काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सिजनल फ्लुका बिरामी भेटिन थालेका छन्।
केही दिन यता सिजनल फ्लुका बिरामी फाट्टफुट्ट रुपमा देखिन थालेको अस्पतालले जनाएको छ। लक्षण सहितका बिरामीहरु उपचारका लागि आउन थालेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए।
उनले भने, ‘इन्फ्लुएन्जा लाइक इलनेस भन्छौँ। ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने समस्या लिएर बिरामीहरु आउन थालेका छन्।’
लक्षण भएपनि अधिकांश बिरामीहरु समस्या नपर्दासम्म घरमै बस्ने गरेको डा पुनले बताए। स्वस्थ व्यक्तिलाई गाह्रो नबनाएपनि दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकालाई सिजनल फ्लुले हेलचक्र्याई गर्दा जटिल बनाउन सक्ने उनले बताए। उनका अनुसार सिजनल फ्लुको समस्या मार्च महिनामा ह्वात्तै बढ्ने गरेको छ।
मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र आराम गरे सिजनल फ्लुबाट बच्न सकिने डा पुनको सुझाव छ।
के हो सिजनल फ्लु?
सिजनल फ्लु अथवा मौसमी रुघाखोकी भनेको इन्फ्लुएन्जा भाइरसबाट लाग्ने संक्रामक रोग हो। इन्फ्लुन्जा भाइरस ए, बी, सी र डी गरेर चार प्रकारको हुने गर्छ। इन्फ्लुन्जा भाइरसका चार प्रकार मध्य ए र बी भाइरसले मानिसलाई बढी दुःख दिने गरेको पाइन्छ।
लक्षण
– ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)
– टाउको दुख्ने
– घाँटी दुख्ने
– रुघाखोकी लाग्ने
– श्वास फेर्न गाह्रो हुने
– बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ
बच्ने उपाय
– खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं।
– साबुन पानीले मिची मिची हात धुने गरौं।
– पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं।
– ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं।
– आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं।
– ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं।
– शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं।
– आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं।
– सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने।
– अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं।
– नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।