काठमाडौं- कोरोना भाइरस संक्रमण कहिले कहिले घटेजस्तो त कहिले बढेजस्तो भइरहने भएकाले थप सतर्क हुन जनस्वास्थ्यविदले सुझाव दिएका छन्।
संयुक्त राज्य अमेरिकामा कार्यरत जनस्वास्थ्यविद् डा दिनेश न्यौपानेले अहिले नै नेपालीले कोरोना पचाए वा सोचेजस्तो कोरोना होइन रहेछ भन्ने निष्कर्षमा पुग्नु आलोकाँचो हुने बताए।
स्वस्थ्यखबरसँग कुरा गर्दै अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्को रुपमा कार्यरत डा न्यौपानेले कोरोना संक्रमण कहिले घटेजस्तो त कहिले बढेजस्तो भइरहने बताए।
‘त्यसैले घटेकै भए पनि रोकथामका मापदण्डलाई निरन्तरता दिन सकिएन भने संक्रमितको संख्या जुनसुकै बेला पनि ह्वात्तै बढ्न सक्छ। उदाहरणको लागि लामो समय संक्रमणलाई नियन्त्रणमा लिन सकेका थाइल्यान्ड र जापानमा अहिले संक्रमण बढ्दो क्रममा छ,’ उनले भने, ‘बेलायतमा पनि केही समय संक्रमितको संख्या घट्दै जाँदा अब त नियन्त्रणमा आउँछ कि भन्ने धेरैलाई लागेको थियो। तर, त्यस्तो हुन सकेन।’
डा न्यौपानेले नेपालमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा पनि समस्या देखिएको टिप्पणी गरे।
उनका अनुसार स्वास्थ्य मन्त्रालयले जनवरी ४ मा जारी गरेको रिपोर्टमा ३४ वटा प्रयोगशालाले शून्य परीक्षण गरेको तथ्यांक प्रस्तुत गरिएको छ।
उनी भन्छन्, ‘कन्ट्याक्ट ट्रेसिङ हुनै सकेन भन्दा पनि हुन्छ। अधिकांश टेस्ट अहिले पनि काठमाडौं उपत्यकामा मात्र भएको छ। उनले संक्रमितहरु कता छन् भनेर खोज्दै जानुको सट्टा जो टेस्टको लागि इच्छुक छ, उसको मात्र टेस्ट हुनाले पनि संक्रमित पत्ता लगाउन नसकिएको पनि हुनसक्छ।’
तेस्रो मुलुकबाट नेपाल छिर्नेलाई मात्र पिसिआर रिपोर्ट अनिवार्य गरिएकोले नेपालमा आयातित संक्रमणको संख्या पनि घट्दो क्रममा नै रहेको हुनसक्ने उनले बताए।
नेपालमा पछिल्लो समय देखिएको राजनीतिक गतिविधिले कोरोना फैलाउन सहयोग पु¥याइरहेको उनको ठम्याइ छ।
‘यो विषम परिस्थितिमा सरकार र राजनीतिक पार्टीका शीर्ष नेतृत्वबाट नै जुलुस र सभाहरुको आह्वान हुनु अस्वाभाविक छ।’ चाडपर्व र उत्सवका कारण युरोप र अमेरिकामा पुनः कोरोना फैलिएको घटनाबाट नेपालले पाठ सिक्नुपर्ने उनको सुझाव छ । यदि समयमै ख्याल गरिएन भने कडा लकडाउनको सामना गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ उनले सचेत गराएका छन्।
जनस्वास्थ्यविद् डा न्यौपाने कोरोना महामारी नियन्त्रण र उपचारमा नेपालको प्रगति सन्तोषजनक नरहेको बताउँछन्। अहिले खोपको तयारी पनि त्यस्तै फितलो देखिएको उनको बुझाइ छ।
जतिसक्दो छिटो खोप नेपाल ल्याउन सरकारले दक्ष जनशक्ति लगाएर सबै माध्यमहरु प्रयोग गरेर घनिभूत रुपमा खोप उत्पादकहरुसँग निरन्तर सम्वाद, बुकिङ र खरिद प्रक्रिया अगाडि बढाउनु जरुरी रहेको उनले बताए।
‘यहाँ समस्या खोप आएन भन्ने मात्र होइन। खोपको भण्डारण र ढुवानी पनि नेपालको लागि चुनौतीपूर्ण छ,’ उनले समस्या औंल्याए।
सरकारको तयारी हेर्दा नेपालमा कहिलेसम्म खोप भित्रिन्छ भनेर यसै भन्न नसकिने उनी बताउँछन्। सरकारले कति मात्रामा खोप ल्याउँछ र खोप सेवा कसरी प्रदान गर्छ भन्ने नै निक्र्योल नभएको बताउँदै उनले जबसम्म एक जना पनि संक्रमित रहिरहन्छ तबसम्म हामी सबै कोरोनाको जोखिममा रहिरहंन्छौँ भन्ने तथ्य नबिर्सिन सुझाव दिए।
चिसो मौसम कोरोनाका लागि थप अनुकुल देखिएकाले यो मौसममा अझ बढी सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।