हालको शहरीकरण र औद्योगीकरणले गर्दा स्वास्थ्य क्षेत्रमा हरित अवधारणाको आवश्यकता झन् बढ्दै गएको छ। अस्पतालहरूमा ठूला भवन संरचना, उच्च ऊर्जा खपत, तथा जैविक फोहोरको उत्पादन हुने भएकाले वातावरणमैत्री उपायहरू अवलम्बन गर्नु जरुरी छ। हरित अस्पताल भनेको दिगो स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल हो, जसले ऊर्जा, पानी, निर्माण सामाग्री र फोहोर व्यवस्थापनमा वातावरणमैत्री प्रविधि अपनाउँछ।
हरित अस्पतालको परिभाषा र उद्देश्य हरित अस्पताल भनेको ऊर्जा दक्ष, पानी बचत गर्ने, न्यून कार्बन उत्सर्जन गर्ने, तथा बिरामीहरू र स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुधार गर्ने प्रकारको अस्पताल हो। यसको प्रमुख उद्देश्य निम्नानुसार छन्:
• प्राकृतिक स्रोतहरूको बचत गर्दै अस्पताल सञ्चालन गर्ने।
• वातावरणमैत्री भवन र प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवा सुधार गर्ने।
• नवीकरणीय ऊर्जाको प्रयोग गरी कार्बन उत्सर्जन घटाउने।
• जैविक तथा गैर-जैविक फोहोरको उचित व्यवस्थापन गर्ने।
नेपालमा हरित अस्पतालको आवश्यकता
नेपालमा अधिकांश अस्पतालहरू कंक्रिटका जङ्गल जस्ता छन्, जसले ऊर्जा अत्यधिक खपत गर्छन् र वातावरणमा नकारात्मक असर पार्छन्। हालका वर्षहरूमा केही अस्पतालहरूले हरित अवधारणाको अपनाएको देखिन्छ, जस्तै:
१. नेपाल मेडिसिटी अस्पताल, काठमाडौं – अत्याधुनिक वातानुकूलित प्रणाली तथा नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोग गर्दै पर्यावरणमैत्री प्रविधिहरू समावेश गरेको छ।
२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस), धरान – अस्पताल परिसरमा हरियाली बढाउने, फोहोर व्यवस्थापन सुधार गर्ने तथा नवीकरणीय ऊर्जाको प्रयोग गर्ने पहल भइरहेको छ।
३. पाटन अस्पताल, ललितपुर – जल व्यवस्थापन र अस्पताल परिसरको हरियाली संरक्षणमा ध्यान केन्द्रित गरेको छ।
हरित अस्पतालका प्रमुख विशेषताहरू
१. ऊर्जा दक्षता उपायहरू • सौर्य ऊर्जा प्रणाली: अस्पतालको छतमा सोलार प्यानल जडान गरी बिजुली उत्पादन गर्न सकिन्छ। • ऊर्जा बचत गर्ने उपकरणहरू: एलईडी बत्ती, ऊर्जा-कुशल एचभीएसी प्रणाली, स्मार्ट ऊर्जा व्यवस्थापन प्रविधिको प्रयोग। • प्राकृतिक उज्यालो र हावाको प्रयोग: अस्पताल डिजाइन गर्दा अधिकतम प्राकृतिक उज्यालो र हावाको प्रवाहलाई ध्यान दिनुपर्छ।
२. पानी संरक्षण उपायहरू • वर्षा पानी संकलन: अस्पतालको ल्यान्डस्केपिङ, शौचालय, तथा बगैंचाका लागि प्रयोग गर्न सकिने। • फोहोर पानी प्रशोधन: फोहोर पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्ने प्रविधि जडान गर्ने। • पानी बचत गर्ने उपकरणहरू: कम बहाव भएका नल, सावर तथा दोहोरो फ्लश प्रणाली।
