यो वर्षको युएसएमएलई म्याचिङको नतिजा आयो ! पुनः सामाजिक सन्जालमा साथीभाइहरुका हर्षहरु छताछुल्ल भएको देख्न सकिन्छ। मेहनेतले प्रतिफल दिएको देख्न पाइन्छ। मार्च १७ को दिनले धेरै जनाको धैर्यता र परिश्रमले रङ ल्याउन सफल भएको देखिन्छ। कठिन परिश्रम र पढाइले आफूलाई विश्वसामु अब्बल सावित गर्ने ती सबै चिकित्सकहरुलाई मुरी-मुरी बधाइ दिनैपर्छ। अमेरिकामा रेजिडेन्सी म्याचिङको नतिजा आएको दिन हो यो। यो नतिजासँगै धेरै अब्बल चिकित्सकहरु आफ्नो सपना पूरा गर्न अमेरिकाको लागि प्रस्थान गर्नेछन्। जसको पक्षमा विपक्षमा विचारहरु पनि सँगै देख्न सकिन्छ सामाजिक सञ्जालमा।
मनुष्य मनले खुशी खोज्छ । आफ्नो मिहिनेतको प्रतिफल खोज्छ । आफ्नो परिश्रमको लगानीको नतिजा खोज्छ। आफूले गरेको परिश्रमको परिणाम सबैले धन, प्रतिष्ठामा खोज्नु स्वभाविक नै हो। अहिले पनि आएर माटोको माया, देशको माया, देशप्रतिको ऋण, स्वाभिमानजस्ता आदर्शले व्यक्तिको मन थाम्न सक्दैन। कुनै प्रेरणा विना कोही व्यक्ति सदैव एउटै स्थानमा बस्छ भनेर परिकल्पना गर्न यो कुनै सत्ययुग होइन। आदर्शका शब्दहरु बाहेक धेरै कुरा हाम्रो नेतृत्वले अरु विकल्प दिन सक्दैनन् । यतिका वर्ष पढाएर अर्को देशको सेवा गर्न जानुलाई राष्ट्रप्रतिको निष्ठुरीपन सम्झिन्छन्। लोकतन्त्रको विचार परिमार्जन गर्ने, त्यसकै वकालत गर्ने तर व्यक्तिको स्वनिर्णय र स्वतन्त्रतामाथि प्रश्न उठाउनु कत्ति शोभा दिँदैन। नीति निर्माणमा संलग्न राज्यका अंगहरुले आत्मआलोचना गरेर दक्ष चिकित्सकलाई देशमै बस्ने र रोज्ने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने तर्फ उर्जा खर्च गर्नु उत्तम हुन्छ।
समाजमा चिकित्सा पेशालाई सम्मानित पेशाको रुपमा लिइन्थ्यो । र अचेल त्यसप्रतिको सम्मानमा ह्रास आएपनि बुझ्ने सकारात्मक व्यक्तिहरुले राम्रै सम्मान पनि गर्छन्। तर समय समयमा घट्ने भौतिक तथा मानसिक आक्रमणका घटनाहरुले चिकित्सकको स्वाभिमानमा पनि ठेस पुर्या इरहेको देखिन्छ । सामाजिक सञ्जालमा नकारात्मकता निकै व्याप्त देखिन्छ। आधा अंश र अर्धसत्य भिडियो राखेर अस्पताल र चिकित्सकको कमजोरी देखाउन निकै खप्पिस हुन्छन्, युट्युब र मिडियाजगत्।
नकारात्मक कुराको प्रचार छिटो हुन्छ। त्यस भिडियो र समाचारको मुनि प्रतिक्रियामा त लापरबाही बाहेक केही देख्नै सकिन्न। ती गाली गलौज सुन्ने निर्दोष मनहरु कुन्ठित हुन्छन् नै। पूर्ण सत्य खोजबिन गर्ने संस्कार पनि छैन। कतिसम्म नकारात्मक सोचको विकास भएको है!
