डडेल्धुरा- नागरिकस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको पिसिआर मेसिन डडेल्धुरामा जडान गरिएको छ। ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा चन्दा संकलन गरी खरिद गरिएको मेसिन डडेल्धुरामा जडान गरिएको हो।
‘धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वाबका नमुनाहरुको पुनः परीक्षण भइरहेको छ,’ डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले भने, ‘आजदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने छ।’
उनका अनुसार डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इञ्जिनियर सहितको टोलीले पिसिआर मेसिनको गुणस्तर परीक्षण गरिरहेको हो।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज शाहीले मेसिनको भ्यालिडेसन भइरहेको बताए। ‘धनगढीमा परीक्षण गरिएका स्वाबको पुनः परीक्षणपछि डडेल्धुरामा संकलित स्वाब परीक्षण गरिने छ,’ उनले भने, ‘डडेल्धुरामा परीक्षण गरिएका स्वाबको नमुनालाई धनगढीस्थित प्रयोगशाला पुनः परीक्षण गरिने छ।’
उनले आजदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए। पिसिआर मेसिन सञ्चालनमा आएको खबरले अत्यन्त उत्साही भएको ह्युमानिटी फाउन्डेसनका अध्यक्ष श्याम तायलले बताए। उनले भने, ‘आज हाम्रो एउटा मिसन पूरा भएको छ। यसले कोरोना परीक्षणबाट वञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्नेछ।’
पिसिआर मेसिनको अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दा परीक्षणबाट बञ्चित भइरहेका बेला ह्युमानिटी फाउन्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्यमा डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सुरु गरेको थियो।
यो अभियानमा विश्वका विभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूरपश्चिम समाजहरुले साथ दिएका थिए। करिब ९६ लाख रुपैयाँमा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वाबको नमुना परीक्षण गर्ने बताइएको छ। मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउन्डेसनले व्यहोर्ने छ।