काठमाडौ - भेरी अस्पतालको कोभिड आइसियुमा उपचाररत संक्रमितको मृत्यु भएपछि आफन्तले अस्पतालका चिकित्सक तथा नर्सहरुमाथि भौतिक आक्रमण गरे। त्यसको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय अगाडि भर्ना दिए।
स्वास्थ्यकर्मीले दोषीमाथि करबाहीको माग गरेका छन्।
बिहीबार राति बिरामीको मृत्यु भएपछि आफन्तले आक्रमण गरेपछि शौचालयको भेन्टिलेसनबाट हाम फालेर ज्यान जोगाए। बिहीबार रातlको उक्त घटना फेरि सम्झन चाहँदैनन् भेरी अस्पतालका मेडिकल अफिसर डा चन्द्रप्रकाश साहु।
अस्पतालको आइसियु भित्रै ७, ८ जनाको समुह गुण्डागर्दी शैलीमा आएर हातपात गर्दा आफुहरु मात्र होइन उपचार गराइरहेका अस्पतालका बिरामीहरु समेत आत्तिएर चिच्चाएको उनले बताए।
उक्त घटनाबारे डाक्टर साहले स्वास्थ्यखबरलाई सुनाएको अनुभवः
म अस्पतालमा कोभिड वार्ड सुरु भएदेखि सेवारत छु। अहिले मात्र होइन हामीलाई पटकपटक धम्की दिने, गालीगलौज गर्ने भइरहेको छ।
पछिल्लो समय ४ पटकभन्दा बढी भयो होला भौतिक आक्रमण भएको। पटकपटक हामी यस्तो अवस्थामा काम गर्न सक्दैन।
दाङबाट उक्त बिरामी ल्याएपछि सुरुका दिनमा आइसियु खालि नभएकोले वार्डमा राखेर उपचार भइरहेको थियो। आएको ३, ४ दिनमा आइसियुमा सिफ्ट गरिएको थियो। बिरामी अस्पताल आउँदा उहाँको अवस्था राम्रो थिएन। बिरामीको अवस्था क्रिटिकल भएकोले हामीले पटक पटक उहाँका आफ्न्तलाई त्यसबारे जानकारी गराइरहेका थियौँ। उहाँको एक्सरे रिर्पोट पनि राम्रो थिएन। त्यसैले हरेक पटक हामीले बिरामीको अवस्थाबारे भनिरहेका थियौँ।
उपचार गर्दा गर्दै गाह्रो हुन सक्छ भन्ने कुरा भनिरहेको कुरा उहाँलाई थाहा थियो।
आफ्न्तहरुले जसरी पनि बचाउनुपर्छ, केही भएमा छाड्दैनौं, एक एकलाई हेर्छौँ भन्ने कुरा गरिरहनुहुन्थ्यो। भेन्टिलेटरमा राख्नुपर्ने बिरामी भएको पनि हामीले भनिरहेका थियौँ।
हिजो भेन्टिलेटर खाली भएपछि हामीले आफ्न्तलाई त्यसबारे जानकारी गरायौँ। उहाँहरुले राख्ने भनेपछि त्यसको तयारी भयो।
भेन्टिलेटरमा सार्दा एकछिन अक्सिजन निकाल्नुपर्ने हुन्छ, त्यो समय बिरामीलाई गाह्रो भयो। अनि त्यो देखेर उहाँ होइन भेन्टिलेटरमा नराख्ने भनेर जिद्धी गर्नुभयो। हामीले पछि राखेनाँै। र पनि उहाँको अवस्था निकै जटिल थियो। तर उहाँहरु निकै कराइरहनुभएकाले हामीले अस्पतालका सुरक्षाकर्मी, सुरक्षागार्ड सबैलाई इन्र्फम गर्यौँ र बोलायौँ।
त्यसको एक घण्टापछि बिरामीको मृत्यु भयो। अनि उहाँहरु ७, ८ जना आएर सिस्टरलाई हातपात गर्न लागे। एक जना सिस्टरको घाँटी समाते।
एकजना अर्को दाईले सिस्टरलाई बचाउन खोज्नुभयो। त्यसपछि उनीहरु सबै माथि जाइलागे।
हामीले सिस्टरलाई लिएर स्टाफ क्याबिनमा आयौँ। उनीहरुले त्यसको ढोका फोडेर भित्र छिरे। त्यसपछि हामी त्यही क्याबिनको ट्याइलेटमा गयौं। तर त्यहाँ पनि ढोका फोडेर आएपछि हामी त्यहाँको झ्यालबाट तल हाम फाल्यौँ। म र अन्य चारजना सिस्टरले हाम फालेर ज्यान बचायौँ।
ज्यान जोगाउन हाम फाल्दा एक जना सिस्टरको खुट्टा मर्किएको छ। भने घाँटी थिचिएको सिस्टरलाई दुखाईको समस्या छ भन्नुहुन्थ्यो।
रातभर निकै अत्यासपूर्ण भयो। राती नै अस्पताल प्रशासनबाट हामीलाई सहयोग गर्न आउनुभयो। बैठक बस्यो। हामी अपराधीलाई कारबाही नगरेसम्म मान्दैनौँ। पपटकपटक यस्ता त्रास, डरलाग्दो वातावरणमा काम गर्न कहाँ सकिन्छ। घरमा पनि सबै जना डराउनुभएको छ।
राति फेरि अरु बिरामीको उपचारका लागि ड्युटीमा गयौँ। उहाँहरुको अवस्था पनि सिकिस्त छ र त आइसियुमा हुनुहुन्छ। एक जनाको कारणले अरु बिरामीलाई समेत प्रभावित बनायो। उहाँलाई यत्तिकै छाडेर विरोधमा जान मनले दिएन। राति फेरी उहाँको हेरचाह गर्न गयौँ। उहाँहरु पनि निकै डराउनुभएको छ।
पहिला पनि यस्ता घटनामा दोषिलाई कारबाही भएन। अहिले पनि भएन भने काम गर्न हिम्मत आउँदैन। अन्य भर्ना भएका बिरामी देख्दा ड्युटी जान्न भन्न पनि सकिदैँन तर जान पनि कहिले मार्ने हो डर भयो।
अन्य बिरामी, उनका आफ्न्त रोइरहेका छन्। सबै यस्ता बदमास त हुँदैन। उनीहरुको उपचार नगरी पनि भएन।
हामी सहन सक्दैनौँ। यस्ता मानिसलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ।