ प्रतिशत सुधार आएको छ। चिकित्सक तथा रिपोर्टका अनुसार उनको पेट र डिम्बाशयको क्यान्सर तथा कलेजोको पनि अवस्था स्थिर छ। क्यान्सर अर्को अंगमा सर्ने अवस्था आएमा वा अहिलेको भन्दा स्थिति खराब हुने देखिएमा मात्रै केमोको थप डोज दिने चिकित्सकहरुको सल्लाहअनुसार नै उनी अगाडि बढिरहेकी छिन्। तर पटक–पटक ‘रिपिट टेस्ट’ भने गरिरहेकी छिन्।

‘अहिले म निकै नै आशावादी जीवन बाँचिरहेको छु। क्यान्सरका साइडइफेक्ट पनि अहिले देखिएका छैनन्। केमो चढाउँदा असरहरु जरुर देखिन्छन्, तर अहिले ममा कुनै रोग छ भन्ने अनुभूति नै हुँदैन।’ 

अहिलेसम्म आफूले चाहेको पूरा गर्दै लगेको बताउँदै उनले अब जीवनमा कुनै इच्छा आकांक्षा केही पनि बाँकी नरहेको बताइन्। ‘तर जब आफ्नो परिवार र छोरातर्फ हेर्छु बस् रुन मन लाग्छ,’ डा खरेलले भावुक हुँदै सुनाइन्।

पीडामा पर्खाल बनेर मजबुती दिएका पति

उनका यी अनुभूति सुन्दा जीवनको साँघुरो गल्लीबाट गुज्रदैँ गर्दा डा खरेलले कस्तो अवस्था भोगिन् भनेर सहजै अनुमान लगाउन सकिन्छ। तर भत्किँदै गइरहेको जीवनको पर्खाल जोगाउन कोही उनको साथमा थियो भने त्यो व्यक्ति उनी आफ्ना पति प्रमोद लामिछानेलाई मान्छिन्।

‘पहिले त उहाँ आँफै सम्हालिन सक्नुभएन। ७ वर्षको सहयात्रामा मैले पहिलोपटक उहाँको आँखामा आँशु देखेँ। जब ममा आत्मबल बढ्दै गयो, उहाँमा पनि बिस्तारै साहस पलाउँदै गयो । उहाँको निरन्तरको साथ, परिवारको माया तथा शुभचिन्तकको कामनाले नै आजसम्मको उपचार प्रक्रिया छिचोल्न सकेकी हुँ,’ उनी भन्छिन्।

डाक्टरकाे हातमा डाक्टरकै नाडी

अरु समय बिरामीहरुलाई रोगको अवस्था, त्यसको उपचार र हौसला दिन थप्न व्यस्त हुने चिकित्सक नै बिरामी भएको अवस्था थियो त्यो। आफ्नो नाडीको ‘पल्स’(धड्कन/चाल) अरु नै डाक्टरले जाँच गरिरहेको बेलाको मानसिक तथा शारीरिक अवस्थाका बारेमा चिकित्सकीय अनुभव सुनाउन उनलाई आग्रह गरेँ। 

यस जिज्ञासाको उनले आफ्नो अनुभवसहित यस्तो जवाफ दिइन्, ‘मैले डाक्टरी पढेको र बिरामीलाई सम्झाउने गरेको अनुभवका कारण पनि मलाई थप बल मिलेको थियो । हामी बिरामीलाई भन्ने गर्छौँ, मात्र १ प्रतिशत मात्रै सुधारको संकेत छ भनेर उपचार सुरु गर्दा त्यो प्यासेन्टलाई राम्रो भयो भने त्यो उसका लागि शतप्रतिशत सफलता हुन आउँछ। तर हाम्रा लागि १०० मा १ जनामा मात्रै हात परेको सफलताको दर भने १ प्रतिशत मात्रै हो। ठीक उल्टो कुनै अवस्थामा १ सय जनामध्ये ९९ जनामा राम्रो हुने तर १ जनामा असफल हुँदा हाम्रा लागि त्यो सफलताको हिसाबले ९९ प्रतिशत होला तर त्यो १ जनाका लागि भने क्षतिका हिसाबले शतप्रतिशत नै हुन आउँछ। आज म आफूलाई त्यही १ प्रतिशतभित्र पाउँछु। त्यो १ प्रतिशत मेरा लागि शतप्रतिशत हो तर राम्रो नराम्रो जे पनि हुनसक्छ। मलाई राम्रोसँग थाहा छ कि पेटको क्यान्सरको कुनै उपचार छैन तर यो पनि थाहा छ कि ‘मिराकल क्यान ह्याप्पन्स!’

विभिन्न अनुसन्धानका अनुसार अहिले पेट क्यान्सरको सर्भाइभल रेट राम्रो छैन। डा खरेल भन्छिन्, ‘तर के थाहा यसको अध्ययन, अनुसन्धान र सकारात्मक निचोडका लागि म नै एक अंग र नमुना पो बन्छु कि?’

