काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा देखिएको गतिरोध अन्ततः संवादमार्फत टुङ्गिएको छ। ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवा र पीडित पक्षबीच सहमति भएपछि बुधबार दिउँसोदेखि प्रतिष्ठानका सम्पूर्ण सेवाहरू सुचारु भएका छन्।
मङ्गलबार सामाजिक अभियन्ताका नाममा केही युवाहरूले प्रतिष्ठानका विभिन्न विभागमा पुगी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गालीगलौज र धम्की दिएपछि वातावरण तनावपूर्ण बनेको थियो। सोही घटनाको विरोधमा स्वास्थ्यकर्मीहरूले बुधबार बिहानैदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए।
विहान १० बजेदेखि सुरु भएको वार्तामा 'अभियन्ता' का रूपमा प्रस्तुत भएका उपेन्द्र बुढथापा र नरेन्द्र बुढथापा लगायतले आफ्नो गल्ती महसुस गर्दै पीडित चिकित्सकहरूसँग माफी मागेका छन्। उनीहरूले आगामी दिनमा चिकित्सकलाई असुरक्षित महसुस हुने कुनै पनि कार्य नगर्ने लिखित प्रतिबद्धता समेत जनाएका छन्।
प्रतिष्ठानका रजिष्ट्रार एवं प्रवक्ता लक्ष्मीचन्द्र महतका अनुसार वार्तामा दुवै पक्षबीच हार्दिकता कायम भएको छ। 'हिजोको घटनाबाट प्रभावित डाक्टर अमित चौधरी र सरोजबाबु अर्याल तथा युवाहरूबीच सौहार्दपूर्ण वातावरणमा कुरा मिल्यो,' महतले भने, 'युवाहरूले माफी मागे भने हामीले पनि सेवा प्रवाहमा कुनै कठिनाइ भए रचनात्मक सुझाव दिन आग्रह गर्दै सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छौँ।'
विवाद समाधानका लागि प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकाया, रजिष्ट्रार महत, डीन डा. प्रेनित पोखरेल र विवेक पुन मगर लगायतको टोलीले सहजीकरण गरेको थियो।
काठमाडौंबाट नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा अनिल कार्की, वरिष्ठ उपाध्यक्ष डा बद्री रिजाल, महासचिव डा सन्जिब तिवारी सहितले गृह मन्त्रालय मार्फत समस्या समाधानका लागि दबाब दिएका थिए।
संघका तर्फबाट डा तिवारीले विज्ञप्ति निकाल्दै अराजक कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न माग समेत गरेको थिए।