दमास्कस– सिरियाली सहर अलेप्पोमा विद्रोहीद्वारा शनिबार भएको बिषाक्त ग्यास आक्रमणमा परी कम्तीमा १०० जना सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्यासहित स्थानीय अस्पतालमा भर्ना भएका यहाँको राज्य सञ्चालित सञ्चारमाध्यम तथा अनुगमन समूहले आइतबार बताएका छन्।
विद्रोहीले उक्त आक्रमणमा आफ्नो सम्लग्नता नरहेको भन्दै समाचारको खण्डन गरेको छ।
आक्रमणपछि श्वासप्रश्वासमा समस्या देखिएको बताउँदै अस्पतालमा उपचारका लागि भर्ना भएका व्यक्तिको सङ्ख्या १०७ पुगेको सिरियाली सरकारी समाचार संस्था, साना न्युज एजेन्सीले आइतबार जनाएको छ ।
सिरियाली मानव अधिकारवादी समूह ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले पनि विषाक्त ग्यास आक्रमणका कारण ९४ जना अस्पताल पुगेको जनाएको छ । उक्त समूहले विरामीमध्ये अधिकांश सामान्य उपचारपछि घर फिर्ता भएको र बाँकी ३१ जनाको श्वास्थ्य अवस्था सामान्य रहेको तर उनीहरू अस्पतालमा नै रहेर उपचार सेवा लिइरहेका बताएको छ।
साना न्युज एजेन्सीले उक्त आक्रमण विद्रोही समूहबाट भएको समाचार दिएको थियो । अस्पतालमा विरामीहरूलाई हेरिरहेका एक चिकित्सक जियाद हज ताहले आक्रमणमा क्लोरिन ग्यासको प्रयोग भएको हुनसक्ने देखिएको बताए। (राससएएफपी)