‘अब म तपाईंसँग मात्रै उपचार गर्छु’

डा खरेललाई क्यान्सर भएको थाहा पाएपछि उनीसँग उपचार गराउन आउने बिरामीहरु निराश बने। कतिपयले ‘अब म तपाईंसँग मात्रै उपचार गर्छु’ पनि भने। सन् २००७ देखि लगातार उपचार गराइरहेका केही बिरामीहरु अझै पनि डा खरेलकै सल्लाह लिन अलाइभ हस्पिटलसम्म आइपुग्छन्। तर बिरामीको ठाउँबाट उनलाई कसैले नराम्रो भनेको सुनेकी छैनन्। बरु उल्टै उनको क्याविनमा बिरामीको चाप बढेको छ। डा खरेल भन्छिन्, ‘पहिले त्यस्तो ख्याल नै गरिएको रहेनछ। तर यसपाली मैले धेरै जनाको विश्वास जितेको, माया कमाएको रहेछु भन्ने हेक्का भएको छ। जसले मलाई क्यान्सरसँग लड्न थप साहस मिलेको छ।’

तर उनले चाहेजस्तो धेरै बिरामी हेर्ने गरेकी छैनन्। लामो समयदेखि उपचार गराइरहेका र नयाँ बिरामीलाई निश्चित समय मात्रै उपलब्ध गराउँछिन्। कतिपयलाई त अन्य डाक्टरकहाँ पनि पठाउने गरेकी छिन्। आफूलाई थप संक्रमण नहोस् र आफ्नो उपचारमा ह्रास नआओस् भन्नका लागि धेरै बिरामी नहेरेको प्रस्ट्याइन्। 

उपचारमा ढिलासुस्ती भारत र जापानमा पनि

हामीले उनलाई नेपालको वर्तमान चिकित्सा पद्दतिबाट सन्तुष्ट हुनुहुन्छ भनेर सोध्यौँ। उनले जवाफमा भनिन्, ‘मेरो रोगको निदान फास्ट ट्र्याकमा भएको म मान्छु। सायद यसमा मेरो पेशा र चिनजानले पनि सघाउ पुगेको हुनसक्छ। तर समग्र ज्ञानका आधारमा नेपालका चिकित्सक अन्य देशको भन्दा कम छैनन्। रह्यो उपचार पद्दतिको कुरा यसमा डाक्टरभन्दा पनि बढी सरकार र अन्य स्वास्थ्यसम्बन्धी अंगहरु बढी जिम्मेवार हुनुपर्छ भन्ने लाग्छ।’

नेपालमा आफूलाई सजिलो भए पनि भारत र जापानमा उपचारका लागि पुग्दा अन्य बिरामीसरह नै हेरिएको र उपचारका लागि लामो समय लागेको उनले स्मरण गरिन्। उनले कतिपय उपचारका लागि गर्नुपर्ने जाँच र परीक्षणका लागि अनिवार्य रुपमा निश्चित समय लाग्ने भएकाले पनि केही ढिलो हुने तर्क गरिन्। ‘यो प्रवृत्ति नेपालमा मात्रै होइन, भारत र जापानमा पनि रहेछ। परीक्षणको अन्तिम निष्कर्ष आउन भारतको बिएल कपुर अस्पतालमा ४ दिन लागेको थियो। पहिलो परीक्षणपछि अर्को परीक्षण गराउन जापानमा पनि ४/५ दिनपछि नै पालो आएको थियो,’ डा खरेलले थपिन्, ‘अर्को कुरा सीमित समयमा धेरै बिरामीलाई हेर्नुपर्ने वातावरण हटेमा मात्र चिकित्सक र बिरामी दुवैले गुणस्तरीय सेवा दिन र लिन सक्छन्। यसका लागि सरकारले निश्चित मापदण्ड र पद्दति विकास गर्नु जरुरी छ।’

केमाे लिएकाे भाेलिपल्टै काममा!

बिडिएस पढ्दा ब्युटिफुल हेयर अवार्ड हात पारेकी डा खरेललाई कपाल नभएको अवस्थामा देख्दा धेरैजना छक्क पर्थे। केमो चढाएका बेला उनका आँखीभौँ, परेला, कपाल झरेकोदेखि शारीरिक र मानसिक अवस्थामा आएको उतारचढावले उनलाई हैरान बनाएको थियो। तर विक्षिप्त भने नभएको उनले बताइन्। कारण डाक्टर भएको नाताले उनी यस्ता परिवर्तनका वैज्ञानिक आधारसँग जानकार थिइन्। केमोका कारण शरीरमा भएका टिस्युहरु कमजोर हुने भएकाले तरकारीमा राखिएको मसलाको पिरोलाई पनि सहन नसक्ने अवस्था आउने उनले अनुभव सुनाइन्। ‘खाना खान मन लाग्दैनथ्यो। तर नमिठो लागेपनि दूध, जुसजस्ता तरल पदार्थहरु पिउँथें। घाँटीबाट निलेपछि त शरीरभित्र छिरिहाल्यो नि जस्तो लाग्थ्यो। तर यो समयमा आउनसक्ने उतारचढावका बारेमा धेरै बिरामीलाई जानकारी हुँदैन। कतिपय चटपट खाएर मुखभरि घाउ आएका बिरामीलाई पनि देखेको छु,’ उनले भनिन्।

