काठमाडौं- सडक दुर्घटनामा एक जना युवा चिकित्सकको निधन भएको छ। मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्यरत २८ वर्षीय डा प्रतिक श्रीवास्तवको मोटर साइकल दुर्घटनामा मृत्यु भएको हो।
प्रहरीले दिएको जानकारी अनुसार डा श्रीवास्तवको गएराति चितवनको भरतपुर महानगरपालिका-१० विशाल चोक नजिकै भित्रि सडकमा मोटरसाइकल दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते श्रीवास्तवलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर उनको उपचारकै क्रममा मृत्यु भएको थियो। डा श्रीवास्तव वीरगन्जका हुन्।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भरतपुर हाकिम चोकमा बस्ने २८ वर्षीय विवेक चापागाईं गम्भीर घाइते छन्। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीका अनुसार ना ६४ प ५९३८ नम्बरको मोटरसाइकल गएराति १२:४० बजे सडक छेउमा रहेको सिमेन्टको गमलामा ठोक्किएर दुर्घटना भएको हो।
डा श्रीवास्तवको निधनपछि नेपाल चिकित्सक संघ जुनियर डाक्टर कमिटिले शोक विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेको छ। संघले इमान्दार र लगनशिल यूवा चिकित्सक गुमाएको संघले जनाएको छ।
यसैगरी, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले kgl शोक विज्ञप्ती जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।