काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सचिव पद आजबाट रिक्त भएको छ। डा रोशन पोखरेल आइतबार काम गरेर अवकाश भएपछि सचिव पद रिक्त भएको हो।
रिक्त रहेको सचिव पदमा मन्त्रालयका १२औं तहका तीन जना अतिरिक्त सचिवमध्ये एक जना सचिव हुने छन्। अहिले मन्त्रालयमा नामको वर्णानुक्रम अनुसार हेर्दा अतिरिक्त सचिवमा डा विकास देवकोटा, डा संगिता कौशल मिश्र र डा टंक बाराकोटी रहेका छन्। डा देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन् भने डा संगिता र डा टंक मन्त्रालयमा कार्यरत छन्।
स्वास्थ्य मन्त्रालयमा तीनै जना अतिरिक्त सचिवलाई अब हुने सचिवको बलियो उम्मेदवारका रुपमा हेरिएको छ। स्वास्थ्यखबरले तीन जना अतिरिक्त सचिवको स्वास्थ्य सेवामा प्रवेश, हालको १२औं तहमा बढुवा भएको समय र यसअघि उनीहरुले नेतृत्व गरेको निकायहरुको विषयमा जानकारी लिएको छ।
स्वास्थ्य सेवामा कसको प्रवेश कहिले?
सेवा प्रवेशको आधारमा हेर्दा तीन जनामध्ये सबैभन्दा अगाडि २०५३ सालमा डा विकास प्रवेश गरेका थिए। तत्कालिन समयमा मेडिकल अधिकृतका रुपमा उनी स्वास्थ्य सेवामा प्रवेश गरेका थिए। त्यसपछि डा टंक बाराकोटी २०५६ सालमा मेडिकल अधिकृतका रुपमा सेवा प्रवेश गरेको देखिन्छ। डा संगिता भने २०५७ सालमा सेवा प्रवेश गरेको र एक वर्ष काम गरेर जागिर छाडेकी थिइन्। डा संगिताले २०७० असोज १० गते खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकाल्दै पुन स्वास्थ्य सेवामा काम सुरु गरेकी हुन्।
१२औं तहमा को कहिले?
हालको १२औं तह अर्थात अतिरिक्त सचिवमा बढुवाको हिसाबले हेर्दा डा संगिता अगाडि देखिन्छिन्। उनी २०७९ असार २३ गते बाह्रौं तहमा बढुवा भएकी हुन्। डा विकास र डा टंक भने २०७९ चैतमा १३ गते बाह्रौं तहमा बढुवा भएका थिए।
विगतका जिम्मेवारी: को कहाँ?
स्वास्थ्यखबरले सचिवको प्रतिस्पर्धामा रहेका तीन जनामध्ये वर्णानुक्रम अनुसार उनीहरुको विवरण यहाँ राखेको छ।
तीन जनामध्ये सबैभन्दा लामो समय स्वास्थ्य सेवामा काम गरेका कारण डा विकासको जिम्मेवारी र उनले नेतृत्व गरेका निकायहरुको संख्या बढी देखिन्छ। डाक्टर विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेसकेका छन्। डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन्। कोभिडको समयमा नियमित स्वास्थ्य ब्रिफिङ समेत उनले गरेका थिए।
लामो समयदेखि सेवामा रहेका डा देवकोटा हालसम्म विवादमा आएका छैनन्। उनलाई स्वास्थ्य क्षेत्रको तल्लो तहदेखि माथिल्लो निकायसम्म बुझेको कर्मचारीका रुपमा चिनिन्छ। स्वास्थ्यका नीतिगत विषयदेखि कार्यक्रमहरुका विषयमा बुझेर निर्णय गर्ने कर्मचारीका रुपमा मन्त्रालयमा उनलाई लिने गरिएको छ।
डा संगिता मिश्रले मेडिकल अधिकृतका रुपमा एक वर्ष मात्र काम गरेर स्वास्थ्य सेवाबाट राजीनामा दिएकी थिइन्। त्यसपछि अध्ययन र निजी संस्थाहरुमा काम गरेकी डा संगिता २०७० सालमा ११औं तहबाट फेरि स्वास्थ्य सेवाम प्रवेश गरेकी हुन्। त्यसयता उनले कोशी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुख भएर काम गरिन् भने स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भइसकेकी छिन्।
उनको ११औं तहमा प्रवेशको विषय भने विवादमा आएको थियो। तर उक्त विषय पछि आफैं साम्य भएको थियो। मन्त्रालयमा उनलाई भावुक स्वभावकी र छिटोभन्दा छिटो काम टुंग्याउनुपर्छ भन्दै सँधै हतारमा देखिने कर्मचारीका रुपमा चिन्छन्।
डा टंक बाराकोटी पनि स्वास्थ्य सेवाको तल्लो तहदेखि माथिल्लो तहसम्म काम गरेका कर्माचारीका रुपमा चिनिन्छन्। उनी मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन्। त्यसपछि लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन्। मन्त्रालयमा डाक्टर टंकलाई शान्त स्वभावका र विवादमा नआएका कर्मचारीका रुपमा चिन्छन्।
कसको सम्भावना कति?
सचिवका लागि तीनै जना प्रतिस्पर्धी आआफ्नो ढंगले शक्ति केन्द्रमा धाइरहेका छन्। तर उनीहरु भने आफूहरु कँही कतै नलागेको बताउँछन्। स्वास्थ्यखबरलाई स्रोतले दिएको जानकारी अनुसार तीनै जना प्रतिस्पर्धी राजनीतिक दलका नेताकहाँ पुगेका छन्। यसका साथै अन्य क्षेत्रबाट पनि आफ्नो लबिइङ गरिरहेका छन्।
हालका स्वास्थ्यमन्त्री डा प्रदीप पौडेल डा विकासलाई सचिव बनाउन चाहन्छन् भने डा संगिताले पनि कांग्रेसका केही नेता मार्फत सचिवमा आफ्नो चाहना व्यक्त गरेको स्रोतले जानकारी दियो। डा टंक प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाका भएकाले प्रधानमन्त्रीलाई उनलाई बनाउँछन् भन्नेहरु पनि छन्।
तर को सचिव हुन्छ भन्ने कुरा भने अझै एकिन भएको छैन। लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले तीन जनालाई सिफािरस गरेपछि मन्त्रिपरिषदले कसलाई सचिव बनाउँछ त्यो भने पर्खनै पर्छ। बढुवा समितिको आज बसेको बैठकले सचिवका लागि योग्य कर्मचारीहरुको विवरण माग गर्ने निर्णय गरेको छ।
तीनै जनाले स्वास्थ्यखबरसँग सचिवको जिम्मेवारी पाएमा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा काम गर्ने बताएका छन्।