फाइल तस्विर
काठमाडौं - औषधि व्यवस्था विभागले फार्मेसी पसलको लाइसेन्स (इजाजतपत्र) निलम्बन गर्ने क्रम वर्षेनी बढीरहेको छ। निरीक्षणका आधारमा आवश्यक मापदण्ड तथा नियम पालना नगर्ने फार्मेसीहरुको निलम्बन गर्ने क्रम बढीरहेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गएको तीन वर्षमा विभागले ८०२ फार्मेसीको लाइसेन्स निलम्बनमा परेको बताए। आर्थिक वर्ष २०७९/८० मा ३ हजार ३३९ फार्मेसीको निरीक्षण हुँदा १८१ पसल निलम्बनमा परेको थियो।
यस्तै, २०८०/८१ मा ३ हजार ३०० पसलको निरीक्षण हुँदा ३०१ र २०८१/८२ मा २ हजार ७९१ निरीक्षण हुँदा ३२० पसलको लाइसेन्स निलम्बनमा परेको विभागको तथ्यांक छ।
‘धेरै फार्मेसीहरु निलम्बनमा पर्छन्। किनभने फार्मेसीमा व्यवसायी नबसिदिने। एउटै व्यवसायीले पनि धेरै फार्मेसीहरु लिने, टेण्डर गर्ने र व्यवसायीहरु त्यहाँ नबस्ने ठूलो समस्या छ।’ उनले भने, ‘धेरै फार्मासिस्टहरु फार्मेसीमा नबस्ने, औषधिको तापक्रम नमिलाएर राख्ने जस्ता कामले वार्षिक करिब ३ सय फार्मेसी पसलहरु निलम्बनमा पर्छन्।’