क्षयरोग संसारभरका लाखौं मानिसहरूको स्वास्थ्यमा प्रभाव पार्ने एउटा संक्रामकरोग हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओका) अनुसार, क्षयरोग अझै पनि विश्वका प्रमुख स्वास्थ्य चुनौतीहरूमध्ये एक हो।
यो रोगले प्रायः फोक्सोमा असर गर्छ र लामो समयसम्म उपचार नगरेको खण्डमा यो मृत्युको कारण पनि बन्न सक्छ। पछिल्लो समय क्षयरोगको उपचार र रोकथाममा महत्वपूर्ण प्रगति भएको छ। आज हामी क्षयरोग उपचारका लागि भएका नयाँ विकास र भविष्यमा आउने औषधि तथा खोपको सम्भावनाहरूको बारेमा कुरा गर्न गइरहेका छौं।
नयाँ के छ?
नयाँ औषधिहरू र उपचारका विधिहरू: पहिले क्षयरोगको उपचारमा लामो समयसम्म औषधिहरूको प्रयोग गर्नुपर्ने थियो। यसका लागि दुई देखि चारवटा औषधिहरूको खान आवश्यक पर्थ्यो।
तर अब नयाँ औषधिहरू जस्तै बेडाक्युलिन (bedaquiline) र डेलामेनिड (delamanid)को प्रयोगले क्षयरोगको प्रतिरोधी (ड्रग रेजिस्टेन्ट ट्युबरक्लोसिस) प्रकारहरू जस्तै एमडीआर-टीबी र एक्सडीआर-टीबीहरुको उपचारमा निकै मद्दत गरेको छ।
यी नयाँ औषधिहरूको प्रयोगले उपचारको अवधि छोटो र प्रभावकारी बनाउनुको साथै यसले क्षयरोगको उच्च प्रतिरोधी प्रकारको उपचारलाई सजिलो र छरितो समेत बनाएको छ।
तीव्र निदान प्रविधिहरू
क्षयरोगको पहिचान गर्दा कुनै समय लामो समय लाग्थ्यो र यसमा सही परिणाम प्राप्त गर्न समेत कठिनाइ हुन्थ्यो।
तर अहिले जेनएक्सपर्ट जस्तो प्रविधिहरूको प्रयोगले क्षयरोगको तीव्र र सही निदान गर्न सहयोग पुर्याएको छ। यस प्रणालीको माध्यमबाट मात्र २ घण्टामा परिणाम पाउन सकिन्छ। यसले क्षयरोगको निदानमा समयको बचत र उपचारको प्रभावकारिता बढाएको छ।
डिजिटल स्वास्थ्य र कृत्रिम बुद्धिमत्ता
आजकाल क्षयरोगको व्यवस्थापनमा डिजिटल स्वास्थ्य र कृत्रिम बुद्धिमत्ताका उपकरणहरूको प्रयोग पनि बढ्दो छ।
हाम्रो नेपालमा पनि जापान सरकारको सहयोगमा यस्तो किसिमको कृत्रिम बुद्धिमत्ता सहितको प्रविधिको प्रयोग प्रारम्भिक रुपमा विभिन्न जिल्लाहरूमा समेत गरिएको छ।
एआई प्रविधिको प्रयोग बाट रेडियोलोजिस्ट विशेषज्ञ चिकित्सक नभएको ठाउँमा समेत एक्सरे र सिटी स्क्यानको रिपोर्टिङ गर्नमा क्षयरोग पहिचान गर्न र निदान गर्न चिकित्सकहरू लाई सहयोग प्रदान गर्छ।
मोबाइल एप्लिकेसन उपकरणहरूले बिरामीको उपचारको निगरानी गर्न सक्छन्। बिरामीलाई औषधि लिने समय याद दिलाउन र औषधि सेवनको ट्र्याक राख्न मद्दत गर्न सक्छ।
त्यस्तैगरी,डिजिटल स्वास्थ्य प्रविधिहरूको मद्दतले ठूलो मात्रामा क्षयरोगसँग सम्बन्धित डेटा संकलन र विश्लेषण गर्न सकिन्छ, जसबाट टीबीको संक्रमणको प्रवृत्तिहरू, जोखिम क्षेत्रहरू, र उपचारको प्रभावकारिता पहिचान गर्न सहयोग प्राप्त गर्न सकिन्छ।
यसले क्षयरोगको उपचार प्रभावकारी र बिरामीहरूको लामो समयसम्म निगरानी गर्न पनि सजिलो बनाएको छ।
नयाँ के आउँदै छ?
