नेपाली भाषामा बिरामी शब्द बिरामबाट बनेको हो। अर्थात् कही न कही, केही न केही, जानअन्जानमा बिराम (गल्ती) गरे/भए पछिको अस्वस्थतालाई बिरामी भनिएको हो।
स्वस्थ रहने सबैको चाहना हुन्छ। तर, स्वास्थ्य भन्ने कुरा शरीरमा रोग नहुनु मात्र होइन भन्ने कुरा कमैलाई थाहा होला।
गुणस्तरीय जीवनको पहिलो आधारस्तम्भ हो स्वास्थ्य। जुन जैविक, वातावरणीय, सामाजिक, भावनात्मक तथा आध्यात्मिक जस्ता तत्वहरुको समुचित अन्तर्क्रियाबाट निर्धारित हुन्छ। अर्थात् व्यक्ति र व्यक्तिसँग उपलब्धस्रोत–साधनबीचको सन्तुलित अन्तर्क्रियाले स्वास्थ्य निर्धारण गर्छ।
स्रोत–साधनअन्तर्गत व्यक्तिको आर्थिक अवस्था, पोषिलो खाना, स्वच्छ पानी, स्वास्थ्य सेवा, व्यवस्थित यातायातमा पहुँच, परिवार र समुदायसँगको सम्बन्ध एवं व्यक्तिगत ज्ञान / जनचेतना आदि पर्दछन्।
यति धेरै पाटो हेर्दा स्वस्थ रहने कुरा निकै कठिन लाग्न सक्छ। किनभने माथि उल्लिखित सबै तत्वहरु सधैंभरी सन्तुलित नरहन सक्छ। त्यसमाथि धेरैजसो स्वास्थ्यको निर्धारक तत्व व्यक्तिगत नियन्त्रणभन्दा बाहिरका हुन्छन्।
यिनै कठिनाइलाई सम्बोधन गर्न मानवीय तथा सामुदायिक स्वास्थ्य कायम गर्ने जिम्मेवारीलाई अन्तर्राष्ट्रिय, राष्ट्रिय, सामुदायिक, पारिवारिक हुँदै परिवारको सानो इकाई मानिने व्यक्तिगत स्तरसम्म बाँडिएको छ।
स्वास्थ्य व्यक्तिगत सम्पत्ति हुने भएकोले व्यक्तिगत जिम्मेवारीकै कुराअगाडि आउँछ। विश्व स्वास्थ्य संगठनले आमनागरिकलाई सम्झन सजिलो हुने गरी स्वस्थ रहने सूत्र जारी गरेको छ, त्यो हो– ए, बी, सी, डी, ई।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनाभरी नसर्ने रोगहरुको स्क्रिनिंग कार्यक्रम मार्फत आम जनसमुदायको स्वास्थ्य प्रबर्द्धन गर्ने काम गरिरहेको छ।
के हो – ए, बी, सी, डी, ई।
ए: एभोइड अल्कोहल
सानादेखि ठूला, सुखद र दुःखद् जस्तोसुकै अवसरलाई बहाना बनाएर मदिरा पिउने चलन हामीकहाँ नयाँ हैन। क्षणिक रमाइलोका लागि मदिराजन्य पदार्थको सहारा लिने यही बानी हाम्रो स्वास्थ्यको लागि घातक भइरहेको पत्तो पाउँदैनौं। त्यसैले मदिरा पिउने बानीलाई आजैदेखि नियन्त्रण गर्नुस्।
रक्सी सेवनले शरीरका अंगलाई पुर्या उने क्षति र व्यक्तिगत उत्पादकत्वमा ल्याउने ह्रासको हिसाबकिताब गर्नुस्। टोल र बस्तीलाई हैन, आ–आफ्नो घरलाईनै मदिरामुक्त क्षेत्र घोषणा गर्नुस्।
मदिरा सेवनले मुटु तथा मिर्गौलाको रोग, क्यान्सर, मधुमेह आदिको जोखिम बढाउँछ। यी रोगबाट बच्ने उपाय अपनाउनु भनेको आफ्नो आर्थिक बचतका साथै राज्यको निःशुल्क स्वास्थ्य सेवामा लाग्ने आर्थिक भार कम गर्नु पनि हो।
बी: बि फिजिकल्ली एक्टिभ
