काठमाडौं- आज विश्व क्यान्सर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैंछ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष करिब २५ देखि ३० हजार क्यान्सर बिरामीहरु थपिने गरेका छन्। जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा दिन प्रतिदिन क्यान्सर रोगीहरुको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन्।
नेपालमा क्यान्सरको दैनिक बढ्दो भार, बढी देखिएका क्यान्सर, उपचार प्रवाहमा रहेका चुनौती तथा भक्तपुर क्यान्सर अस्पतालले प्रवाह गर्दै आइरहेका सेवा लगायतका विषयमा केन्द्रित भएर भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
नेपालमा क्यान्सर रोगको भार कस्तो छ?
नेपालमा क्यान्सर बिरामीहरुको यकिन तथ्यांक नभएपनि सरकारी स्तरका तीन वटा तथा निजी क्यान्सर अस्पतालहरु तथ्यांकमा वर्षेनी १५ हजारभन्दा बढी नयाँ बिरामीहरु थपिने गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष २५ देखि ३० हजार क्यान्सर बिरामीहरु वर्षेनी थपिने गरेको अनुमान छ। जनसंख्याको यकिन तथ्यांक राख्न सकेमा मात्रै यकिन तथ्यांक पाउन सकिन्छ। नेपालमा त्यस प्रकारको प्रणाली नहुँदा क्यान्सर बिरामीहरुको यकिन तथ्यांक छैन। त्यसमध्ये भक्तपुर क्यान्सर अस्पतालमा वर्षमा करिब ५ हजारको संख्यामा क्यान्सरका बिरामी थपिने गरेको तथ्यांक छ।
त्यसमा उपचारमा क्रममा रहेका पुराना बिरामी, विदेशमा उपचार गराउनेहरुको संख्या समावेश छैन। यीनै तथ्यांकका आधारमा भन्नुपर्दाे नेपालमा प्रत्येक वर्ष क्यान्सर बिरामीहरुको संख्या बढ्दो क्रममा छ।
भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको चाप कस्तो छ?
भक्तपुर क्यान्सर अस्पताल क्यान्सर उपचारका लागि उपत्यकाको एक मात्रै विशिष्टीकृत सरकारी अस्पताल हो। त्यसकारण अस्पतालमा बिरामीको चाप बढ्नु स्वभाविक नै हो। उपचारका लागि अन्यत्र जाँदा क्यान्सर पत्ता लागेर उपचारका लागि यहाँ आउने बिरामीको संख्या धेरै छ। अस्पतालमा दैनिक ४ देखि ५ सयको हाराहारीमा बिरामीहरु ओपीडीमा उपचारका लागि यहाँ आइपुग्ने गरेका छन्। त्यस्तै रेडियसन थेरापीका लागि करिब १ सय ५०, किमोथेरापीमा ४० देखि ५०, १ सय भन्दा बढी कुनै पनि समय भर्ना भएर उपचार लिने, दैनिक ५ देखि १० सम्म शल्यक्रिया, २५ देखि ३० वटा सिटी स्क्यान, २–३ सय बिरामीले दैनिक रुपमा ल्याब सेवा लिने गरेका छन्।
उपचारका लागि अस्पताल आइपुगेका बिरामीहरुमा प्रमुख रुपमा कुन–कुन क्यान्सर देखिएको छ?
क्यान्सरको उपचारका लागि अस्पताल आएकामध्ये सबैभन्दा धेरैमा फोक्सोको क्यान्सर, महिलाहरुमा पाठेघरको मुख तथा स्तन क्यान्सर, पुरुषहरुमा मुख, घाँटी तथा जिब्रोको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर बढी देखिएको छ । त्यसका साथै ब्रेन, हड्डीको तथा रक्त क्यान्सरका बिरामी पनि धेरै नै छन्।
क्यान्सर उपचार सेवा प्रदान गरिरहँदा अस्पतालले भोग्नुपरेका चुनौतीहरु के– के छन्?