चिकित्सा विषय अध्ययन गर्न वास्तवमै चुनौतीपूर्ण छ। ६ वर्ष पढेर एउटा स्नातकसरहको डिग्री प्राप्त हुन्छ। यो पढेर केही समय मेडिकल अफिसरको रुपमा काम गर्ने गर्छन्। त्यो समयमा यहाँ देखिने परिश्रमको अवमूल्यन र सामाजिक प्रतिष्ठामा आँच आउने सबै घटनाहरुले विक्षिप्त बनाउँछ। र, यात्रा सुरु हुन्छ अमेरिकातर्फ। न तलब सुविधा राम्रो छ, न सजिलै जागिरको अवसर छ। न जनताले भवितव्य घटनामा पनि पिट्न छोड्दैनन्, न आउँदा वर्षहरुमा पनि अवसरको सम्भावना देखिन्छ। अधिकांश चिकित्सकको तलबको नाममा ४० हजारदेखि ६० हजारसम्म ६ भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ।
त्यसलाई पनि धेरै मान्नेहरुले दिनभर इट्टा बोक्नेको कमाइ भन्दा त बढी रहेछ भनेर तुलना गर्छन्। प्रेरणा र प्रोत्साहनले चल्ने मनुष्य मस्तिष्कलाई धेरै आदर्शवान बनाउने प्रयास गर्नु नै सबैको भूल हो।
एमबीबीएस पढेपछि एमडी गर्नुपर्ने हुन्छ। त्यसको पनि आफ्नै व्यथा छन्। त्यसपछि डीएम गर्नुपर्ने हुन्छ। त्यसका पनि थप व्यथा छन्। पढेर सकेपछि पनि ठाउँ त्यही हो समाज त्यही हो राज्य उही हो। तलब सुविधामा धेरै उन्नति केही हुँदैन। पढ्ने बेलामा त सरकारी चिकित्सकको तलबको त सुनिश्चितता गर्न नसक्ने नियमकानून छन् यहाँ! क्लिनिक आदिमा काम गर्दा सबैतिर समान आय हुँदैन। दुई चारजना नाम चलेका चिकित्सकहरुलाई भ्याइ-नभ्याइ हुन्छ। अरुलाई सङ्घर्ष नै हुन्छ।
१२ वर्षको चिकित्सा विषयमा उत्तीर्ण गरेर लाइसेन्स पास गरेपछि पनि आफ्नो नाम स्थापित गर्नुपर्ने कस्तो सङ्घर्ष होला। यहाँ सरकारी चिकित्सकदेखि निजि काम गर्ने चिकित्सकको मनमा एउटा प्रश्न त पक्कै आउँछ- कहिलेदेखि आफू विशुद्ध तनावरहित चिकित्सक हुन पाइन्छ होला? यहाँ एक चिकित्सकले चिकित्सा बाहेक राजनीति, नेता, मिडिया आदि सबैतिर सम्बन्ध बनाउनु पर्ने देखिन्छ । नेताको नजिक नभए पोस्टिङ मिल्दैन। मिडियाको नजिक नभए अफवाह फैलिन्छ। टाठोबाठो नभए प्रचार हुँदैन।
यी सबै तनावहरुबाट मुक्ति पाउन सफल सम्पूर्ण अमेरिकाको स्नातकोत्तर विषयमा म्याचिङ भएका चिकित्सकहरुलाई बधाइ दिनुपर्छ। स्वनिर्णयको अधिकारलाई सम्मान गर्नुपर्छ। धेरै आदर्शका वाणीहरुले उनीहरुको मिहिनेतलाई ठेस पुर्याउन पाइँदैन। आफ्नै देश रोजेर वा परेर चिकित्सा विषयबाहेकका सङ्घर्ष पनि गर्छु भन्नेहरुलाई पनि सम्मान गर्नैपर्छ। हिम्मतलाई मान्नैपर्छ।