काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव डा विकास देवकोटालाई बनाएपछि अतिरिक्त सचिव डा संगीता मिश्राले असन्तुष्टि व्यक्त गरेकी छिन्। आफू १२ औं तहमा पहिले बढुवा भएकाले 'वरिष्ठता मिचेर' सरकारले डा देवकोटालाई सचिव बनाएको भन्दै उनले विभिन्न माध्यमबाट असन्तुष्टि व्यक्त गरिरहेकी हुन्।
बिहिबार सचिवका लागि सिफारिसमध्येका एक डा टंक बाराकोटी मन्त्रालयमा हाजिर भएपनि डा मिश्रा भने अनुपस्थित रहिन्। उनले १२ औं तहमा बढुवा आधारलाई लिएर आफू वरिष्ठ भएको दाबी गरिरहेकी हुन्।
१२औं तह अर्थात् अतिरिक्त सचिवमा बढुवा डा संगिता २०७९ असार २३ गते १२ औं तहमा बढुवा भएकी थिइन्। सचिव डा विकास २०७९ चैतमा १३ गते बाह्रौं तहमा बढुवा भएका थिए। डा मिश्रा पहिलोपटक २०५७ सालमा सेवा प्रवेश गरेर एक वर्ष काम गरेर जागिर छाडेकी थिइन्। फेरि २०७० असोज १० गते खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकाल्दै पुन: स्वास्थ्य सेवामा प्रवेश गरिन्। डा देवकोटा भने २०५३ सालदेखि निरन्तर स्वास्थ्य सेवामै रहेका छन्।
लोक सेवा आयोगको बढुवा समितिले उम्मेदवार मध्येबाट सचिवका लागि उपयुक्त तीनजना सिफारिस गर्ने प्रावधान छ। लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डा देवकोटाका साथै डा मिश्रा र डा बाराकोटीलाई सचिवका लागि योग्य ठहर्याएको थियो। समितिको सोही सिफारिसका आधारमा एकजना छनोट गर्दा मन्त्रीपरिषद्ले डा देवकोटालाई सचिव बनाउने निर्णय गरेको हो।