स्वास्थ्य बीमा कार्यक्रम नेपाल सरकारद्वारा उच्च प्राथमिकता दिई संचालन गरिएको सामाजिक सुरक्षाको एक महत्वपुर्ण कार्यक्रम हो। गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिबृद्वी गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ।
करिव ३० महिना स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय रुकुम पश्चिमको जिल्ला संयोजकको जिम्मेवारीमा रहँदा अनुभुति गरिएका पक्षहरुलाई नजिकबाट नियाल्दा वास्तवमै सकारात्मक भविष्यलाई वर्तमानको कालो बादलले छोपिएको आभास भइराख्यो। त्यसैले पनि विषय सम्बन्धीत कौतुहलताहरुलाई भावना मार्फत प्रस्तुत गर्ने प्रयास गरेको छु।
• स्वास्थ्य बीमा कार्यक्रमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत महाशाखा स्थापना गरी संचालन गरिनुपर्छ र स्थायी संरचनाको विकास गरियो भने श्रोत, साधनको उपलब्धतामा सहजता प्रदान हुन्छ।
• बिमित परिवारको विवरण डिजिटल प्रणालीमा आधारित, कार्ड रहित बनाउन सकियो भने दोहोरो सदस्यता हुने क्रम रोकिन्छ र अर्काको परिचय पत्रको दुरुपयोग हुने कार्य बन्द हुन्छ।
• नेपाल सरकारद्वारा नि:शुल्क प्रदान गरिने सेवाहरुलाई एकद्वार प्रणालीको रुपमा स्वास्थ्य बीमा कार्यक्रममा समेटिनु आबश्यक छ। जसले गर्दा उपचार पद्वतिमा सहजता र सेवाग्राहीहरुको औषधि र सेवा नपाएको गुनासोको सम्बोधन केहि हदसम्म कम हुन्छ।
• सेवा प्रदायक संस्थामा स्वास्थ्य बीमा कार्यक्रमको इकाई स्थापना र जनशक्ति व्यवस्थापन हुन् आवश्यक छ।
• स्वास्थ्य बीमा कार्यक्रममा आवद्व सदस्यले जुनसुकै अवस्थामा पनि सेवा प्राप्त गर्ने, सेवा प्राप्त गरेका व्यक्तिको उपचार पद्वति, विवरण आवश्यकता अनुसार सजिलै जानकारी प्राप्त गर्न सक्ने, उपचार पद्वतिको औचित्यपूर्ण स्पष्टता र सेवाग्राहीले पूर्ण विश्वसनीय हुने गरी सेवा, रोग, औषधि, परिक्षण र खर्च भएको रकमको बारेमा जानकारी पाउने प्रणालीको बिकास हुन् आवश्यक छ। जसले गर्दा अनावश्यक उपचार, परिक्षण, औषधिको दुरुपयोग हुन् पाउदैन साथै सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई दुरुपयोग गर्नबाट धेरै हदसम्म कम गर्न सकिन्छ।
• प्रत्येक वडामा कार्यरत दर्ता सहयोगीहरुलाई सुचना प्रविधि मैत्री दक्ष जनशक्तिका रुपमा परिचालन गरिनुपर्छ साथै दर्ता सहयोगीहरुले पाउने प्रोत्साहन रकम प्रत्येक महिनामा प्राप्त गर्ने व्यवस्था गर्न सकियो भने योगदान रकम प्रत्येक महिना प्राप्त हुन् आउछ र ३/३ महिनाको एकमुष्ट रकममा हुने झन्झटिलोपना हट्छ। बिमितले दिने योगदान रकम बुझाएको मिति प्रणालीमा प्रविष्ट हुने र उक्त रकम १/२ दिनमै जम्मा गरिनुपर्ने ब्यबस्था गर्नु पर्ने हुन्छ।
• सेवा प्रदायक संस्थाले दाबी भुक्तानी गरेको विवरण अटो जेनेरेट हुने जस्तो उपचार पद्वति,औषधि, औषधिजन्य सामग्रीको उपयोग, परीक्षण आदि स्वाचालित प्रतिवेदनको रुपमा सम्बन्धीत बिरामीको बीमा नम्बरमा प्रविष्ट हुने र दाबी रकम ३ दिन भित्र सेवा प्रदायकको नाममा भुक्तानी हुने प्रणालीको विकास हुनपर्छ।
• औषधि र औषधिजन्य सामग्रीहरुको व्यवस्थापन स्वास्थ्य बीमा कार्यक्रम मार्फत व्यवस्थापन गर्ने जसले गर्दा पर्दा पछाडिबाट हुने अस्वाभाविक गतिविधिमा कमी आउन सक्छ।
• प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य सदस्यता प्रदान गर्ने वातावरणको सिर्जना नीतिगत रुपमा गरिनु पर्छ।
• विपन्न नागरिक उपचार कोष, दीर्घरोग औषधि उपचार जस्ता कोषहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा समाहित गर्नुपर्छ र सम्पूर्ण उपचार यसै कार्यक्रम मार्फत हुनुपर्छ जसले गर्दा राज्यले प्रदान गर्ने सेवा सुविधाको दोहोरोपना हट्छ।
• स्वास्थ्य बीमा कार्यक्रमलाई सफल रुपमा नागरिक केन्द्रित गराउन सकिएन भने यो कार्यक्रम केहि जाने बुझेका, शिक्षित जनता र सेवा प्रदायक संस्थाहरुको लागि मात्र हुने निश्चित छ र कार्यक्रम संचालनमा गति अवरुद्व हुने अवस्थाको सिर्जनाका पलहरु स्पष्ट हुँदै गएका छन्।
जनस्वास्थ्य निरीक्षक रावल मुसिकोट नगरपालिका स्वास्थ्य शाखा रुकुम पश्चिममा कार्यरत छन्।