जुम्ला- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र जुम्लाले जुम्लामा १० दिन निषेधाज्ञा थप्न जिल्ला सुरक्षा समितिलाई सिफारीस गरेको छ। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले १० दिन कडा निषेधाज्ञा गर्न सुरक्षा समितिलाई सिफारीस गर्ने निर्णय गरेको हो।
निषेधाज्ञा अवधिभर सञ्चालन हुने सरकारी तथा निजी सवारी साधनले अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सवारी पास लिएर मात्र सञ्चालन गर्न निर्णय भएको हो। कोभिड–१९ को तिव्र संक्रमण बढेको र जनसमुदायको लापरवाही बढेकोले जेठ १ गते दिउसो १२ बजेदेखि जेठ महिनाको ११ गतेसम्म औषधि पसल बाहेक सम्पुर्ण सेवा ठप्प पार्ने गरि १० दिनसम्म पूर्ण निषेधाज्ञा गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए।
यसअघि वैशाख २३ गतेदेखि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। कोभिड–१९ नयाँ भेरियन्ट संक्रमणको रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०७८ प्रस्तुत गरिएको थियो। कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न उपस्थित सबै सरोकारवालालाई आग्रह गरिएको उनले बताए।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले कोरोना संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन र ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट तिव्र रूपमा संक्रमण बढेको हुँदा हरेक स्थानीय तहले न्युनतम ५० बेड आइसोलेसन र ५ बेडको कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याउन सबै पालिकालाई आग्रह गर्ने निर्णय गरेको हो। चिकित्सक व्यवस्थापन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने निर्णय भएको कोभिड १९ संकट व्यवस्थापन समितिले जनाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयले हरेक पालिकाका स्वास्थ्य शाखाका कर्मचारीसँग समन्वय गरि कन्ट्र्याक्ट ट्रेसिङको दायरा बढाउन कार्ययोजना सहित परीक्षणको क्षेत्र बढाउने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।
जुम्ला उद्योग वाणिन्य संघ, जुम्लाले आफ्नो सभाहल आइसोलेसनको रूपमा प्रयोग गर्न दिने र २ महिनाका लागि कोभिड एम्बुलेन्स निशुल्क सेवाको लागि उपलब्ध गराउने प्रतिबद्धता गरेको पनि बैठकमा जानकारी गराइएको थियो। यसअघि संघीय सांसद गजेन्द्रबहादुर महतले एम्बुलेन्स व्यवस्थापनका लागि संसद विकास कोषको १० लाख रुपैयाँ उपलब्ध गराउने जनाइसकेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट उत्पादनका लागि चाहिने विद्युत आपूर्ति पिक आवर बाहेक अन्य समयमा विद्युत प्राविधिकरण जुम्ला शाखाले उपलब्ध गराउने निर्णय भएको छ। यो संगै जुम्लामा अक्सिजन उत्पादन हुने निश्चित भएको छ।