डाक्टर,
‘नमस्ते’ र ‘ठिक भएँ’ मा सन्तुष्टिको सास लिदै रमाउँछ,
हेर्न नभ्याए पनि टिभि किन्ने,
बस्न नभ्याए पनि घर बनाउने पैसा पनि कमाउँछ
गाडीमा गुड्छ, विदेशतिर उड्छ
तर दुर्भाग्य, परिवारसँग हैन, किनकि
‘सन’ ले खेल्नुपर्ने काखमा ‘डेभिड–सन’ खेलिरहेको हुन्छ,
श्रीमतीले हाल्ने अँगालेलाई स्टेथेस्कोपले जेलिरहेको हुन्छ
आमाको मुख हेर्ने दिन छत्तिस घण्टे ड्युटिले पेलिरहेको हुन्छ
तर पनि,
आमा अझै गर्व गर्न छोड्दिनन्,
‘मेरो छोरालाई सबैले डाक्टर भन्नुपर्छ’
श्रीमती छोरालाई अझै भन्न छोड्दिनन्,
‘तिमी पनि बावु जस्तै डाक्टर बन्नुपर्छ ।’