बढ्दो आर्थिक सम्पन्नताले हाम्रो दिनचर्या आलस्यपूर्ण बन्दै गएको छ।त्यसले रोगलाई निम्ता दिइरहेको हुन्छ। यसैले टेबल वर्कले शारीरिक निस्क्रियता नल्याओस् भन्नेतर्फ सचेत हुनुस्।
शारीरिक रुपमा सक्रिय भएमा धेरैजसो रोग बाट बच्न सकिन्छ। यसैले दैनिकबिहान योग प्राणायामलाई जीवनमा समावेश गर्नुस् र मधुमेह, उच्च रक्तताप जस्ता दीर्घरोगहरु टाढा रहनुस्।
सीः कट डाउन साल्ट एन्ड सुगर
बढी नुन र मसालेदार खानेकुरा हाम्रो शरीरले धान्न सक्दैन। अत्यधिक नुन पाइने बजारका प्याकिङ खानेकुरा र गुलियो सफ्ट ड्रिंक्स सकेसम्म सेवन नगर्नुस्। विश्वव्यापी रुपमा अब सफ्ट ड्रिंक्सको बोतलमा पनि चुरोटको बट्टामा जसरी क्यान्सरको चेतावनीको चित्र राख्नेबारे बहस हुन थालेको छ।
महामारी जसरी फैलिरहेको मधुमेह रोगको एउटा कारक सफ्ट ड्रिंक्स हुन सक्ने कुरा अनुसन्धानले संकेत गरेको छ।
डीः डन्ट युज टोबाको प्रडक्ट्स
विश्वमा मृत्यु हुने हरेक १० जनामा एक जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। नेपालमा प्रतिवर्ष करिब बाइस हजार जना क्यान्सरका रोगी भेटिने गरेका छन्।
तपाईं ती बाइस हजार जनाभित्र पर्न चाहनुहुन्न भने धूमपान त्याग्नुस्। तपाईंले धूमपान गर्दा छेउको व्यक्तिलाई पनि असर गर्ने भएकाले परिवारका सदस्यलाई दिनदिनै कति असर परेको होला भन्ने ख्याल गर्नुस्।
सरकारले जारी गरेको धूमपान मुक्त सार्वजनिक ठाउँहरुको सम्मान गर्दै सभ्य नागरिकको परिचय दिनुस् र आफ्नो घरलाई पनि धूम्रपान मुक्त क्षेत्र बनाउनुस्।
इ: इट प्लेन्टी अफ भेजिटेबल्स एन्ड फ्रुट्स
राम्रो स्वास्थ्यको आधार राम्रो खानपान नै हो। मौसम अनुसारको उपलब्ध भएसम्मको हरिया सागपात, फलफूल खाने गरौं।
‘हरेक बार खाना चार’ लाई (१. अन्न तथा कन्दमुल २. गेडागुडी ३. हरियासागपात–फलफूल र ४. दूध, दही, अण्डा, माछा, मासुमध्ये एक) हरेक छाकमा समावेश गरौं।
अन्त्यमा,
स्वास्थ्य आफैँमा बहुनिर्धारक तत्व हो। नेपाली समाजमा अझै पनि रोग लाग्ने प्रमुख कारणहरुमा अस्वस्थकर बानीबेहोरा नै प्रमुख रहेको देखिन्छ।
व्यक्तिगत, पारिवारिक तर्फबाट ‘रोग लाग्नै नदिन’ निम्नलिखित केही सामान्य उपायहरु अपनाउन सकिन्छ। यी सामान्य लाग्ने उपायहरुको फाइदा जान्न कुनै वैज्ञानिक खोज, शोध र अनुसन्धान नै पढ्नुपर्छ भन्ने छैन। अनुभूति गरेर पनि जान्न सकिन्छ।
१) साबुन पानीले हात धुनुहोस्
चर्पी प्रयोग गरिसकेपछि, खाना बनाउनु र खानु–खुवाउनु अघि, काम गरेर आएपछि साबुुन पानीले अनिवार्य हात धुनुहोस्। धेरै रोगबाट बच्न सक्नुहुन्छ।
२) प्रयाप्त सुत्नुहोस्
