काठमाडौं- विगत साढे तीन दशकदेखि प्राकृतिक चिकित्सा र फिजियोथेरापीको क्षेत्रमा सक्रिय कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले आफ्नो ३४ औँ वार्षिकोत्सव सेवामूलक कार्यक्रमका साथ मनाएको छ।
वार्षिकोत्सवको अवसरमा आइतबार अस्पतालले नि:शुल्क हाडजोर्नी तथा नशा सम्बन्धी स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरी उत्सवलाई मानवीय सेवामा जोडेको हो। उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए भने ६० जनाभन्दा बढी बिरामीले नि:शुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा प्राप्त गरेका छन्।
पछिल्लो समय नसर्ने रोगहरूको प्रकोप बढेसँगै प्राकृतिक उपचार पद्धतिप्रति बिरामीहरूको आकर्षण बढ्दो छ।
अस्पतालका निर्देशक रुपेश अधिकारीका अनुसार एलोपेथिक उपचारबाट निको हुन नसकेका जटिल प्रकृतिका बिरामीहरूका लागि प्राकृतिक चिकित्सा एक 'वरदान' सावित भएको छ। अस्पतालले विशेषगरी नशा च्यापिएको, प्यारालाइसिस, हड्डी खिइएको, डिस्क प्रोल्याप्स, बाथ र यूरिक एसिड जस्ता समस्याहरूको कुनै पनि नकारात्मक असर नपर्ने गरी विभिन्न थेरापी, मसाज र प्राकृतिक विधिमार्फत सफल उपचार गर्दै आएको छ। यहाँ उपचारका लागि आउने बिरामीहरू पूर्ण रूपमा स्वस्थ भएर घर फर्कने गरेको अस्पतालको दाबी छ।
प्रबन्ध निर्देशक हरिशरण रिजालका अनुसार हाल स्पार्कको ओपिडीमा दैनिक करिब दुई सय जना बिरामीहरू सेवाका लागि पुग्ने गर्छन्। तीमध्ये दैनिक औसत ३० जना बिरामीहरू अस्पतालमै भर्ना भएर सघन उपचार सेवा लिइरहेका छन्। ३४ वर्षको यो यात्रामा स्पार्क हेल्थ होमले नेपालमा प्राकृतिक उपचारलाई व्यावसायिक र भरपर्दो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।