परिचय
प्लास्टिक प्रदूषण आजको समयमा विश्वव्यापी वातावरणीय संकट बनेको छ। यसको अत्यधिक प्रयोग, गलत व्यवस्थापन र पुनः प्रयोगको कमीले गर्दा प्राकृतिक स्रोतहरूमा गहिरो असर परिरहेको छ। प्लास्टिक उत्पादन सस्तो, बलियो, र प्रयोग गर्न सजिलो भए पनि यसको विघटन प्रक्रियामा हजारौं वर्ष लाग्ने भएकाले यसले वातावरणीय क्षति पुर्याउँछ। यसले हाम्रो वातावरण, वन्यजन्तु, र मानव स्वास्थ्यलाई प्रत्यक्ष र परोक्ष रूपमा असर पार्दै गएको छ।
प्लास्टिकको प्रयोगको विश्व मानचित्र
प्लास्टिक उत्पादनमा विश्वव्यापी रूपमा ठूलो वृद्धि भएको छ। प्लास्टिकको उपयोग सन् १९५० मा केवल २.३ मिलियन टन थियो भने सन् २०१५ सम्ममा यो ४४८ मिलियन टनमा वृद्धि भएको छ, जुन सन् २०५० सम्ममा दोब्बर हुने आकलन गरिएको छ । हरेक बर्ष झन्डै ८ मिलियन टन प्लास्टिक तटीय राष्ट्र हुदै महासागरमा पुग्ने गरेको छ । एकल प्रयोग गरिने प्लास्टिक सबैभन्दा ठूलो समस्या बनेको छ, जुन फोहोरको मुख्य कारण हो।एकल प्रयोग गरिने प्लास्टिकले जम्मा उत्पादनको ४० प्रतिशत अंश ओगटेको छ। (तथ्यांक: लौरा पार्कर, नेशनल जोग्राफी-२०२४)
नेपालको स्थिति
विश्व बैंक २०२०को रिपोर्ट अनुसार हरेक दिन नेपालमा ४९०० टन ठोस फोहोर उत्पादन हुने गर्छ, जसमध्ये ६०० टन प्लास्टिक जन्य फोहोर हुने गरेको छ। यो ६०० टन प्लास्टिक जन्ने फोहोरहरु सिधै डम्पिङ्ग स्थानहरुमा विषर्जन गर्ने गर्दछन ।बिशेषगरि शहर क्षेत्रमा उत्पादन गर्ने जम्मा फोहोर मध्ये १६ प्रतिशत प्लास्टिक हुन्छ जुन प्रति दिन २.७ टन रहेको छ। आर्थिक बर्ष २०२१/२२ मा नेपालले ३,८०,००० टन प्लास्टिक आयात गरेक र १,६५,००० टन प्लास्टिक स्थानिय स्तरमा उत्पादन गरेको छ ।प्लास्टिकको उचित व्यवस्थापन नहुदा झन्डै २०.७ टन प्लास्टिक (जम्मा उपभोगको ९ प्रतिशत) वातावरणमा प्रदूषणको रुपमा निस्कने गर्दछ। (तथ्यांक: किशोर कुमार महतो, नेपालमा माइक्रोप्लास्टिक अनुसन्धान-२०२४)
जोखिम समूहहरू
प्लास्टिक प्रदूषणले सबै उमेर समूहमा असर पार्छ। सयुक्त रास्ट्र संघ बातावरणीय कार्यक्रम गरेको अध्ययान अनुसार गरिवीमा रहेका जनसंख्या, बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरू विशेष जोखिममा रहन्छन्। सन् २०१९ देखि कोभिडको प्रकोपबाट बच्नको लागि प्रयोग भएका सुक्ष्म प्लास्टिक जन्य समानहरु जस्तै मास्क, ग्लोब्स, फेस शिल्ड, स्यानिटाईजरका बोटल, मेडिकल किट आदिले पनि थप असर देखाएको छ ।यस्ता सुक्ष्म प्लास्टिकका कणहरू हावामा घुलमिल तथा खाना मार्फत शरीरका विभिन्न अंगमा पुगेर असर गर्ने गर्दछ।
स्वास्थ्य र वातावरणीय असरहरू
१. मानव स्वास्थ्यमा असर: प्लास्टिकमा हुने रसायनले हार्मोन प्रणालीलाई असर गर्न सक्छ। यसबाट मधुमेह, हृदय रोग, र प्रजनन प्रणालीका समस्या हुन सक्छन्।
२. वन्यजन्तुमा असर: प्लास्टिकको टुक्राहरू (माइक्रोप्लास्टिक्स) पानी र माटोमा घुल्छ, जसले जलचर र थलचर जीवजन्तुको जीवन संकटमा पर्छ।प्रत्येक वर्ष, प्लास्टिकजन्य फोहोरलेले माछा, चराहरू र अन्य समुद्री जीवहरू सहित लाखौं जनावरहरूलाई मर्ने गर्दछ। प्लाष्टिकको कारणले लोपोन्मुख प्रजातिहरू सहित करिब २१०० प्रजातिहरूलाई असर गरेको अनुमान गरिएको छ। लगभग सबै समुद्री पक्षी प्रजातिहरूले प्लास्टिक उपभोग गरेको पाईन्छ।
३. माटो र पानी प्रदूषण: प्लास्टिकले जमिनको उपजाउपन कम गर्छ र पानीका स्रोतलाई प्रदूषित बनाउँछ।
समाधानका उपायहरू
१. पुनः प्रयोग र पुनः चक्रण: प्लास्टिकजन्य सामग्रीलाई पुनः चक्रण प्रक्रियामा ल्याउनु आवश्यक छ।
२. पर्यावरणमैत्री विकल्प: कपडा, कागज, वा बाँसजस्ता विकल्पहरूको उपयोगले प्लास्टिकको खपत घटाउन सक्छ।
३. एकल प्रयोग प्लास्टिकको प्रतिबन्ध: प्लास्टिक झोला र एकल प्रयोग हुने अन्य सामग्रीलाई प्रतिबन्ध लगाउन सकिन्छ।
४. जनचेतना अभियान: विद्यालय, समुदाय, र राष्ट्रिय स्तरमा प्लास्टिक फोहर न्यूनीकरणसम्बन्धी कार्यक्रमको आयोजन गर्नुपर्छ।
५. सरकारका नीतिगत प्रयासहरू: सरकारले कडा नीति बनाएर प्लास्टिक उत्पादन र उपयोगमा कर लगाउने, पुनः प्रयोगलाई प्रोत्साहन गर्ने, र हरित प्रविधिमा लगानी बढाउनुपर्ने हुन्छ। सरकार र समाजको भूमिका सरकारले पुनः चक्रण उद्योगको प्रवर्द्धन र प्रदूषण नियन्त्रणका लागि सशक्त नीतिहरू ल्याउनुपर्छ।
यसका साथै, निजी क्षेत्र, सामुदायिक संघसंस्था, र व्यक्तिहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। प्लास्टिक फोहरको व्यवस्थापनका लागि स्थानीय स्तरमा स्रोतको छुट्टै व्यवस्थापन र पुनः चक्रण केन्द्रहरू स्थापना गर्नुपर्ने आवश्यकता छ।
निष्कर्ष
प्लास्टिक प्रदूषण कम गर्न हाम्रो सामूहिक प्रयास महत्त्वपूर्ण छ। सरकार, समाज, र व्यक्तिगत तहमा ठोस कदम चालेर मात्र सुरक्षित वातावरण र स्वस्थ जीवनशैली कायम गर्न सकिन्छ। हामीले अहिले नै कदम चाल्न नसके, भविष्यमा हाम्रो पर्यावरणीय संकट अझ गहिरो बन्नेछ।
-(लेखकद्वय जनस्वास्थ्यकर्मी हुन् र विगत ५ वर्षदेखि स्वास्थ्य क्षेत्रमा आवद्ध छन्।)