नयाँ खोप एम७२/एएसओई
हालको बीसीजी खोपको प्रभावकारिता सीमित छ र यसले सबै प्रकारको क्षयरोगको पूर्ण रोकथाम गर्न सक्दैन। त्यसैले वैज्ञानिकहरूले नयाँ खोपहरू विकास गर्ने प्रयासमा छन्। एम७२/एएसओई खोप, जुन हालका फेज ३ क्लिनिकल परीक्षणहरूमा प्रभावकारी देखिएको छ, भविष्यमा क्षयरोगको रोकथाममा ठूलो योगदान पुर्याउन सक्छ। यस खोपले विशेष गरी वयस्कहरूको फोक्सोमा हुने निष्क्रिय क्षयरोगको जोखिम कम गर्न सक्छ ।
जीनोमिक उपचार विधि
क्षयरोगको उपचारमा भविष्यमा जीनोमिक उपचार विधि (Genomic medicine)को महत्त्वपूर्ण भूमिका हुने देखिन्छ। जीनोमिक उपचारको अवधारणा अनुसार, क्षयरोगका बिरामीको र रोगको किटाणुको जीनोमको अध्ययन गरेर प्रत्येक व्यक्तिको लागि छुट्टाछुट्टै प्रभावकारी उपचार योजनाहरू बनाउन सकिन्छ।
साधारणतया, जब कुनै ब्यक्ति क्षयरोगको शिकार हुन्छ, भने उपचारका लागि विभिन्न औषधिहरू दिइन्छ। तर सबैलाई एउटै औषधिले काम गरिरहेको हुँदैन। जीनोमिक उपचारले यस्तो अवस्थामा उपचार गर्न मद्दत पुर्याउँछ किनकि यसले हरेक व्यक्तिको जीनका आधारमा खास औषधि छनोट गर्नमा सहयोग पुर्याउँछ।
यसले उपचारको प्रभावकारिता बढाउनुको साथै औषधिको प्रतिरोध (ड्रग रेजिस्टेन्ट) का समस्याबाट बच्न समेत मद्दत पुर्याउँछ। यसरी, व्यक्तिगत उपचार पद्धति को सुरुवात गर्न सकिन्छ जसले रोगलाई अधिक प्रभावकारी तरिकाले रोक्न , समाप्त गर्न र उपचार गर्न मद्दत पुर्याउने छ।
यसले विशेष गरी प्रतिरोधी(ड्रग रेजिस्टेन्ट ) क्षयरोगको उपचारमा सुधार ल्याउन सक्छ।
क्षयरोग एक पुरानो रोग भए तापनि यसको नियन्त्रणमा धेरै चुनौतीहरू छन्, हालका नयाँ औषधिहरू, खोप र आर्टिफिसियल इन्टलिजेन्स सहितको डिजिटल प्रविधिहरूले यसको उपचार र रोकथाममा ठूलो सुधार ल्याएको छ। नयाँ औषधिहरू, तिव्र निदानका प्रविधिहरू, र डिजिटल उपकरण तथा कृत्रिम बुद्धिमत्ताले क्षयरोगको उपचारलाई छिटो र प्रभावकारी बनाएका छ।
भविष्यमा, नयाँ खोप र जीनोमिक उपचार पद्धति जस्ता नयाँ प्रविधिहरूले क्षयरोग विरुद्धको लडाईमा यस रोगको अन्त्य गर्नमा नयाँ आशा र उत्साहको साथ महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
(झा मेथिनकोट अस्पतालका सिनियर कन्सल्टेन्ट मेडिकल जनरलिस्ट हुन्)