पछिल्लो समय जलवायु परिवर्तनका कारण मुटु, क्यान्सर, मिर्गाैला, श्वासप्रश्वास तथा मानसिक रोगहरु प्रकोपकै रुपमा देखिन थालेका छन्। जलवायु परिवर्तनका विश्वकै चुनौतीको रुपमा खडा हुँदा यसका असरहरुको न्युनिकरणका लागि विभिन्न तहका सरकारबीचको समझदारीमा काम गर्नुपर्ने अवस्था छ। जलवायु परिवर्तनका कारण नगरबासीको स्वास्थ्यमा परेका असर, नगरप्रमुखका रुपमा स्वास्थ्य क्षेत्रमा भएका काम,गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि भोग्नुपरेको चुनौती, स्वास्थ्य क्षेत्रमा भएका सुधार लगायतका विषयमा केन्द्रित भएर दाङको घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
जलवायु परिवर्तनका कारण नगरबासीको स्वास्थ्यमा के कस्तो असर परेको छ ?
जलवायु परिवर्तनका कारण नागरिकको स्वास्थ्य ठूलो असर परिरहेको छ, भन्ने मलाई लाग्छ।
जलवायु परिवर्तनको शिकार दलित तथा निम्न आय भएका मानिसहरु भएका छन् । ज्येष्ठ नागरिक, महिला, बालबालिकालाई पनि जलवायु परिवर्तनले बढी प्रभाव पारेको छ।
पछिल्लो समय मुटु क्यान्सर, मिर्गाैला,श्वासप्रश्वास तथा मानसिक रोगहरु प्रकोपकै रुपमा फैलिरहेको पाइन्छ। जलवायु परिवर्तनका कारण यी रोगहरु बढेका हुन् या होइनन् भन्नेमा हामीले अनुसन्धान समेत गर्ने प्रक्रिया अगाडि बढाएका छौं। जलवायु परिवर्तनका असरहरुलाई कसरी न्युनीकरण गर्ने भन्ने अहिलेको चुनौतीको विषय समेत बनेको छ।
जलवायु परिवर्तनमा सन्तुलन कायम गर्नका लागि स्थानीय सरकारको तर्फबाट हाम्रो प्रयास जारी छ। घोराही उपमहानगरपालिकाले जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि ४३ वटा जलाशय निर्माण गरिसकेको छ।
पानी नभएका स्थानहरुमा वर्षाको समयमा बगेको बाढीलाई नियन्त्रण गर्दै निर्माण गरिएको जलाशय हाल सिँचाईका लागि प्रयोग हुँदै आइरहेको छ । यसले जलवायु परिवर्तनमा सन्तुलन कायम गर्नका लागि पनि सहयोग गर्दै आइरहेको छ।
जलवायु परिवर्तनको असरलाई ध्यानमा राखी हामीले डढेलो नियन्त्रण, वृक्षारोपण तथा वातावरणामैत्री संरचना निर्माणमा हामीले जोड दिदैं आएका छौं।
भुकम्प प्रतिरोधी साथै वातावरणमैत्री संरचना निर्माणका लागि उपमहानगरपालिकाले तालिम दिइरहेको छ।
स्थानीय सरकारबाट हुनसक्ने जलवायु परिवर्तनका कामहरुलाई निरन्तरता दिदैं यसले स्वास्थ्यमा पारेको असरलाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिएका छौं। पछिल्लो समय पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरुले ज्यान गुमाइरहेको स्थिती छ।
ज्येष्ठ नागरिकहरुमा श्वासप्रश्वासको समस्या बढ्दै गइरहेको छ,जलवायु परिवर्तनका कारण अत्यन्तै धेरै गर्मीका कारण लु लागेर हुने मृत्यु पनि दिनप्रतिदिन बढिरहेको छ।
यस्ता समस्याहरुबारे स्वास्थ्यकर्मीहरु मार्फत् सिकाउने, बुझाउने तथा सचेत गराउने कामलाई पनि प्राथमिकता राख्दै हामी अगाडि बढेका छौं।
बढी चिसो तथा बढी गर्मी हुँदा कृषि उत्पादनमा पनि क्षति पुगेको छ । उत्पादन कम हुँदा कुपोषणको समस्या पनि नगरवासीहरुमा देखिएको छ। त्यसकारण उपमहानगरपालिकामा कुपोषणको स्क्रिनिङ तथा तथ्यांक संकलन कार्य भइरहेको छ। जलवायु परिवर्तननका कारण स्वास्थ्यमा परेको प्रभावलाई न्युनीकरण गर्नुलाई विशेष प्राथमिकतामा राखेर नै हामीले काम गरिरहेका छौं।
तपाईंको नगरले स्वास्थ्यलाई मौलिक हकमा रुपमा प्रदान गर्न सकेको छ या छैन ?
संविधानले तथा ऐनले आधारभुत स्वास्थ्य सेवा स्थानीय तहको जिम्मेवारीमा पर्ने उल्लेख गरेको छ।
यद्यपि स्वास्थ्य सेवा प्रवाहका लागि पर्याप्त मात्रामा जनशक्ति संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई दिएको छैन। दक्ष जनशक्ति अभावमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिन सहज छैन।
'एक वडा एक स्वास्थ्य चौकी' भनिएपनि संघ सरकारले त्यसका लागि आवश्यक दरबन्दी व्यवस्था गर्न सकेको छैन। यस्तो हुँदा उपलब्ध जनशक्तिलाई अधिकतम प्रयोग गरी स्वास्थ्य सेवा प्रदान गरिहेका छौं।
कुन सरकारले के काम गर्ने कार्य विशिष्टीकरणमा रहेको अस्पष्टताका कारण पनि स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ । कठिनाईका बाबजुत हामीले स्थानीय सरकारको भुमिका निर्वाह गरिरहेका छौं।
कार्य विशिष्टीकरण गर्ने कामको थालनी भएपनि टुंगोमा पुगेको छैन। चाँडै यो टुंगोमा पुगेमा स्वास्थ्य सेवा प्रवाहमा सहज हुन्थ्यो। गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारले सकेको छैन।
१५ बेडको अस्पताल स्थानीय सरकारको मातहतमा रहने गरी थुप्रै संरचनाहरु बनेपनि जनशक्तिको व्यवस्थापन सम्बन्धमा व्यवस्थित खाका भने अझै पनि बनेको छैन । चिकित्सक, नर्स लगायत आवश्यक जनशक्ति नहुँदा संरचनाले मात्रै सेवा दिन सकिएको छैन।
यी सबै कुराको व्यवस्थापन गर्न नसक्दा संविधान प्रदत्त स्वास्थ्यको मौलिक हक दिन कठिन परेको छ।
नगरप्रमुखका रुपमा स्वास्थ्य क्षेत्रमा तपाईले गर्नुभएको सुधारहरु के के हुन्?
हाल घोराही उपमहानगरपालिकाले नगरबासीलाई निःशुल्क रुपमा रक्त सेवा प्रदान गर्दै आइरहेको छ। नेपाल रेडक्रस सोसाइटी तथा घोराही उपमहानगरपालिकाले जुनसुकै बिरामीलाई बिरामीलाई पनि निशुल्क रक्त सेवा प्रवाह गर्ने सम्झौता गरेको हो।
हाम्रो उपमहानगरपालिकामा रहेका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीबाट हामीले स्वास्थ्य सेवा प्रदान गर्दे आइरहेका छौं।
स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनुपर्ने कुरालाई विशेष प्राथमिकता राखेका छौं । उपमहानगरपालिकाभित्रका ७० वर्ष पुगिसकेका ज्येष्ठ नागरिकहरुलाई घर घरमै स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाइएको छ।
मोतिबिन्दुको शल्यक्रियालाई नि:शुल्क गरिएको छ। दुर्गम स्थानहरुमा समेत आधारभुत स्वास्थ्य सेवा तथा औषधिको पहुँच पुर्याउनका लागि आमा समुह तथा महिला स्वास्थ्य स्वयंम् सेविकाहरुलाई पहिचालन गरिहेका छौं। आधाभूत स्वास्थ्य सेवा पाउनका लागि कठिनाईको सामना गर्न नपरोस् भन्ने लक्ष्यलाई मुल मन्त्र बनाएर काम गरिरहेको छु।
उपमहानगरपालिकाको कुल बजेटमध्ये कति प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुभएको छ?
कतिपय शीर्षकमा संघ प्रदेशबाट नै बजेट विनियोजन भइरहेको हुन्छ। ठ्याक्कै यति भन्दा पनि आवश्यकता अनुसारको बजेट विनियोजन स्थानीय सरकारको तर्फबाट हुने गर्छ।
विशेषगरी औषधि व्यवस्थापन,नि:शुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गर्छ।
प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नका लागि संघ सरकारसँग के अपेक्षा गर्नुभएको छ?
संघ सरकारले एक वडा, एक स्वास्थ्य चौकीको अवधारणालाई मनन् गर्दै आवश्यक जनशक्ति व्यवस्था गरिदिए स्वास्थ्य सेवा प्रवाहमा भएको धेरै समस्याको हल हुन्थ्यो भन्ने मलाई लाग्छ।
सरकारले बनाएको आधारभूत अस्पतालको संरचनामा जनशक्ति व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गर्नु आवश्यक छ।
त्यस्तै विभिन्न सरकारको काम कर्तव्यमा रहेको अस्पष्टता हटाउनका लागि केन्द्र सरकारले भूमिका खेल्नुपर्छ।