काठमाडौं - पछिल्लो समय नेपालगन्जस्थित जमुनाह नाकाबाट नेपाल भित्रने नेपालीको भीड अत्याधिक बढेको छ।
भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेकाले पुन: लकडाउन र निशेधाज्ञा हुन थालेपछि कामको खोजीमा भारत पुगेका नेपाली स्वदेश फर्कन थालेका हुन्। तर नाकाबाट नेपालीहरु निस्फिक्री छिरिरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नाकामा स्वास्थ्य जाँच लगायतका व्यवस्थापन गरेको भनेपनि यथार्थ भने फरक छ। नाकाबाट भित्रिने नागरिकको व्यवस्थापन सरकारले गरेको देखिँदैन। केन्द्रमा गरेका कुराहरु भाषणमा मात्र समिति देखिन्छ।
नाकाबाट भित्रने धेरै व्यक्तिले मास्क लगाएको देखिँदैन। भीडभाडका बिच नाकाबाट भित्रने धेरैको स्वास्थ्य मन्त्रालयले भनेको जस्तो व्यवस्थापन पनि गर्न सकेको छैन।
स्थल मार्गबाट नेपाल भित्रने नेपालीको नाकामा स्वास्थ्य जाँच गर्ने भनिएपनि धेरैको जाँच भएको देखिएन।
नेपालगञ्जमा स्थापित हेल्थ डेस्कमा दुई सिफ्टमा गरेर ४ जना स्वास्थ्यकर्मी खटाइएको बताइएको छ। जसमा एक जना करारमा छन्। तर, स्वास्थ्यखबरको टोली त्यहाँ पुग्दा एकजना मात्र स्वास्थ्यकर्मीले आगन्तुकको नाम टिप्ने, तापक्रम नाप्ने काम गरिरहेकी थिइन्।
सिनियर अनमी गीता गिरी शाहीले सरकारले नाकाको हेल्थ डेक्सको क्षमता थप बढाउनु पर्ने र व्यवस्थित गराउनुपर्ने बताउँछिन्।
'यही व्यवस्थाले मात्र त कोरोना नियन्त्रण गर्न समस्या छ,' उनले भनिन्।
उनले भारतबाट आएर घर पुगेका व्यक्तिहरूले पनि स्वास्थ्यका मापदण्डअनुसार व्यवहार गर्न जरुरी रहेको बताइन्।
सरकारले सिमानाकामा हेल्थ डेस्क स्थापित गरेर परीक्षण गरेर मात्रै घर पठाउने, १० वटाका दरले मास्क वितरण गर्ने भने पनि नेपालगन्ज नाकामा उक्त दृश्य देखिएन।
हेरौं भिडियो