धनगढी– कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ६०० शय्याको अस्पताल सञ्चालन र यही शैक्षिक सत्रबाट एमबीबीएस कार्यक्रम सुरु गर्न माग गरिएको छ। विश्वविद्यालय सरोकार तथा समन्वय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेको हो।
समितिले ७७ विघा जग्गामा करिब सात अर्ब रुपैयाँको लगानीमा बनेको विश्वविद्यालय तत्काल पूर्ण रूपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिएको छ। ज्ञापनपत्रमा अस्पताल सञ्चालनसँगै एमबीबीएस अध्ययन–अध्यापन सुरु गर्न ढिलाइ अब स्वीकार्य नहुने उल्लेख गरिएको छ।
विश्वविद्यालयको ऐन कार्यान्वयनका क्रममा रिक्त रहेका विश्वविद्यालय सभा सदस्य तत्काल मनोनयन गरी सभालाई पूर्णता दिन पनि समितिले आग्रह गरेको संयोजक लोकराज पाण्डेले जानकारी दिए। वर्तमान सरकारले सभा सदस्य तथा उपकुलपति–रजिस्ट्रार सिफारिस समितिसहित आवश्यक संरचना गठन गरेको कदमप्रति समितिले धन्यवाद व्यक्त गरेको छ। साथै, उपकुलपति, रजिस्ट्रारलगायत महत्वपूर्ण पदमा हुने नियुक्तिमा पूर्ण निस्पक्षता अपनाउन पनि आग्रह गरिएको छ।
ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार केही समयमै संचालित अस्पताल शिक्षा मन्त्रालयको मातहतमा आउनेछ र यसै शैक्षिक सत्रमा अध्यापनसहित पूर्ण क्षमताको अस्पताल सञ्चालनमा ल्याइनेछ।