गर्भवती, शिशु/बालबालिकालगायत सवै उमेरका लागि आयोडिन अत्यन्त महत्वपूर्ण सूक्ष्म खनिज पदार्थ हो । कुपोषणलगायतका विभिन्न जटिल स्वास्थ्य समस्यालाई समाधान गर्न आयोडिनयुक्त खाद्यपदार्थ उपभोग गर्नु अति जरुरी छ । त्यसैले विश्वभरमा नेपालमा पनि सरकारले नागरिकको स्वास्थ्य सुरक्षा, शारीरिक तथा मानसिक बृद्धि-विकासका लागि आयोडिन उपभोगमा जोड दिन हरेक वर्ष फेब्रुअरी महिनाभरी आयोडिन प्रबर्द्धन गर्ने गरेको छ।
आयोडिनको परिचय : आयोडिन, पोटासियम आयोडाइडसँग मिसिएको सुक्ष्म खनिज मिश्रण हो । यसलाई ‘पोभिडोन’ पनि भनिन्छ । आयोडिन हानिकारक जीवको संक्रमण, चोटपटक, विकिरण, थाइराइडको अधिक सक्रिय अवस्था तथा क्याथेटरको संक्रमण रोकथाममा प्रयोग गरिन्छ ।
पृष्ठभूमि : सन् १८११ मा फ्रान्सेली बैज्ञानिक बर्नाड क्वारटाइजले एक किसिमको अत्यावश्यक पौष्टिक रासायनिक पदार्थ पत्ता लगाएका हुन्, जसलाई लुइस गे लुसेले ‘आयोडिन’को नामाकरण गरे । सन् १८२९ मा फ्रान्सेली प्रोफेसर जेसिए लुगोल्सले पोटासियम आयोडाइड र लुगोल मिश्रित पानी मिसाएर बनाएको आयोडिनलाई लुगोल्स आयोडिन भनी नामाकरण गरे । विश्वका कम विकसित मुलुकमा आवश्यक मात्रामा आयोडिनको उपभोग गर्न नसकि यसको कमीबाट विभिन्न स्वास्थ्य समस्याद्वारा पिडित हुने गरेका छन् भने विकसित मुलुकमा खानेकुरा तयारी गर्दा नष्ट हुनाले आयोडिनको पनि कमी पाइन्छ । विश्वका २ अर्बभन्दा बढी जनसंख्यामा आयोडिनको कमीबाट उत्पन्न शारीरिक, मानसिक समस्याबाट अशक्तता भएका छन् । आयोडिनको कमीबाट कुपोषित बालबालिका मध्ये दुई तिहाइ जति एशियाका छन्, जहाँ वर्सेनी ११ लाखभन्दा बढी शिशु जन्मदै कम तौल (२५००ं ग्राम भन्दाकम)का जन्मन्छन्। दक्षिण एशियाका झण्डै ९० हजार बाल–बालिकाहरुमध्ये ५० प्रतिशत जति आयोडिन लगायतका पोषकतत्वको कमीबाट कुपोषित भएका छन्।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण-२०२२ तथा स्वास्थ्य सेवा विभागको २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार नेपालका जन्मेदेखि २३ महिनाका २.७ प्रतिशत आवश्यक तौल नपुगेका, पाँच वर्ष मुनिका बालबालिकामध्ये उमेर अनुसार तौल नपुगेका २७ प्रतिशत र बामपुड्केको संख्या २५ प्रतिशत भन्दा बढी छ, आयोडिनको कमीबाट उत्पन्न कुपोषणका कारणले शारीरिक तथा मानसिक समस्यामा अनुत्पादक र दीर्घ असक्षम जीवन बिताउने गरेका छन् । त्यसकारण नेपाल सरकारले पनि २०५४/५५ देखि फेब्रुअरी महिनालाई आयोडिन प्रवद्र्धन महिनाको रुपमा मनाउन आव्हान गरेको हो । हालसम्म ९८ प्रतिशत घरपरिवारले आयोडिनयुक्त नुन प्रयोग गरेको तथ्यांक भए पनि बजारमा सही किसिमले भण्डारण र उपभोक्ताले सही किसिमले भण्डारण तथा प्रयोग गर्नेको संख्या एकदम कम छ।
