जगदिश बुढा
जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण शुरु भएको छ। पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार तातोपानीका स्थानीय ४५ दिन अघि भारतबाट आएका थिए।
रजिष्ट्रार काफ्ले भन्छन्, ‘निकै ठुलो चुनौति र अभावकाबीच पिसिआर मेसिन सञ्चालनमा आएको हो।' उनका अनुसार यो मेसिनले एक पटकमा ९६ जनाको स्वाब परिक्षण गर्न सकिने छ।
कर्णालीको जुम्लामै पिसिआर मेसिनबाट स्वाब परीक्षण शुरु भएपछि यहाँ कोराना परिक्षण गर्न सहज हुने प्रतिष्ठानको शिक्षण अस्पतालका निर्देशक डा मंगल रावलले जानकारी दिए।
पहिलो चरणमा दुई सय किट आएको हो। शनिबारसम्म एक हजार किट ल्याउन पहल भइरहेको छ। किट उपलब्ध हुने बित्तिकै जुम्ला भित्रिएका सबैको स्वाब परिक्षण हुने बताइएको छ।
जुम्ला, मुगु र कालिकोटबाट पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी प्रतिष्ठानको छ ।
आवश्यक किट नहुँदा पिसिआर मेसिन एक हप्ता प्रयोेगमा आउन सकेको थिएन।