फिफा विश्वकप फुटबल प्रतियोगिता नजिकिँदै गर्दा फुटबलप्रेमीहरु खुलेरै आफ्नो पक्षका टिमको समर्थनमा लागिसकेका छन्। चियागफ होस् या अफिस, फुटबलकै चर्चा चुलिएको छ।
विश्वकप फुटबलको चर्चा सर्वत्र चलिरहेको बेला सधैं व्यस्त रहने चिकित्सा क्षेत्रका व्यक्तिहरुमा पनि 'फुटबल फिभर' चढिसकेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालासँग फुटबलबारे निकै रोचक प्रसंग छन्, जुन उनले स्वास्थ्यखबरकी सिर्जना खत्रीलाई यसरी सुनाए :
सानो छँदा साथीहरुसँग मिलेर फुटबल खेल्ने गर्थें। रुचि त औधि लाग्थ्यो, तर फुटबल खेल्न मलाई कहिल्यै पनि आएन। तर, साथीहरुले सधैं मलाई खेल्न जाऔं भन्दै लैजाने गर्थे।
म गोलकिपर थिएँ। तर सधैं गोल खान्थेँ। मेरो टिमले जहिल्यै हार्नुपर्थ्यो। साथीभाइ मिलेर सँगै फुटबल खेल्न हौसिँदै जान्थ्यौं तर फर्कने बेलामा हारेर निराश भएर फर्किन्थ्यौं।
फुटबल खेल्दा थुप्रै गोल त खाएँ नै, साथीहरुको गाली पनि उत्तिकै खाएको छु।
मैले विश्वकप हेर्न थालेको पनि साथीहरुकै कारणले गर्दा हो। डाक्टरको रुपमा काम गर्नुभन्दा अघि त अलि धेरै समय दिएर हेरिन्थ्यो। ड्युटीको व्यस्तता र कामको चापले गर्दा पछि खासै हेर्न पाइनँ। विश्वकप फुटबलका अगाडिका खेल त हेर्दिनँ तर सेमिफाइनलबाट भने समय मिलेसम्म हेर्ने कोसिस गर्छु।
साथीहरुसँग मिलेर हेर्दा निकै रमाइलो हुन्थ्यो। मेरा कोहीकोही साथी त कुनै देश र खेलाडीका अत्यधिक फ्यान थिए। तर म चाहिँ त्यस्तो 'डाइहार्ड फ्यान' भने कहिल्यै भइनँ। त्यही भएर कुनै पनि देश वा खेलाडीको जर्सी लगाएर हिँडिन पनि।
फुटबल भनेको कला देखाउने रमाइलो खेल हो। खेलाडीहरुले आफ्नो कलाबाट विश्वको ध्यान खिच्न सक्षम हुन्छन्। पहिलापहिला मलाई ब्राजिल र जर्मनीको खेल मन पर्थ्यो। राम्रो चलेका र आफ्नो कौशल उत्कृष्ट रुपमा प्रदर्शन गर्न सक्ने खेलाडीको खेल हेर्न मजा लाग्थ्यो। तर, आजकाल कार्यव्यस्तताले गर्दा विश्वकपमा कुन टिमको खेल कहिले हुन्छ भन्ने पनि थाहा हुन छाडेको छ।
फुटबलमा त म कहिल्यै सफल हुन सकिनँ तर टेनिस, ब्याडमिन्टन र गल्फमा भने धेरै मेडल र ट्रफी जितेको छु।