आयोडिनको महत्व : आयोडिन नामक शुक्ष्म पोषक तत्व थाइराईड ग्रन्थीलाई सही किसिमले काम गर्न, खानालाई शक्तिमा रुपान्तरण गर्न र शारीरिक तथा मानसिक विकास, विकिरणको उपचार गर्न, ज्वलनशील छालाको हेरचाह गर्न, लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीर बाहिर निकाल्न, खुट्टाको छाला उप्किएर हुने घाउको उपचार र पाचन प्रणालीलाई प्रभावकारी बनाउनका लागि अत्यन्त आवश्यक खनिज पदार्थ हो । आयोडिनले हानिकारक सुक्ष्म जिवाणुलाई नष्ट गर्छ साथै यसले छाला, नङ्ग र कपाललाई स्वस्थ राख्दछ। दिनहुँ १५० माईक्रोग्राम (एउटा सियोको टुप्पो जति) उपभोग गरे पुग्ने र सवै उमेरकालाई चौतर्फी स्वास्थ्य विकासमा नभइ नहुने आयोडिनको पूर्ति भई थाइरोईड ग्रन्थीमा समस्या उत्पन्न हुन नपाई प्रत्यक्ष वा परोक्षरुपमा महिलामा स्तन क्यान्सरबाट बचाउँछ । गर्भावस्थामा आयोडिनको कमी भएमा भ्रुणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुन सक्ने, कमतौल (२५०० ग्राम भन्दाकम) भएका शिशु जन्मने, शिशुको शारीरिक तथा मानसिक बृद्धिविकास हुन नसक्नाले बालबालिकाहरु गलगाँड, लाटा, लठेब्रा तथा सुस्त मनस्थितिका साथै बालबालिका तथा युवाहरुको जीवननै अनुत्पादक बन्दछ।
आयोडिनका श्रोतहरु : आयोडिन सामुन्द्रिक खाद्यपदार्थ (सेलफिस, टुना फिस, कर्डफिस), अलगाइ, समुन्द्रको नजिक उम्रेका वनस्पति, तरकारीजन्य हरिया खाद्यपदार्थ, हरियाा गाढारङ्गका सागपात, फलफूल (स्ट्राबेरी), दूध तथा दुग्धपदार्थ, अण्डा, भटमास, लसुन र आयोडिनयुक्त नुनमा पाइन्छ।
आयोडिन कमी भएमा देखिने चिन्ह/लक्षण : थाइरोइड ग्रन्थीको असाधारण किसिमले वृद्धि/सुजन हुनु, बाँझोपन हुनु, दोधारमा पर्नु, कपाल झर्नु, आवाज धोद्रो हुनु, छालामा कत्ला तथा सुख्खापन आउनु, चिसो सहन नसक्नु, तौल बढ्नु, थकाई लाग्नु र गलगाँण देखिनु र क्यान्सर समेत हुनसक्छ।
रोकथाम/नियन्त्रण
१. आयोडिनयुक्त माटो भएको खेत, बारीमा फल्ने हरिया तरकारी, फलफूल तथा समुन्द्रमा पाइने माछा, वनस्पतिको सेवन गर्नसके आयोडिनको कमी हुन पाउँदैन।
२. खाने नुनमा आयोडिन मिसाई उपभोग गर्नु नै आयोडिनको कमी हुन नदिने सर्वोत्तम उपाय हो । त्यसैले सरकारद्वारा साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत बिक्री वितरण गर्ने आयोडिनयुक्त नुन सेवन गरेमा यथेष्ट आयोडिन प्राप्त भई सहजै रोकथाम र नियन्त्रण गर्न सकिन्छ।
