काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ। न्याम्सको स्नातकोत्तर तह (एमडी/एमएस) कार्यक्रम प्रहरी अस्पतालमा सञ्चालन गर्न सम्झौता भएको हो।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा लोचन कार्की र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजुले हस्ताक्षर गरेका छन्।
सम्झौता पत्रमा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले संरक्षकको रुपमा हस्ताक्षर गरेका छन्।
न्याम्सका कार्यक्रम देशका विभिन्न अस्पतालमा विस्तार भइरहेको छ। प्रहरी अस्पताल न्याम्सको २२ औं अस्पताल भएको उपकुलपति डा बस्नेतले जानकारी दिए।