चितवन– भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमएसी) बालरोगको उपचारका लागि रिफरल सेन्टर बन्न थालेको छ। कलेजले बालरोगलाई प्राथमिकतामा राखेर उपकरण, भौतिक संरचना र जनशक्तिको जोहो गरेपछि बालरोगको विशेषज्ञ सेवाका लागि काठमाडौं रिफर हुने क्रममा न्युनता आएको छ।
चितवन वरीपरिका जिल्लाबाट सीएमएसीमा रिफर हुने क्रम बढ्दो छ। अहिले गोर्खा, मकवानपुर, लमजुङ, तनहुँ र भरतपुरका अन्य सेन्टरबाट रिफर भएर आउने बिरामीको संख्या बढी छ। पूर्वपश्चिम राजमार्गको केन्द्रमा रहेको अस्पतालमा देशका अन्य भागबाट आएका बिरामी समेत छन्।
बालबालिकाको स्वास्थ्यलाई केन्द्रमा राखेर सेवा दिने अस्पतालको योजनाले पूर्णता पाउँदै गएको छ। बालरोग विशेषज्ञ, बालरोग शल्यचिकित्सक, बाल एनेस्थेसियोलिजिस्ट, बाल मुटुरोग विशेषज्ञ, बाल हाडजोर्नी विशेषज्ञलगायतको टिम अहिले अस्पतालमा रहेको सूचना अधिकारी पारस अधिकारी बताउँछन्। अस्पतालमा बालरोगमै केन्द्रीत उपचारमा सक्रिय रहनेमा डा अजितकुमार मिश्र (पेडियाट्रिक कार्डियोलोजी), डा प्रवेश कुमार ज्ञवाली (पेडियाट्रिक एनेस्थेसियोलोजी), डा अनिल आचार्य (कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी), डा प्रकृति गिरि (पेडियाट्रिक सर्जरी एन्ड पेडियाट्रिक युरोलोजी), डा स्वेच्छा अधिकारी (पेडियाट्रिक फिजिसियन), डा सौगात केसी (पेडियाट्रिक अर्थोपेडिक्स), डा विराज पराजुली (पेडियाट्रिक इन्टेन्सिभिस्ट) रहेका छन्।
अस्पतालको पेडियाट्रिक वार्डमा १८ बेड छन्। पेडियाट्रिक आइसियुमा १५ बेडमा ५ भेन्टिलेटरसहित र नियोनेटल आइसियुमा २० बेडमा ३ भेन्टिलेटरसहित सुविधा रहेको अस्पतालले जनाएको छ। नर्सरी युनिट १२ बेड, पेडियाट्रिक सर्जरी युनिट ८ बेडको रहेका छन्।
२०६५ सालमै पेडियाट्रिक ओपीडी सुरु गरेको अस्पतालमा अहिले वार्षिक ४०० जना भन्दा बढी बालबालिलाई मेजर शल्यक्रिया सेवा नै दिइरहेको सूचना अधिकारी पारस अधिकारी बताउँछन्।

रिफरल सेन्टरका रुपमा स्थापित
अस्पतालले बालरोगमा टिम बनाइनसक्दा प्राय: बालबालिका उपचारका लागि काठमाडौं जाने संस्कृति जस्तै रहेको अस्पतालका पेडियाट्रिक इन्टेन्सिभिस्ट डा विराज पराजुली बताउँछन्। अहिले रिफर गर्ने कार्य बन्द भएको उनले बताए। तर, थप गुणस्तरीय उपचारको अपेक्षामा चितवनका काठमाडौं, काठमाडौंका दिल्ली र दिल्लीका बिरामी बैंकक जाने प्रक्रिया स्वभाविक रहेको उनले बताए।
पेडियाट्रिक कार्डियोलोजिस्ट डा अजितकुमार मिश्रका अनुसार अहिले बिरामीका आफन्तले काठमाडौंमा बुझेर समेत यहीँ उपचार गर्ने क्रम बढ्दो छ। डा मिश्रका अनुसार कतिको समस्या निदान गरेर उपचार गर्दा समेत 'काठमाडौं बाहिरलाई पत्याउने' बानी हुँदैन। त्यस्ता थुप्रै केस उनले फलोअपमा भेटेका छन्। उनले भने, 'यहीँ इको गरियो, समस्या देखिन्छ। औषधि खानु, समय आएपछि थप उपचार गरौंला भनेर पठाउँछौं। १२ बजे हामीले यहाँ त्यस्तो भन्छौं तर दिउसो २ बजे गंगालालमा लाइन लागेको हुन्छ। त्यहाँ गएपछि चितवनका डा'साबले ठिकै सल्लाह दिनुभएको हो भन्नहुन्छ । त्यसपछि फलोअपमा यहीँ आउनुहुन्छ।'
यसले अस्पताल र आफूहरुले दिएको सेवाप्रति भरोसा बढाएको उनी बताउँछन्। उनी भन्छन्, 'हामी बिरामीको अवस्था बताउँछौं। बिरामी गम्भीर हुन्छ । उहाँहरु काठमाडौंमा पनि बुझ्नुहुन्छ। त्यसपछि फेरि यहीँ गराउनुहुन्छ। हाम्रो तर्फबाट रिफर शून्य छ। उपचारपछि थप विशेषज्ञ सेवाका लागि अन्यलाई देखाउन भनेरचाहिँ भन्छौं।'

जटिल समस्याको समाधान
अस्पतालले चितवन र आसपासबाट बालरोगमा विशेषज्ञ सेवाका लागि काठमाडौं जानैपर्ने बाध्यताको अन्त्य मात्रै गरेको छैन, जटिल आकस्मिक अवस्थालाई समेत त्यहीँ ब्यवस्थापन गरेको छ। अस्पताल बाल एनेस्थेसियोलोजिस्ट डा प्रवेश कुमार ज्ञवालीका अनुसार केही समयअघि भरतपुर अस्पतालमा आएकी एक गर्भवती महिलाको पेटमा रहेको बच्चाको जन्मजात आन्द्रा बाहिर निस्किएको थियो। अस्पतालले सीएससीमा रिफर गर्यो ।
'ती महिलाको सीएमसीमा डेलिभरी यहीँ गरियो । ४५ मिनटमा हामीले यहाँ अप्रेसन गर्यौंर। त्यो तहको बच्चालाई बेहोस गर्न विशेष सीप चाहिन्छ । पेडियाट्रिक एनेस्थेसिया पढेको र काम गरेको अनुभवबाट हामीले उनलाई जोगायौं,' उनले भने। पाँच वर्ष शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र एनेस्थेसियोलोजिस्टाका रुपमा पाँच वर्ष काम गरेका उनले त्यसपछि पेडियाट्रिक एनेस्थेसिया पढेका हुन्।
सर्जन डा प्रकृति गिरिका अनुसार यस्तो अवुथामा आन्द्रा जति बाहिर एक्सपोज भयो त्यति नै चिसो भएर जान्छ। बच्चा जन्माएर काठमाडौं लैजानुपर्ने अवस्था आएको भए नतिजा अप्रिय पनि आउन सक्थ्यो। तर, अस्पतालले सेवा सुरु गरेका कारण जोगाउन सकिएको बताउँछिन्।
अस्पतालले पछिल्लो यस्ता धेरै बिरामीको उपचार गरेको छ। जो भरतपुर आसपासका अस्पताल तथा जिल्लाबाट रिफर गरिएका छन्। केही समयअघि डा अनिल आचार्यको नेतृत्वमा मुटुको प्वाल टाल्ने उपचार सेवा यही सेन्टरबाट दिइएको डा मिश्र सम्झिन्छन्। 'छाति नचिरी मुटुको प्वाल बन्द गर्ने जनशक्ति र उपचार प्रणाली हामीसँग छ। हाम्रो टिम ठूलो र होलिस्टिक छ। सघन उपचारदेखि जटिल अप्रेसनसम्म गर्न सकिन्छ। गर्दै गइरहेका छौं। अहिलेसम्मको काम उत्साहजनक छ।'
सरकारको केन्द्रीकृत मानसिकताका अप्ठ्यारा
चिकित्सकहरु आफैं काठमाडौं उपत्यकाबाहिर पनि सेवा जरुरी रहेको महशुस गर्न थालेका छन्। जसले गर्दा काठमाडौंबाहिरका धेरै सहरमा विशेषज्ञ चिकित्सक उपलब्ध हुन थालेका छन्। सरकार आफैं भने अलमिलरहेको महशुस काठमाडौं बाहिर काम गर्ने यी चिकित्सकहरुको रहेको छ।
बालरोगकै कुरा गर्दा सरकारले जन्मजात मुटुको समस्या रहेका बालबालिकाको नि:शुल्क उपचार सेवा काठमाडौंकेन्द्रीत गरेको छ । गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मात्रै उक्त सहुलियत दिँदा बाहिरका बिरामीले दु:ख मात्र पाइरहेका छैनन्, ज्यान नै तलमाथसि हुने अवस्था छ।
पेडियाट्रिक इन्टेन्सिभिस्ट डा विराज पराजुली यही कारणले केही समयअघि मात्रै भरतपुरको एउटा बच्चा गुमाइएको बताउँछन्। उनले सम्झिए, 'बच्चा जन्मिदाखेरि नै निलो भएको थियो। भरतपुर अस्पतालबाट काठमाडौं पठाइएको रहेछ । मुटुको समस्या थियो । उमेरसँगै समस्या बढ्दै जाने हुन्छ। दुई वर्षको उमेर भएको थियो । सर्जरी गर्न जाने तर त्यहीबेला अर्को कुनै समस्या हुने गरेछ । अर्को उपचारमा पैसा सकिएर फर्किने गर्दा रहेछ । चारपाँच पटकसम्म गंगालाल पुगेर फर्किने गर्दागर्दै ती बच्चाको ज्यान गएछ।'
उनका अनुसार वर्षमा ८ हजार यस्ता बच्चाहरु मुटुको सर्जरी गर्नुपर्ने हुन्छ । उनको प्रश्न छ- गंगालालमा सरदर ५ सय बच्चाको सर्जरी हुँदा बाँकीको अवस्था के हुन्छ?
बालरोग विशेषज्ञ बनेपछि काठमाडौंमै डेढ वर्ष काम गरेकी डा स्वेच्छा अधिकारी उपत्यका बाहिरबाट जाँच कान्तिलगायत भनेर पठाइन्छन्। 'तर, कान्ति अस्पतालले लोड धान्न सक्दैन। त्यसपछि फेरि आफ्नै नजिक भएको सेन्टर बराबर समेत सेवा नभएको निजी अस्पताल समेत पुगेर दु:ख पाएको देखिएको छ,' उनले अनुभव सुनाइन्, 'यो सेन्टरमा पूर्वपश्चिमबाट काठमाडौं जाने आएकाहरु पनि बिचमै गाह्रो भएर यहाँ पुगेका छन्। हामीले उहाँहरुलाइ निको बनाएर पठाएका छौं।'

चितवनमा सन्तुष्ट काठमाडौंका चिकित्सक
अस्पतालमा कार्यरत अधिकांससँग काठमाडौंका नाम चलेका अस्पतालमा काम गरेको अनुभव हासिल गरेको अनुभव छ। विशेषज्ञ सेवा उपत्यका बाहिर पनि विस्तार हुँदै जानुपर्ने भावना र आफ्नो दक्षताको पूर्ण प्रयोग गर्न सकिने सम्भावना देखेर चितवन आइपुगेको उनीहरु बताउँछन्। पेडियाट्रिक सर्जन डा प्रकृति गिरि आफू चितवनमा सेवा दिइरहँदा निकै सन्तुष्ट रहेको बताउँछिन्। उनले भनिन्, 'बिरामी रोक्न पाएकोमा सन्तुष्टि छ । सेवा दिन पाएकोमा सन्तुष्ट छौं। चितवन र आसपासका लागि बाल रोगको उपचार सेवा यो तहमा पुर्यािउन सकिएकोमा सन्तुष्ट छौं।'
मेडिकल कलेजमै कार्यरत पेडियाट्रिक फिजिसियन डा स्वेच्छा अधिकारी टिमवर्कका कारण राम्रो नतिजा आइरहेको बताउँछिन्। एक विशेषज्ञका रुपमा अभाव भएको ठाउँमा आफ्नो उपस्थितिले फरक पारेको महशुस बालरोग विभागका सबैलाई रहेको बताइन्। उनले थपिन्, 'काठमाडौंमा धेरैजना हुनुहुन्छ। कतिपय अवस्थामा आफूले जानेको सबै सीपको प्रयोग गर्न पाइँदैन। मेडिकल कलेजमा नयाँ कुरा सिक्ने सिकाउने जारी रहन्छ। त्यसले गर्दा पनि यहाँ सेवा दिँदा खुशी छौं।'
पेडियाट्रिक एनेस्थेसियोलोजिस्ट डा प्रवेश कुमार ज्ञवाली चितवनमा काम गर्दा अनेक लाभ रहेको बताउँछन्। केहीदिनअघि सौराह घुम्न जाँदाको क्षण सम्झिदै भन्छन्, 'दिनभर काम गरेर बेलुकीपख साइड सिनका लागि सौराह गएको थिएँ। एउटा बच्चाले गम्लङ्ग अंगालो हाल्यो। पछि थाहा भयो, हामीले उपचार गरेका रहेछौं। यहाँ यस्ता पुरस्कारहरु पाइन्छन्।'
-1743312368.jpg)
उपत्यका बाहिरको सेवामा समर्पण
कलेजका अध्यक्ष तथा निर्देशक डा हरिश न्यौपाने उपत्यका बाहिर सेवा विस्तारका लागि आफू चितवन पुगेको बताउँछन्। त्यतिबेला काठमाडौंमा अग्रपंतिमा नाम आउने समूह मिलेर चितवनमा मेडिकल कलेज खोल्नुको उद्देश्य चिकित्सा सेवा र शिक्षा विस्तार गर्ने रहेको बताए।
उपत्यका बाहिर सेवा विस्तार गर्ने क्रमकै उपक्रम बालरोग विभाग बलियो बनाउनु रहेको बताए। उनले भने, 'अस्पताल सुरु गर्दा १८ बेड एनआईसीयु सुरु गरेको हो। नेपालभरीमा थिएन। १८ वटा बेड भरिन्थ्यो। पेडियाट्रिक आइसीयु १७ बेडको थियो। सबै चल्यो।' बच्चा निको भएपछि बचाइदिएकोमा अभिभावकले प्रकट गर्ने कृतज्ञताले आफूलाई प्रोत्साहित गरेको बताउँछन्।
आफूले चिकित्सक छान्दा स्किल र एट्टिट्युड दुवैलाई ख्याल गर्ने बताए। उनले थपे, 'हामीलाई त अझ स्किल भन्दा एट्टिट्युड राम्रो चाहिँदो रहेछ। हामीसँग भएका जनशक्ति दुवैकुरा राम्रो भएका छन्।'
कतिपय सेवामा डाक्टर आएपछि बिरामी आएको र कतिपयमा बिरामी आएपछि डाक्टर ल्याउनुपरेको उल्लेख गरे। उनले भरोसा दिलाए, 'बच्चाको उपचारका लागि अब काठमाडौंबाट चितवन आएपनि हुन्छ। त्यो तहको म्यानपावर, प्रविधि र टिम हामीसँग छ। हामीसँग भएकाहरु यहाँ पूरा समय बस्छन्। उनीहरु फ्याकल्टी हुन्, यहीँ भेटिन्छन्।'