आयोडिन उपभोगमा समस्या : भूपरिवेष्ठित देश भएकाले चाहेर पनि सामुन्द्रिक्र अलगाई तथा मत्स्यजन्य, खाद्यपदार्थ पाउन सकिन्न, शिक्षा र चेतनाकोस्तर साह्रै कम भएकोले सरकारी संयन्त्रबाट बिक्री वितरण भएको आयोडिनयुक्त नुनको सेवनमा कमजोरी देखिन्छ। अर्कोतिर माटोमा भएको आयोडिन पनि वर्षा मौसममा बाढी र पहिरोले बगाएर लान्छ, उच्च पहाडी क्षेत्रमा खेती योग्य जमीन र उत्पादित खाद्यपदार्थमा आयोडिन कम पाइन्छ भने त्यहाँका वासिन्दाले आयोडिनयुक्त नुनको महत्वबारे जानकारी पाउँन नसक्दा आयोयिडन सेवनमा कमी भइरहेको छ। सरकारले आयोडिनयुक्त नुनमात्र उपभोगका लागि जनचेतना जगाउन वर्षेनी फेब्रुअरीलाई आयोडिन प्रबर्द्धन महिनाको रुपमा मनाउने निर्णय गरेको १७ वर्षभन्दा बढी वितिसकेपनि चेतनाको कमीले अधिकांश नागरिकले आयोडिनयुक्त नुन उपभोग गर्न सकेको छैनन्।
त्यसकारण आयोडिन प्रबर्द्धनमा नागरिक समुदाय, शिक्षालय, विभिन्न मन्त्रालय/निकाय मार्फत संघदेखि स्थानीय स्तर (उपभोक्ता) सम्म आयोडिनयुक्त नुन सही किसिमले उपभोग गर्ने तरिकाबारे सूचना, शिक्षा तथा सञ्चार कार्यक्रम/सामग्रीसहित विभिन्न सचेतना कार्यक्रम मार्फत् आयोडिन प्रबर्द्धन गरिनु पर्दछ।
आयोडिन प्रबर्द्धन ः नेपालमा सरकारी संयन्त्र मार्फत नुनमा आवश्यक मात्रामा आयोडिन (आयोडाईजेशन) गरी बन्द गरिएको नुनलाई सही किसिमले खरीद, ढुवानी, भण्डारण र उपभोग गरेमामात्र आवश्यक मात्रामा आयोडिन प्राप्त गर्न सकिन्छ । नुनमा आवश्यक (५० पि.पि.एम.) आयोडिन मिलाइएको भएपनि वजारमा भण्डारण गर्दा घाम पानी, घरमा तातो ठाउँमा र भाँडोको विर्को राम्ररी बन्द गरी नराखेमा आयोडिन नष्ट हुन्छ, । सही तरिकाले उपभोग गरेमा कम्तीमा पनि १५ पि.पि.एमसम्म. आयोडिन पाउन सकिन्छ :
१. दुई बालबालिकाको लोगो भएको आयोडिनयुक्त नुन (आयोनुन, शक्ति, तेजनुन र भानु) मात्र उपभोग गर्न आम जनतालाई स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्छ।
२. बजारमा बिक्री वितरणकालागि राखिएको आयोडिनयुक्त नुन घाम, पानी र अधिक तामक्रमले सजिलै बिगार्ने हुँदा खुला ठाउँमा भण्डार नगर्न व्यापारीलाई चेतना दिनुपर्छ।
३. खरीद गरिएको आयोडिनयुक्त नुनलाई घरमा चुलो वरीपरी तातो ठाउँमा, खुला भाँडामा राख्नु हुन्न, बिर्को राम्ररी बन्द हुने बट्टामा राख्ने, नुन झिकेपछि तुरुन्तै बिर्को बन्द गर्नु पर्छ र ओसिएको नुन उपभोग गर्नु हुँदैन।
४. केही दिन यता आयोडिनयुक्त नुनमा सुक्ष्म प्लाष्टिक कण पाइएको समाचार आएकोले सरकारी संयन्त्रबाट प्रभावकारी अनुगमन गरी समस्या समाधान गरिनु पर्छ।
५. फेब्रुअरी महिनाको अलावा कम्तीमा ३/३ महिनामा अभियानका रुपमा आयोडिनयुक्त नुनको प्रवद्र्धन गर्नुपर्दछ।
६. वर्षामा बाढी, पहिरो र भूस्खलनबाट माटोमा पाइने आयोडिन वचाउन रुख विरुवा रोप्ने अभियान चलाउनु पर्छ।
७. स्थानीय सरकारको सक्रियतामा कृषि, शिक्षा, स्वास्थ्यसमेतलाई केन्द्रविन्दुमा राखेर विद्यालयस्तरदेखि नै आयोडिनयुक्त नुनको सेवनबारे विभिन्न शैक्षिक, सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ।