नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सन्र्दभमा भ्रमण वर्ष २०२० राम्रो अवसर हो। अहिलेसम्म हामीले देशलाई भौगोलिक सुन्दरतालाई प्राथमिकता राखेर अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेका छौँ। अब अन्य विषय पनि जोडेर सकारात्मक सन्देश दिने खालको चिनारी पनि आवश्यक छ।
हरेक दिन उपचार नपाएर नेपाली भारत लगायतका मुलुकमा उपचारका लागि गएको धेरै सुनिन्छ, देखिन्छ। आँखा उपचार सेवामा हामी विदेशीलाई समेत सेवा दिन सक्षम छौँ । नेपाल आँखा स्वास्थ्य उपचारको क्षेत्र सक्षम छ। जनशक्ति उत्पादन र अत्याधुनिक उपकरणहरु भित्रिरहेका छन्। देशमा रहेका विभिन्न अन्तर्राष्ट्रिय स्तरका आँखा अस्पताल आँखा स्वास्थ्य सेवा प्रदान गर्न सक्षम छन्।
विदेशमा आँखाको उपचार महँगो मानिन्छ। हामीले नेपालमै अन्तर्राष्ट्रिय स्तरको निकै कम शुल्कमा उपचार दिइरहेका छौँ।
भिजिट वर्ष २०२० मा विदेशमा नेपाल घुम्दा आँखाको उपचार पनि गराउन सकिन्छ भन्ने खालको सन्देश पनि दिनसके पर्यटन प्रर्वधन र आँखा स्वास्थ्य सेवा दुवै क्षेत्रमा फाइदा हुन्छ। अथवा देशभित्रै घुम्दा पनि आँखा उपचार सेवा आवश्यक पर्न सक्छ। त्यो बेला के गर्ने, पर्यटकले कहाँ गएर सेवा लिने भन्ने उनीहरुलाई थाहा हुनुपर्छ। त्यसको लागि सरकार तयारी हुनुपर्छ।
सबै कुराका लागि पूर्वाधार विकास, सेवाशुल्क, उपचार गराउन आउने पर्यटकको व्यवस्थापन भिसाादेखि खानेबस्नेसम्मको तयारी गर्नुपर्ने आवश्यकता देखिन्छ। घुम्नुका साथै आउने पर्यटकले स्वास्थ्य उपचार गराए भने आर्थिक फाइदा त हुन्छ नै, आँखा स्वास्थ्य सेवाको राम्रो सन्देश जान्छ भन्ने लाग्छ।
पर्यटकले राम्रो उपचार पाएपछि आफ्नो देश फर्केर पनि कुरा गर्छन्। त्यसले गर्दा अन्य व्यक्तिहरु पनि आउँछन्। यसले दीर्घकालीन रुपमा नै फाइदा पुर्याउँछ जस्तो लाग्छ।
-(तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी निर्देशक डा गुरुङसँग कल्पना पौडेलले गरेको कुराकानीमा आधारित)
यो पनि :