आजकल
म देख्छु
भोग्छु
मन्दिरहरु फोडेर
मूर्तिहरुलाई आघात
पुर्या इँदैछ,
दोष कसको छ
कुन्नि?
भगवानको छ कि?
भक्तजनको छ?
मागेजति सबै वरदान त
कसले नै दिन सक्छ र?
कवि हुन साह्रै
सजिलो छ!
मित्रहरु
बसिबियालोमा ठट्टा गर्छन्,
अनि डाक्टर हुन साह्रै गाह्रो!
प्रष्ट पार्दै मित्रहरु भन्छन्-
अचेल
कविहरुतिर फूल ज्यादा
ओइरिन्छ र
डाक्टरतर्फ इँटा, ढुंगाहरु।
सौन्दर्ययुक्त
चिजले सधैं कहाँ
आनन्द दिँदो रहेछ र?
डाक्टर पनि एउटा पेसा न हो!
कहिले वसन्त त कहिले तुसारो!
हुन्
अस्पताल र स्वास्थ्यकर्मीहरु
भरोसाका केन्द्रहरु हुन्,
तर कहाँ
ग्यारेन्टी छ र
जिन्दगीको?
हातपात र दुर्व्यवहार
गर्दैमा मरेको मानिस
फर्किएरै आउँछ र?
म माग गर्छु
यो स्वच्छ पेसाको
अस्मितामाथि
चिरहरण गरेर
बिरामीको जिन्दगीमाथि
खेलवाड गर्ने हरेक स्वास्थ्यकर्मीलाई
कारबाही हुनुपर्छ!
तर
कानुनी राज्यमा
सबै कुरा गर्ने तरिका हुन्छ
व्यवस्था र नीति–नियम हुन्छ
गल्ती कसको छ त?
छुट्याउने संयन्त्र हुन्छ!
आखिर
हामीले पाएको महान उपदेश न हो
जिन्दगी,
कहिलेकाहीं बिरामी पर्दा
लय बिग्रिँदा
त्यही जिन्दगीमा
अमूल्य ती औषधिमार्फत
सुन्दर भावहरुको रङ चढाउन
उपस्थित छन् डाक्टर र अस्पतालहरु!
आखिर कुन मादक रसको
अपवित्र चलनचल्ती र
अपरिपक्व सहानुभूतिमा
कुटिन्छन् डाक्टरहरु
र फोडिन्छन् अस्पतालहरु,
र पनि मुकदर्शक बनिरहन्छ
हाम्रो प्रिय सरकार!