३. वातावरणमैत्री फोहोर व्यवस्थापन • बायोमेडिकल फोहोर वर्गीकरण: जैविक, पुनः प्रयोग गर्न सकिने, तथा गैर-जैविक फोहोरको उचित व्यवस्थापन। • नवीन प्रविधिहरू प्रयोग: स्वचालित फोहोर प्रशोधन प्रणाली, कम्पोस्टिङ विधिको प्रयोग। • प्लास्टिकको प्रयोग न्यूनीकरण: एकपटक प्रयोग हुने प्लास्टिक हटाएर पुनः प्रयोग गर्न सकिने सामग्री प्रयोग गर्ने।
४. स्वस्थ कार्य वातावरण • हरियालीयुक्त भवन संरचना: छतमा हरियाली, वर्टिकल गार्डेन, प्राकृतिक हावाप्रवाहको प्रवर्धन। • स्वच्छ हावा प्रणाली: एचईपीए फिल्टर प्रणाली, सीओ२ मोनिटरिङ, तथा पर्याप्त हावाको वायुसंचार। • प्राकृतिक वातावरणसँग सम्बन्ध: बिरामीलाई बाहिरी वातावरणसँग जोड्ने प्रयास गर्नुपर्छ, जसले उनीहरूको मनोवैज्ञानिक सुधारमा मद्दत गर्छ।
५. डिजिटल स्वास्थ्य सेवा र प्रविधि प्रयोग • इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर): कागजरहित सञ्चालन। • टेलिमेडिसिन सेवा: बिरामीलाई टाढैबाट स्वास्थ्य परामर्श प्रदान गर्न प्रविधिको प्रयोग। • स्मार्ट ऊर्जा व्यवस्थापन: अस्पतालका उपकरणहरूको उर्जाको खपत निगरानी गर्ने प्रणाली।
नेपालका अस्पतालहरूका लागि सुझाव नेपालमा हरित अस्पताल प्रवर्द्धन गर्न निम्न उपायहरू लागू गर्न सकिन्छ:
१. सौर्य ऊर्जा प्रयोग गर्ने – अस्पतालहरूमा बिजुलीको खपत उच्च हुने भएकाले वैकल्पिक ऊर्जा स्रोत अपनाउनुपर्छ।
२. फोहोर व्यवस्थापन सुधार गर्ने – अस्पतालका बायोमेडिकल फोहोरहरू सुरक्षित रूपमा डिस्पोज गर्ने तथा पुनः प्रयोग हुने सामग्री प्रयोग गर्नुपर्छ।
३. हरित भवन संरचना विकास गर्ने – नयाँ अस्पताल निर्माण गर्दा वातावरणमैत्री सामग्री प्रयोग गर्नुपर्छ।
४. कर्मचारी तथा समुदाय सचेतना कार्यक्रम – स्वास्थ्यकर्मी तथा बिरामीहरूलाई हरित अस्पताल अवधारणाबारे जानकारी दिनुपर्छ।
५. यातायात प्रणालीमा सुधार ल्याउने – अस्पतालमा विजुली गाडी प्रयोग गर्ने।
हरित अस्पतालका फाइदाहरू हरित अस्पताल अपनाउँदा स्वास्थ्य संस्थाले निम्न फाइदाहरू प्राप्त गर्न सक्छ: • ४०-५० प्रतिशत ऊर्जा बचत • २०-३० प्रतिशत पानी बचत • कर्मचारी तथा बिरामीहरूको स्वास्थ्य सुधार • स्वास्थ्यकर्मीहरूको उत्पादकत्व वृद्धि • पर्यावरणीय सन्तुलनमा योगदान
निष्कर्ष हरित अस्पताल स्वास्थ्य सेवा क्षेत्रका लागि मात्र नभई, समग्र वातावरणीय संरक्षणका लागि पनि महत्वपूर्ण अवधारणा हो। नेपालमा हरित अस्पताल प्रवर्द्धन गर्न सरकारी नीति, अस्पताल व्यवस्थापन, तथा समुदायको संलग्नता आवश्यक छ। यदि अस्पतालहरू हरित प्रविधिहरू अपनाउने हो भने, भविष्यमा स्वास्थ्य सेवा दिगो, स्वच्छ, र प्रभावकारी बन्नेछ।
(झा बीपीकेआइएचएस जूनियर रेजिडेन्ट अस्पताल प्रशासन, धरानमा कार्यरत छिन्)