नेपालगञ्ज- बाँके जिल्ला पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ। जिल्लामा सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि भेरी अस्पतालका शय्या भरिन थालेको छ।
भेरी अस्पतालमा कोरोना संक्रमितका लागि हाल १४२ क्षमताको शय्या व्यवस्थापन गरिएको छ। ती मध्ये १०२ शय्या आइसोलेसन र ४० शय्या शंकास्पद बिरामीलाई राख्ने गरिएको छ। यस्तै १५ शय्याको कोभिड आइसियु बेड रहेको छ।
आगामी एक सातामा संक्रमण नियन्त्रणमा नआउने हो भने बाँके जिल्लाभरका स्वास्थ्य संस्था कोरोना संक्रमितले भरिने र उपलब्ध स्रोत साधानले समेत नधान्ने बताइएको छ।
संक्रमण नियन्त्रणका लागि आम नागरिकले स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र परीक्षणलाई तीव्र पारिनुपर्ने, सीमाबाट आउने नागरिकको उचित व्यवस्थापन र परीक्षण गरिनुपर्ने बताइएको छ।
यही सेरोफेरोमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापासँग स्वास्थ्यखबरकी कल्पना पौडेलले भिडियो कुराकानी गरेकी छिन्।