क्षयरोग अर्थात् टीबी मुख्यगरी फोक्सोमा लाग्ने रोग हो। तर यो शरीरका जुनसुकै अंगमा पनि हुन सक्छ। टीबीका जीवाणु सबै मानिसको शरीरमा हुन्छ। तर जुन मानिसको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ, उनीहरुमा टीबी देखिने सम्भावना बढी हुन्छ। जीवनशैली तथा खानपानमा गडबडी भयो भने नराम्रो जीवाणुले शरीरका राम्रा जीवाणुलाई पराजित गर्छन् र रोग देखिन्छ। क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुका कारण लाग्ने रोग हो।
लक्षण तथा रोग पहिचान
बिरामीलाई साँझपख ज्वरो आउने, पसिना बढी आउने, खाना नरुच्ने, तौल घट्ने, र लामो समयसम्म खोकी लाग्नेजस्ता लक्षण देखिन्छन्। यसका साथै सामान्य खालका औषधिले पनि यी समस्यामा काम नगर्ने हुन्छ।
बिरामीसँग सँगै बस्दा, खोक्दा, हाँछ्यु गर्दा, जहाँ पायो त्यही थुक्दा क्षयरोगका जीवाणु हावाका माध्यमबाट स्वस्थ व्यक्तिमा प्रवेश गर्न सक्छन्।
क्षयरोग पहिचानका लागि विभिन्न खालका परीक्षण उपलब्ध छन्। पहिलो र आधारभूत विधि हो छातीको एक्स–रे। यसबाट टीबी भए–नभएको पत्ता लगाउन सकिन्छ। यस्तै, दुई दिनको खकार जाँच गरिन्छ, जसका लागि ‘जिन एक्सपर्ट’ विधि अपनाइन्छ। यो विधि सरकारी संस्थाहरुमा निःशुल्क उपलब्ध छ। छातीबाहेक अन्य अंगमा भएको टीबी पत्ता लगाउने उपयुक्त विधि पनि जिन एक्सपर्ट नै हो।
यस्तै, खकार नै नआउने बिरामीका लागि ब्रोङकोस्कोपी विधिमार्फत् पहिचान गरिन्छ, जसमा मेसिनमार्फत् फोक्सोबाट खकार झिकेर जिन एक्सपर्टका लागि पठाइन्छ। अर्को विधि ‘टीबी इग्रा पीसीआर’ हो। यस्तै, मन्टोक्स टेस्टबाट पनि टीबी पहिचान गरिन्छ। जसअनुसार ७२ घण्टाको स्कीन प्रिक टेस्ट गरिन्छ। कहिलेकाही अरु रिपोर्टमा टीबी नदेखिँदा यो टेस्टमा देखिन्छ।
यसबाहेक निमोनिया लागेका बिरामीलाई टीबी परीक्षण पनि गर्नुपर्छ। कहिलेकाही त्यस्तो संक्रमण टीबीका कारण पनि भएको हुनसक्ने भएकाले टीबी परीक्षण गर्नुपर्छ।
कस्ता औषधि खानुपर्छ?
परीक्षणबाट टीबी हो भन्ने यकिन भइसकेपछि बिरामीलाई प्रेस्क्रिप्सनसहित सरकारी स्वास्थ्य संस्थामा पठाइन्छ, जहाँ औषधि र सेवा निःशुल्क उपलब्ध छन्। सरकारी स्वास्थ्य संस्थामा बिरामीको दर्ता हुने भएकाले पछि वार्षिक तथ्यांक निकाल्न पनि सरकारलाई सजिलो हुन्छ।
टीबीको औषधिको डोज बिरामीको तौलअनुसार फरक हुन्छ। एक पटकमा खानका लागि एक चक्कीदेखि बढीमा ५ चक्कीसम्म दिइन्छ। सुरुका दुई महिना चार वटा औषधिको कम्पोजिसन हुन्छ। औषधि खुवाउने पनि विभिन्न फेज हुन्छन्। पहिलो २ महिनालाई इन्टेन्सिभ फेज भनिन्छ, त्यसपछि चार महिना या ६ महिना भन्ने कुरा बिरामीमा कुन अंगको टीबी छ, त्यसमा भरपर्छ। सामान्यतः छातीको टीबीका लागि ६ महिनाको डोज हुन्छ भने कसै–कसैलाई ८ देखि ९ महिनासम्म दिनुपर्ने हुन्छ। हड्डीको टीबी छ भने डेढ वर्ष र न्युरो टीबी छ भने एक वर्षभन्दा बढी नै औषधि खानुपर्ने हुनछ।
स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी (डट्स) किन आवश्यक हुन्छ?