दिनमा कम्तिमा ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ। अनिद्राका कारण मधुमेह, उच्च रक्तचापलगायत मानसिक समस्या निम्तिन सक्छ । जुवा, तास, मोजमस्तिकालागि निद्रा नबिगार्नुहोस्।
३) नियमित व्यायाम गर्नुहोस्
बिहान केहि समय योग, प्रणायाम, व्यायामका लागि छुट्टयाउनुहोस्। यसले तन्दुरुस्ती र तौल नियन्त्रण दुबै हुन्छ।
४) प्राकृतिक जडिबुटी
हाम्रो घर वरिपरी उब्जिने सम्पूर्ण वनस्पति हाम्रै लागि प्रकृतिले डिजाइनगरेको छ। अदुवा, तुलसी, लसुन, मरिच, हल्दी, एलोवेरा, कागती, मह, अमला उपलब्ध भएसम्मसेवन गर्नुहोस्।
५) पर्याप्त पानी पिउनुहोस्
६) सन्तुलित आहार लिनुहोस्
आहार शरीरको कच्चा पदार्थ हो। अन्न, फलफूल, मौसम अनुसारको रंगीन सागसब्जी, दही, मही, सलाद आदी खाने गर्नुहोस्। सामान किन्न पर्याप्त जानकारी लिनेगरे जस्तै मुखमा आहार हाल्नु अघि स्वस्थकर भए नभएको बिचार गर्ने गरौं।
७) तनावमुक्त रहनुहोस्
दैनिक हास्नुहोस् र हसाउनुहोस। आवश्यक्ता भन्दा बढी चिन्ता, रिस, डरनलिनुहोस्। यसले शरीरलाई निकै हानी गर्छ। परिवारलाई समय दिनुहोस् रमनोरञ्जन पनि गर्नुहोस्।
८) सकारात्मक बन्नुहोस्
जिवनको हरेक घटनामा नकारात्मक र सकारात्मक पक्ष हुन्छन्। जिनवका हरेकक्षणलाई सकारात्मक बनाउनु होस्। सकारात्मक सोचाईले सफलता र स्वस्थता दुबै मिल्छ।
९) सरसफाइ
व्यक्तिगत, सामुदायिक, घर-अफिस सबैतिर पर्याप्त सरसफाइ सुनिश्चित गर्नुहोस्। पर्यावरण जोगाऔं र आफू पनि बाँचौं।
१०) स्वास्थ्य शिक्षा
स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कुराहरु विभिन्न माध्यमहरु (रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट, स्वास्थ्यकर्मी) बाट सिक्नुहोस् र त्यसलाई जिवनमा लागू गर्नुहोस्।
१२) परिवारसँग जोडिनुहोस्
पारिवारिक काममा सहभागि हुने, चासो लिने, योगदान दिने, छिमेकी–आफन्तसँग सम्बन्घ सुधार्ने, सहयोग लिनेदिने कार्यले मानसिक तथा सामाजिक स्वास्थ्य लाभ लिन सकिन्छ। यसले तपाई आनन्द पनि दिनेछ।
१३) स्वास्थ्य परीक्षण
संभव भए नियमित स्वास्थ्य परीक्षण गराउनुहोस्, नभए लक्षण देखिने बितिकैसुरुकै अवस्थामा चिकित्सकको परामर्श लिनुहोस्।
उल्लेखित सम्पूर्ण कुराहरु दिनचर्यामा समावेश गरेर जो कसैले पनि आफ्नो रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउनुका साथै समय, पैसा, ऊर्जाको बचत गरेर निरोगी जीवनको आनन्द लिन सक्छ। रोग लाग्दै, लाग्दैन भन्ने होइन तर ठूलो आर्थिक क्षति गराउने अनि ज्यानै जोखिममा पार्न सक्ने रोगहरुबाट धेरै हदसम्म बच्न सकिन्छ।
(राय मध्यपुर थिमी नगरपालिका अन्तर्गत जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत छन्।)