उनले यो अवस्थामा अन्य बेलाको जस्तै सामान्य देखिन नक्कली कपाल, नक्कली आँखीभौँ तथा परेलालगाएर समेत हिँडेको बताइन्। डाक्टरहरुले आराम गर्नुपर्ने, अन्य मानिसको सम्पर्कमा रहन नहुने, अवस्था असहज देखिएमा अस्पतालमा भर्ना हुनुपर्ने सल्लाह दिँँदा पनि केमो लगाएको सातौँ दिनमा नै उनी काममा जान्थिन्। उनलाई लाग्थ्यो जति बढी व्यस्त भइयो उती नै आफ्नो पीडा भुल्न सहज हुन्थ्यो।

अन्य बिरामीलाई सुझाव

आफू क्यान्सरपीडित भए पनि चिकित्सकीयका ज्ञानका आधारमा उनी आफूजस्तै अन्य बिरामीलाई रोगसँग नडराउन सुझाउँछिन्। ‘हुने हार दैव नटार भन्ने त उखानै छ । रोगसँग डराउँदै जाने हो भने यसले झन् गाल्दै जान्छ। त्यसकारण योसँग म लड्नसक्छु भनेर मानसिकतालाई बलियो बनाउनु जरुरी छ’, उनको सुझाव थियो। पहिलेभन्दा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले आहारबिहारमा ध्यान दिनसमेत उनले आग्रह गरिन्।

पछिल्लो समय प्रेरणा दिने तथा समाजिक काममा समेत आफूलाई व्यस्त बनाउँदैं लगेकी छिन् उनले। उनले सुरु गरेका सामाजिक कार्यमा उनका पति प्रमोद लामिछाने पनि सिक्काको अर्को पाटोजस्तै सँगसँगै हुन्छन्। यस्तो अवस्थामा उनले बाँचेको समय, गरेको संघर्ष र लगातार सामाजिक कार्यमा देखाएको सक्रियताकै कारण उनी राष्ट्रिय तथा स्थानीय संघसंस्थाहरुबाट सम्मानितसमेत भएकी छिन्।

डाक्टरले हिँडेकाे क्यान्सरकाे बाटाे अब किताबमा पनि

सम्पर्कमा आएका धेरैले तपाईंका अनुभूति, संस्मरण तथा संघर्ष पाठक तथा अन्य बिरामीलाई पे्ररणाको स्रोत बन्नसक्छ भन्दै केही लेख्न सुझाएकाले उनले पुस्तक लेखनमा पनि आफूलाई व्यस्त बनाइरहेकी छिन्। विशेषगरी केमो चढाइरहँदा उत्पन्न भएका धेरै अनुभूति र खाली समयलाई पुस्तक लेखनमा खर्चिएको उनले बताइन्। 

गत चैत २१ गतेबाट लेख्न सुरु गरेको बताउँदै डा खरेलले यसमा आफ्ना विविध आरोह–अवरोह मिसिएका अनुभुतिले नै विशेष स्थान पाउने बताइन्। ‘करिब २/३ महिनामा लेखेर सक्छु भन्ने लागेको छ’, पुस्तकको नाम चाँहि के राख्ने सोच्नुभएको छ त भन्ने प्रश्नमा डा खरेलले मुस्कुराउँदै भनिन्, ‘सायद लाइफ इज ब्युटिफुल।’ 

‘बच्चादेखि नै ‘नेभर कम्स टुमरो’ भन्ने सोच भएको मान्छे हुँ। पढ्ने बेलामा पनि म कहिल्यै मर्दिन भनेर सिकियो भने धेरै राम्रो कुरा जानिन्छ भन्ने सोच लिएर पढ्थेँ। तर जिन्दगी जिउने कुरामा भने म भोलि नै मर्दैछु भन्ने सोच आउँथ्यो’, हँसिलो मुद्रामा जोशका साथ डा खरेलले भनिन्, ‘भोलि नै मर्दा, केही छिनमा मर्दा वा केही घण्टा/मिनेट मात्रै मेरो जीवन बाँकी छ भने पनि म पूर्णरुपमा आफूप्रति कन्भिन्स छु। मलाई मेरो जीवन र जीवनीसँग कदापि कुनै सिकायत रहनेछैन।’ 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Uttam Lamichhane लेख्नुहुन्छ साउन २१, २०७५ सोमवार २२:३५:५४
मेडिकल साईन्समा चिकित्सकहरुले भन्ने Miracle Can Happens भन्ने डा खरेलमा साबित होस ।
Uttam Lamichhane लेख्नुहुन्छ साउन २१, २०७५ सोमवार २२:३५:५२
मेडिकल साईन्समा चिकित्सकहरुले भन्ने Miracle Can Happens भन्ने डा खरेलमा साबित होस ।

यसमा तपाइको मत



पढ्नै पर्ने