क्षयरोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी (डट्स) मा सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त हुने औषधि सेवन गर्नुपर्छ। औषधि खाएपछि बिरामीलाई जण्डिस हुने, युरिक एसिड बढ्ने, वाकवाक लाग्ने, बान्ता हुने, खाना अरुचि हुने जस्ता समस्या देखिन सक्छन्। यस्तै, कसै–कसैलाई कान नसुन्ने तथा छालाको एलर्जीको समस्या पनि हुनसक्छ।
औषधि खाएपछि देखिन सक्ने यस्ता समस्या निदानका लागि औषधि चलाइन्छ। जस्तो, जण्डिस देखिएपछि जण्डिसको औषधि चलाइन्छ। यस्तो अवस्थामा टीबीको औषधि नै स्थगन गर्नुपर्ने या औषधि नै परिवर्तन गर्नुपर्ने हुनसक्छ। यहीकारण स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खानुपर्छ भनिएको हो।
किन विकास भइरहेछ एमडीआर अर्थात् औषधिले काम नगर्ने अवस्था?
विश्वभर नै क्षयरोगका बिरामीमा मल्टी ड्रग रेजिस्टेन्स अर्थात् एमडीआर विकास भइरहेको पाइन्छ। यो भनेको औषधिले काम नगर्ने अवस्था हो।
कतिपय बिरामीले आफूलाई निको भएको महसुस गरेपछि बीचैमा औषधि छाडिदिन्छन्। यसरी औषधि छाडेपछि एमडीआर विकास हुन्छ। यस्तो अवस्थामा फेरि त्यही औषधि खान मिल्दैन। एमडीआरमा गइसकेपछि परीक्षण र उपचार अलग्गै हुन्छ। स्वास्थ्यकर्मीको निगरानीविना औषधि खाँदा बिरामी तथा डाक्टर दुवैलाई दुःख हुन सकछ।
एमडीआर बढ्नुको कारण बिरामीलाई राम्रोसँग परामर्श नदिइनु तथा चेतना अभाव प्रमुख कारण मानिन्छ। नेपालमा भने स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खाने प्रक्रियालाई अनिवार्य बनाइएको छ, जुन क्षयरोगको उपचार प्रक्रियामा सकारात्मक हो।
एमडीआर भएपछि शरीरका अन्य अंगलाई पनि हानी हुने जोखिम हुन्छ। जस्तो छातीको टीबीले मिर्गौला, कलेजो, मष्तिष्क, हड्डीलाई असर गर्न सक्छ र मल्टी अर्गान फेलिएर हुने जोखिम रहन्छ। त्यसैले यो स्थिति आउनै नदिन स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि लिनुपर्छ। क्षयरोगको औषधिको साथसाथै रोगप्रतिरोधी क्षमता बढाउन पोषिलो खानेकुरा खाने, गेडागुडीको रस, दूध, फूल तथा मौसमअनुसारका फलफूल खानुपर्छ।
८ दशकदेखिको प्रयास, अझै घटेनन् बिरामी
नेपालमा क्षयरोगको उपचारका लागि सन् १९३० को दशकदेखि नै पहल थालिएको हो। काठमाडौंको टोखामा पहिलो पटक केन्द्र सुरु गरिएकोमा सन् १९५१ मा केन्द्रीय छाती क्लिनिक सुरु गरियो भने अभियानका रुपमा सन् १९६५ मा क्षयरोग नियन्त्रण कार्यक्रम थालियो।
पूर्ण रुपमा औषधि खाएपछि क्षयरोग निको हुन्छ। तर, अझै बर्सेनि ६८ हजार नयाँ बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ। जसको मुख्य कारण बिरामीमा आवश्यक मात्रामा शिक्षा तथा जनचेतनाको अभाव र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि नलिनु नै मुख्य कारण हो।
यस्तै, नेपालमा अझै टीबीलाई सामान्य रुपमा लिने चलन छ। खोकी लाग्दा, ज्वरो आउँदा, सास फेर्न गारो हुँदा पनि टीबी हुन सक्छ भनेर सोच्ने र डाक्टरकहाँ जाने चलन छैन, जसका कारण पनि क्षयरोगको समस्या बर्सेनि बढिरहेको छ। त्यसैले टीबी रोगसँग मिल्दोजुल्दो लक्षण देखिए चिकित्सकसँग परामर्श लिनुपर्छ।
(डा गुप्ता नर्भिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा चेस्ट फिजिसियन हुनुहुन्छ।)