अपर्याप्त भौतिक संरचना, उपचारका लागि औजार तथा उपकरणको कमी, दक्ष जनशक्तिको कमी, अत्याधिक बिरामीको भारका कारण अस्पतालले सहज रुपमा सेवा दिन सकेको छैन। बिरामीको अत्याधिक चापका कारण शल्यक्रिया तथा अन्य सेवाका लागि धेरै बिरामीहरुले कुर्नुपर्ने अवस्था अस्पतालमा छ। हल अस्पताल १ सय ५० बेडमा सञ्चालन गरिएकोले सहज रुपमा बेड पाउन सक्ने अवस्था छैन।
त्यस्तै अस्पतालमा रेडियोथेरापीको २ वटा मेसिन मात्रै रहेका छन्। दैनिक १ सय ५० बिरामीलाई सेवा दिँदा पनि रेडियोथेरापी सेवामा लाइनमा कुर्नुपर्ने अवस्था छ। अस्पताललाई तत्कालै ३ वटा रेडियोथेरापी मेसिन आवश्यक छ। पेटस्क्यान सेवा चाहिने बिरामीहरुका लागि मेसिन नहुँदा सेवा दिन सकिएको छैन।
अस्पतालको निर्देशक भइसकेपछि तपाईंले अस्पतालमा थप गरेका सेवाहरु के–के हुन्?
म निर्देशकका रुपमा आउनु अगाडि अस्पतालमा एउटा मात्रै रेडियोथेरापी मेसिन रहेकोमा हाल दुईवटा रहेका छन्। त्यस्तै सिटी स्क्यानका लागि लामो समय कुर्नुपर्ने बाध्यता रहेकोमा हाल अत्याधुनिक सिटी स्क्यान मेसिन जडान भएको छ । ३ वटा मात्रै रहेको शल्यक्रिया कक्षलाई बढाएर ५ वटा बनाइएको छ । अस्पतालमा हाल अनलाइन सेवा समेत सुरु गरिएको छ। बालबालिकाको क्यान्सर उपचार सेवालाई निःशुल्क बनाइएको छ । विस्तारित क्यान्सर सेवाका रुपमा कोशी प्रदेशमा सुरु गरिएको छ। त्यस्तै नयाँ मेसिन राख्नका लागि बंकर निर्माणको तयारीमा रहेका छौं।
क्यान्सर उपचार किन महँगो छ? सरकारले उपचारका लागि दिँदै आएको १ लाख बराबरको उपचार सहुलियत बिरामीका लागि पर्याप्त छ?
क्यान्सर ढिलो पत्ता लागेको अवस्थामा यसको उपचार जटिल तथा महँगो हुने गर्छ। सुरुवातको अवस्थामा पत्ता लगाउन सकेमा क्यान्सर सामान्य तथा सस्तो उपचारले नै निको हुन सक्छ।
हाल स्वास्थ्य बीमा, विपन्न नागरिक सहायता कोष, प्रदेश सहायता कोष तथा विभिन्न सहायता पाउने व्यवस्था छ। सरकारले सबै क्यान्सर रोगीहरुलाई एकै प्रकारको उपचार सहुलियत नदिई रोगको जटिलताका आधारमा दिने व्यवस्था गर्नुपर्छ। कतिपय क्यान्सर १ लाखभन्दा कममा पनि उपचारमा हुन सक्छन् भने कतिलाई धेरै खर्च हुन्छ। त्यसकारण वैज्ञानिक आधारमा अध्ययन गरेर उपचार सहुलियतको व्यवस्था गर्नुपर्ने हुन्छ ।
अन्त्यमा क्यान्सर हुनबाट कसरी जोगिने?
क्यान्सर विभिन्न कारणले हुने गर्छ। पछिल्लो समय खानपिन तथा जीवनशैलीका कारण क्यान्सर रोगीहरुको संख्या बढ्दै गएको पाइएको छ। क्यान्सर हुन नदिनका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ। धूम्रपान तथा मद्यपानको प्रयोगले क्यान्सरको जोखिम बढाउने भएकोले यस्तो पदार्थको सेवनबाट टाढा हुनुपर्छ। शारीरिक श्रम गर्ने बानीले पनि क्यान्सरको जोखिमलाई घटाउन सक्छ। त्यस्तैः मानसिक स्वास्थ्य, यौन सतर्कता अपनाउँदा क्यान्सरको जोखिमलाई कम गर्न सकिन्छ।